कञ्चनपुर जिल्ला स्थित कृष्णपुरमा छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु भएको समाचार विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा प्रकाशित भयो । यति नै बेला मौन रहेकाहरु बोल्न थाल्छन्, छाउपडी प्रथालाई टिकाई राख्ने तत्वबाट समेत दुःख र समवेदनाको ओइरो लाग्छ । तर बिर्सन नहुने कुरा जसरी अनिता चन्द र पार्वती बुढाका घटनाहरु घटेको केही दिनमै सेलाउँदै गए, त्यसरी नै यो घटना पनि सेलाउँदै जानेछ । यसका पछाडि थुप्रै कारणहरु छन् । जसमध्ये सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक कारणहरु बढी देखिन्छन् । भावनात्मक प्रतिक्रिया, राजनीतिक स्वार्थ र मिडियाबाजी, असंगठित आन्दोलन, पितृसत्तात्मक सोच र दीर्घकालीन योजना नहुँदा घटना घट्दा देखिएका छिटपुट आन्दोलन र सामाजिक सञ्जालमा देखिने आक्रोशहरु सबै शिथिल हुँदै गइरहेका छन् । जसका कारण यस खाले घटनाहरुले निरन्तर प्रश्रय पाइरहेको छ । यस लेखमा म छाउपडी प्रथा अझै व्याप्त हुनुका कारण तथा समाधानको बारेमा चर्चा गर्नेछु ।
छाउपडी प्रथा सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले २०७५ मा प्रकाशित गरेको छाउपडी प्रथाले महिलाको जीवनमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेखित केही घटनाहरु हेरौँ ।
घटना १
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका लैनचौर स्थित जनता मा.विका कक्षा ८, ९ र १० मा अध्ययनरत किशोरीहरूसँग भएको समूहगत छलफलमा उनीहरूले छाउ बार्ने क्रममा आफूहरूले अपमानित र असुरक्षित महसुस गर्ने गरेको बताएका थिए । ‘मिन्स’ महिनावारी भएको बेला आमाबुवासँग टाढा बस्नुपर्छ, दुःख कष्ट हुन्छ, तल गोठमा गाईवस्तुसँग बस्नुपर्छ, पानी परेको बेला चुहिन्छ, लामखुट्टेले टोक्छ, जनावरको डर हुन्छ भन्ने कुरा उल्लेख गरेका थिए । परम्परागत रुपमा मान्दै आएको हो भन्नेमै उनीहरूको जोड थियो । केही किशोरीले भने, ‘छाउ हुँदा छोइछिटो गर्दा देउताले सहदैँन भन्छन्, भैँसी बौलिन्छ, सर्प आउँछ, राइफाडो हुन्छ भन्छन् ।’ छाउ हुँदा ५–७ दिनसम्म पानी, ढिकी जातो, आँगन छुनु हुँदैन भन्ने कुरालाई उनीहरू मान्दा रहेछन् ।
उक्त विद्यालयका प्राचार्यकै बुवा पुजारी रहेछन् । प्राचार्यकै घरमा महिलाहरू छुइ हुँदा घर बाहिर छाउ घरमा बस्ने गर्दा रहेछन्, जहाँ सर्पको डर बढी रहेछ । केही किशोरीहरूका अनुसार छाउ हुँदा कहिलेकाही बाआमाले नदेख्ने गरी माथि कोठामा पस्ने गरेको बताए । तिनलाई देवी देउता र समाजको डर लाग्छ भन्ने पनि सुनियो । ती किशोरीहरूलाई छाउ प्रथाविरुद्ध उनको समाजमा कुनै कार्यक्रम भएको जानकारी थिएन । कानुन आएको पनि थाहा थिएन । तिनीहरुले कानुन आए त राम्रै हुन्थ्यो तर धामीझाँक्रीले कानुन मान्दैनन् भन्ने कुरा व्यक्त गरेका थिए । अधिकांश किशोरीहरूमा बदलिदो समयसँगै छाउलाई हेर्ने कुरामा परिवर्तन आएको भने देखिन्थ्यो । उनीहरू मध्ये केहीले बाध्यताका कारण मात्रै छाउलाई मान्ने गरेको भेटियो । केहीमा विद्रोह गर्ने आँट पनि भएको देखियो । तर घरमा आमाले गाउँमा धामीझाँक्रीले छाउलाई बढी हौवाको रुपमा लिएर यो कुप्रथा बचाइरहेको पाइयो ।
घटना २
