काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको दोस्रो राष्ट्रिय भेला वि.स. २०८० सालको जेठ १०,११ र १२ गते चितवनमा आयोजना हुने भएको छ । यस अघि यही चैत २५,२६ र २७ गते गर्ने भनिएको भेला गत १३ गते भर्चुअल माध्यममा भएको केन्द्रीय समितिको विस्तारित बैठकले सार्ने निर्णय गरेको हो ।
मोर्चाका संयोजक राजकुमार हिङमाङका अनुसार जात व्यवस्था विरुद्धको विद्रोह दिवसको अवसरमा गर्ने गरेर उक्त भेला सारिएको हो । मोर्चाले पश्चिम रुकुमको सोतीमा प्रेम गरेकै कारण ज्यान गुमाएका नवराज वि.क सहित ६ जनाको हत्या भएको दिनलाई जात व्यवस्था विरुद्धको विद्रोह दिवसका रुपमा मनाउँदै आइरहेको छ । उक्त भेलामा ७७ वटै जिल्लाहरुबाट प्रतिनिधिहरुको उपस्थिति हुने र अन्तराष्ट्रियस्तरबाट समेत प्रतिनिधिहरुको उपस्थिति हुने उनको भनाइ छ ।
हाल मोर्चाले दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।