काठमाडौंः नेपाल ट्रेड यूनियन कांग्रेस बागमती प्रदेश समितिले ३४ जना कार्यसमितिका सदस्यहरुलाई नेतृत्व क्षमता विकास र ट्रेड यूनियन शिक्षा सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम असोज ९ र १० गते ट्रिज रिसोर्ट ट्रयाडिशन बुढानिलकण्ठ, काठमाडौंमा सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला,जापानबाट आएका ट्रेड यूनियन विज्ञ सुवास लोहनी र नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय उपमहासचिव बलदेव तामाङले तालिम दिएका थिए भने प्रमुख अतिथि नेपाल ट्रेड यूनियन कांग्रेसका महासचिव अजय राई रहेका थिए ।
२५ जना सहभागीहरुलाई तालिम पश्चात प्रमाण पत्र वितरण गर्नुका साथै तालिमबाट सिकेका अनुभवहरु पनि आदानप्रदान गरेका थिए । बागमती प्रदेश समितिको अधिवेशन भएको १५ महिना पश्चात यसखाले आन्तरिक प्रशिक्षणको आयोजना गरेको हो । त्यस्तै बागमती प्रदेश समितिको अब बाँकी ३२ महिना कार्यकालमा गरिने कार्ययोजना अध्यक्ष गणेश भट्टराईले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संयोजन नेपाल ट्रेड यूनियन कांग्रेस बागमती प्रदेशको प्रशिक्षण विभाग प्रमुख ओम अधिकारीले गरेका थिए भने कार्यक्रमको समग्र व्यवस्थापन बागमती प्रदेश समितिले नै गरेका थिए ।




