April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

दुर्गा प्रसाइँले ऋणको ब्याज समेत नबुझाएपछि बैंकहरुको संयुक्त बैठक बस्दै

२०७९ फाल्गुन ११

568

काठमाडौंः व्यवसायी दुर्गा प्रसाईंले अर्बौं ऋण लिएर ब्याज समेत नतिरेपछि बैंकहरुले आगामी सोमबार ९फागुन १५ गते० सहवित्तीयकरण बैठक डाकेको छ । ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजमा ऋण लगानी भएको थियो ।

कुमारी बैंक (तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स), नबिल (तत्कालीन नेपाल बंगलादेश बैंक),राष्ट्रिय वाणिज्य, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले साढे ५ अर्बभन्दा बढी लगानी गरेका छन् । प्रसाईंले गत असारदेखि बैंकहरूलाई बुझाउनुपर्ने ब्याज बुझाएका छैनन्, त्यो पनि अदातलबाट अन्तरकालीन आदेश लिएर। सर्वसाधारणको निक्षेप जोखिममा पर्ने त्रासपछि ग्लोबल आईएमई बैंकले सबै ऋण लगानी गर्ने बैंक तथा वित्तीय संस्थालाई आगामी सोमबार छलफलका लागि डाकेको हो ।

गत असारदेखि पुससम्म बैंकले ९ करोड ९५ लाख रुपैयाँ ब्याजवापत पाउनुपर्ने थियो । तर, प्रसाईंले तिर्नुको सट्टा उल्टै बैंक कर्मचारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेपछि के गर्ने भनेर ग्लोबल आईएमई बैंकले सबै बैंकलाई छलफलका लागि बोलाएको हो । अदालतले प्रसार्इंबाट बैंकले लिनुपर्ने ब्याज केन्द्रीय बैंकको स्वीकृतिमा ब्याज पुँजीकरण गर्न भनेको थियो। तर, केन्द्रीय बैंकले पुँजीकरण गर्न अनुमति नदिएपछि ऋण असुली थप अन्यौल बनेको हो।

प्रसाईंले ‘लडाकु जत्था’ बनाएर बैंकविरुद्ध उतारेपछि बैंकरहरू ऋण असुलीमा निस्किनसमेत सकेका छैनन्। वित्तीय अनुशासन नै खल्बल्याउने गरी अभिव्यक्ति दिँदै हिँडेपछि बैंकरहरू थप सशंकित बनेका हुन् । ऋणी र बैंकबीच भएको समझदारी उल्लंघन गरेर प्रसाईंको अभिव्यक्ति आउन थालेपछि आगामी सोमबारको बैठकले के गर्ने भन्ने निर्णय गर्ने छ।

प्रसाईंले बिएन्डसी मेडिकल कलेज नै धितो राखेर साढे ५ अर्बभन्दा बढी ऋण लिएका छन्। एक बैंकरका अनुसार बिएन्डसी पूरै बिक्री गर्दा पनि बैंकले गरेको लगानी उठ्न सक्दैन। ‘प्रोजेक्ट’ देखाएर प्रसाईंले ऋण लिएका थिए । एकातिर धितोबिनै कर्जा प्रवाह गरिएको छ भने अर्कातिर असारदेखि प्रसार्इंले ऋणको ब्याज बुझाएका छैनन्। त्यही भएर आगामी सोमबार ‘लिड बैंक’ ग्लोबल आइएमईको नेतृत्वमा सबै बैंकर उपस्थित भएर छलफल गर्न लागिएको हो।