छाउपडी कुप्रथाको प्रभाव निक्कै जब्बर बनेर बसेको तथ्य जुम्ला बीबीसी नेपाली संवाददाता कृष्णमाया उपाध्यायको आत्मकथाबाट पनि प्रष्ट हुन्छ । “म १२ वर्षको उमेर भए देखि महिनावारी हुन सुरु भएको र महिनावारी भएको बेला गोठमा बस्न थाले । महिनावारी भएको समयमा ‘किताब छुनु हुँदैन, पाप लाग्छ’ भन्ने सोचका कारण तीन दिन नहुन्जेल विद्यालय गइन । अझै पनि हाम्रो गाउँघरमा महिनावारी भएको बेला घरको ओटालो (आँगन) मा सात दिनसम्म जान दिइदैँन । दुध, घिउ, दही, मही जस्ता खानेकुरा खान पनि दिइदैँन । त्यो समयमा खाना दिँदा पनि नछोएर टाढाबाट फाल्ने गर्छन् । महिनावारी भएको समयमा आफूभन्दा ठूला मान्छेलाई छुनु हुँदैन भन्ने चलन अझैपनि कायम नै छ । कक्षा ११ अध्ययनका लागि जुम्ला सदरमुकाम खलङ्गा आए । कोठा खोज्दा ‘तिमी छुई हुन्छौँ कि नाई’ भनेर सोधे । मैले नढाँटेर ‘हुन्छु’ भन्दा ‘कोठा छैन’ भनेर फर्काए । महिनावारी भएको बेला छुनु हुँदैन भन्ने सोच शिक्षित भनिएका मानिसहरूमा पनि गहिरो रुपमा गढेको छ । म अहिले सदरमुकाममै बसेर रेडियोमा काम गर्न थालेको ५ वर्ष भयो । महिनावारी भएको समयमा मेरो कोठामा बस्छु तर महिनावारी भएको छु भनेर घरबेटी लगायतका आफूभन्दा ठूला मान्छेलाई कहिल्यै भन्दिन । भन्यो भने छुट्टै गोठमा बस्न दबाब दिन्छन् भन्ने डर मलाई अहिले पनि छ । परम्परागत रुपमा मान्यता दिँदै आएको कुरीतिलाई अन्त्य गर्न एक्लैले केही गर्न नसकिँदो रहेछ समाजले स्वीकार नगरेपछि परिवर्तन हुँदो रहेनछ । आशा छ, कुनै जमानाको सती प्रथा अन्त्य भएजस्तै यो छाउपडी पनि अन्त्य हुनेछ ।”
घटना ३
छाउपडी शुद्धीकरण गर्न सकिने प्रचलन
छाउपडी प्रथाले चरम सीमा नाघेको जिल्ला दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १२ मा विवाहमा जन्ती गएछन् । सोही दिन दुलही ‘पर सरिछिन्’ (छाउपडी) भइन् । अब आपत ! कि त ५ दिन जन्ती पाल्नुपर्यो कि केही उपाय निकाल्नुपर्यो । पण्डित, पुरेत, धामीझाँक्री र बुज्रुक बैठक बसेछन् र उपाय निकालेछन् । सात दिनसम्म जन्ती पाल्न सक्ने कुरै भएन । दुलहालाई फर्काएर पठाउनु पनि भएन । सबै कथित उपल्ला बुज्रुकहरूले छाउ भएकी दुलहीलाई त्यही दिन तत्कालै चोख्याउने उपाय निकालेछन् । सात दिनसम्म दैनिक नुहाउनुको साटो एकै दिन सात पटकसम्म नुहाउन लगाउने र चोख्याउने कुरामा सबैको सहमति जुटेछ । अन्ततः बेहुलीले ७ पटक नुहाएर सुनपानी छर्किछन् । जन्ती दुलही लिएर फर्किएछन् । तर अरुबेला ….भयो नसोधौं । एउटै रटान छ, ‘परम्परा मान्नुपर्छ, संस्कार छाड्नुहुन्न ।’
घटना ४
धामीझाँक्रीको हैकमका अगाडि कानुनी अस्तित्व निकै कमजोर रुपमा उभिएको देखिन्छ । एक धामी गंगाबहादुर भन्छन्ः “कडा कानुन बनेको छ भन्ने कुरा मैले रेडियोबाट सुनेको हो । तर हामी छाउ प्रथालाई छोड्न सक्दैनौँ । देवताले घरभित्र राख्न भन्नुभयो भने हामी राख्न सक्छौं, नत्र सक्दैनौँ । हामीलाई कानुनको भन्दा देवताको बढी डर लाग्छ । छुई भएको व्यक्तिलाई घरमा राख्दा बिमारी हुन्छौँ । के हामी बिमारी हुँदा कानुनले ठीक पार्छ ? पार्दैन ! त्यत्तिबेला हामीले गुहार्ने भगवान नै हो ।”
माथिका घटनाहरुले छाउपडी जस्तो सामाजिक कलङ्क अझै कति गहिरो जरा गाडेर रहेको छ भन्ने विषयलाई स्पष्ट पार्दछ ।
