काठमाडौंः राहदानीका लागि सर्वसाधारणहरु घण्टौंसम्म लाइनमा बस्नुको बाध्यता अझै पनि हटेको छैन । बिहीबार बिहान त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि देखिएको सेवाग्राहीको लामो लाइनले यही कुरा पुष्टि गर्छ । छिटो पालो पाउने आशामा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् ।सेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले अनलाइनबाट समेत सेवा दिंदै आएको छ,तर लाइन लाग्नुपर्ने बाध्यता भने अझै हटेको छैन ।
राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुन्थ्यो । प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरु पनि ११ बजेदेखि नै बुकिङ खुलाउँदा विभागको सर्भरमा अत्याधिक चाप परेर वेबसाइट नै नखुल्ने समस्या भएपछि समय हेरफेर गरेको विभागले जनाएको छ ।