September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

जातीय विभेद मानवीय गरिमा विरुद्धको अपराध हो : परियार

२०७९ चैत्र ७

378

काठमाडौं । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जातीय विभेद, सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको अपराध भएको बताएका छन् ।

मंगलवार ५८औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताए ।

‘नेपालको संविधान र कानूनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिँदै त्यसलाई निषेध गरेको छ । तथापि समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछूत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन,’ शुभकामना सन्देशमा भनिएको छ ।

यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरण आवश्यक रहेको जनाउँदै प्रदेश प्रमुख परियारले जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्यका लागि दृढतापूर्वक क्रियाशील रहन सबैमा हार्दिक आह्वान गरे ।

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ । उनले सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता कायम भई छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।