बौद्धिक र नयाँ पुस्ताको मौनता
समाजलाई परिवर्तनको दिशामा डोर्याउने नेतृत्व स्वभावतः बौद्धिक र नयाँ पुस्ताबाट अपेक्षा गरिन्छ । तर जब यी वर्गहरू नै मौनतामा लपेटिन्छन्, त्यो मौनता केवल निष्क्रियता हुँदैन त्यो परिवर्तनको बाटोमा गहिरो अवरोध बन्छ । पितृसत्ता, जात व्यवस्था जस्ता संरचनात्मक अन्यायका विरुद्ध अग्रपङ्क्तिमा उभिनुपर्ने बौद्धिक वर्ग बिडम्बनापूर्ण रूपमा आत्मसन्तुष्ट र मौनतामा रमाइरहेका छन् ।
यस्तैगरी, परम्पराको नाममा थोपरिएको छाउपडी प्रथाजस्ता अमानवीय कार्यविरुद्ध आवाज उठाउने साहस र संवेदनशीलता आजको शिक्षित पुस्तामा अपेक्षित मात्रामा देखिदैँन । परम्परागत बन्धनलाई तोड्दै अगाडि बढिरहेको आधुनिक पुस्ताले छाउगोठका सडेगलेका संरचनालाई जस्ताको तस्तै स्वीकृत गर्नु, उनीहरूकै चेतनाको दिवालियापनको संकेत हो ।
यी वर्गहरूको मौनताले सामाजिक अन्यायलाई मौन समर्थन दिन्छ, र उत्पीडनलाई सामान्यीकृत गर्न मद्दत पुर्याउँछ । त्यसैले अब समय आएको छ –समाजका बौद्धिकहरुको मौनतालाई अन्त्य गर्दै, आधुनिक पुस्ताले विवेक, साहस र मानवतावादी चेतनाको पक्षमा बोल्नुपर्छ । केवल भौतिक विकास मात्र होइन, चेतनाको विकासले दीर्घकालीन समाज रूपान्तरण सम्भव छ ।
राजनीतिक मौनता
कमला दमाईको मृत्युपछि केही दिन सामाजिक सञ्जाल र मिडियामा हलचल मच्चिन्छ, त्यसपछि फेरि सबै मौन । यही मौनता भित्र लुकेको छ, राज्यसत्ताको राजनीतिक असंवेदनशीलता । राज्य छाउगोठ भत्काएर छाउपडी प्रथा अन्त्य गर्ने तिर सोच्छ, तर ठिक चेतना निर्माण र जागरणमा शुन्य छ । त्यसको मुख्य कारण भोटको राजनीति हो । राजनीतिक दल मौन छन्, यस्ता गम्भीर विषयहरु चुनावी एजेन्डा भित्र पर्दैनन । यस्तो मौनता केवल अपराधमाथिको मौनता होइन –यो सत्ता र संरचनाले अनुमोदन गरेको हिंसा हो ।
निष्कर्ष
कमला दमाईको घटनामात्र होइन, यो नेपाली समाजको तितो यथार्थता हो । जबसम्म हामी धर्मको नाममा हिंसा, आस्थाको नाममा भेदभाव र परम्पराको नाममा उत्पीडनलाई स्वीकार्य बनाइरहन्छौँ, तबसम्म अरू धेरै कमलाहरू सर्पदंश होइन, समाज र राज्यदंशको सिकार भइरहन्छन् । यसको अन्त्यका निमित्त समाजमा छाउपडी प्रथाविरुद्ध सामाजिक सचेतना र जागरण कार्यक्रम राज्यबाटै सञ्चालन गर्नुपर्दछ । पाठ्यक्रममा विद्यालय तहदेखि नै लैङ्गिक समानता, महिनावारी स्वास्थ्य र समाजमा व्याप्त कुरीतिका विषयहरुलाई समावेश गरी बौद्धिक वर्ग, स्थानीय नेतृत्व, युवा, विद्यार्थी लगायतलाई छाउपडी प्रथा अन्त्यको अभियान निर्माण गरी नेतृत्वदायी भूमिकामा परिचालन गर्न आवश्यक छ ।
छाउपडी जस्ता सामाजिक समस्याहरुको मुख्य स्रोत पितृसत्ता नै हो । जसलाई आजको राजनीतिक, आर्थिक र सांस्कृतिक प्रणालीले अन्त्य गर्नुको साटो झनै मलजल गरिरहेको छ । परम्परा, धर्म र संस्कारको नयाँनयाँ रुप दिई अभ्यास गरिँदै आएको छ र महिलामाथि निरन्तर उत्पीडन थोपरिरहेको छ । त्यसकारण यसका विरुद्धमा पनि आजैबाट समग्र पितृसत्ताकै विरुद्धमा लड्ने किसिमको विचार, संगठन र योजना निर्माण गरी निर्णायक संघर्षको बाटोमा अघि बढ्नुको विकल्प छैन । पितृसत्ताको अन्त्य मात्रै समतामुलक समाज निर्माणको आधार बन्न सक्दछ ।
