प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने भने । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो ।
शर्माले भने, ‘खानेपानी विभागले कतिपय कामको भुक्तानीका लागि बजेट नभएको बताइरहँदा हामीले केही भुक्तानीका काममासमेत सहजीकरण र सहयोग गरेका छौँ ।’ बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टिङमार्फत रातमाटामा तानेर शुद्धीकरणपछि वितरण गर्ने गरी काम भइरहेको छ । ३२ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण थालिएको हो । कोरोना महामारी, आयोजना निर्माण स्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।
पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इन्जिनियर अधिकारीले जानकारी दिए । अहिले बजारमा मागको आधा मात्रै पानी काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सह लगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।