August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सभ्य मानवतावादी समाज भनेकै भौतिकवादी समाज हो

२०८० आश्विन २६

4.9K

  • वैद्यनाथ श्रमजीवी

यतिबेला हामी एक्काइसौँ शताब्दीमा छौं । यो शताब्दीलाई विज्ञान र प्रविधिको युगको रूपमा पनि परिभाषित गरिन्छ । झण्डै पैँतिस सय वर्षदेखि संसारभरि एकछत्र राज गर्दै आएको आदर्शवादको संस्कृतिमय समाजमा यतिबेला १९ प्रतिशत मानिसहरू भौतिकवादी दृष्टिकोणले जीवन र जगतको सवालमा उठ्दै आएको प्रश्नहरूको जवाफ दिने अवस्था सृजना भइसकेको छ । यसक्रममा नेपाली समाजभित्र पनि पहिलोपटक भौतिकवादी समाज संगठित रूपमा नै देखापरेको छ । हुन त नेपाली समाज भित्र भौतिकवादी विचार भएको व्यक्तिहरू रहेको निक्कै लामो इतिहास छ । तर, सङ्गठित रूपमा ‘भौतिकवादी समाज नेपाल’को नाममा संगठन नै खोलेको यो पहिलो पल्ट हो । यही असोज २६ र २७ गते चितवनकोमा भौतिकवादी समाज नेपालको प्रथम राष्ट्रिय भेला हुँदैछ ।

हाम्रो देशमा केही वर्ष यता समाजभित्र सुनियोजित तरिकाले साम्प्रदायिक दंगा भड्काउन खोजेको हामी सबैले महसुस गरेकै हो । यसप्रकारको धार्मिक दंगामा परी विगतमा संसारभरि लाखौं मानिसहरूको जीवन र सम्पत्तिको समाप्ति भएको सबैले बुझेकै हो । भर्खरै इजरायल र प्यालेस्टानीको बिचमा भएको धार्मिक सांस्कृतिक गोला–बारूदको द्वन्दमा दशजना नेपाली विद्यार्थीहरुको मृत्यु हुनगएको दुःखद् खबरसमेत सुन्नुपरेको छ । देशभित्र दलालहरुले कब्जा गरेको दलाल पुँजीवादी व्यवस्था छ । यसले उत्पादनको सबै क्षेत्रहरू बन्द गरेको छ । बेरोजगारीलाई रोजगारीको सट्टा राहदानी थमाएको छ । तिनै विदेशिएका झण्डै असी लाख युवाहरूले पठाएको रेमिट्यान्सले देश चलेको छ । सांस्कृतिक रूपमा देशभित्र अन्धविश्वास, रूढिवाद र आदर्शवादले बलियो जरो गाडेको छ । वास्तवमा अन्धविश्वास नै हाम्रो संस्कृतिको मुख्य धारा बनेको परिप्रेक्ष्यमा भौतिकवादी विचार के हो भौतिकवादी समाज कस्तो हुन्छन्, आउनुहोस् यसबारेमा थोरै चर्चा गरौं ।

भौतिकवादीहरूको धारणा उपरोक्त धारणाको पूरै विपरीत छ । भौतिकवादी धारणाअनुसार भौतिक संसारको सिर्जना कुनै असांसारिक शक्ति वा कुनै विचारले गरेको होइन । बरु, त्यसको अस्तित्व मानिसको अस्तित्व रहनुभन्दा अघिमात्र नभई कुनै पनि जीव हुनुभन्दा धेरै पहिलेदेखि रहेको थियो ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि मानिस जति सामाजिक प्राणी हो त्यति नै जिज्ञासु प्राणी पनि हो । मानव समाजमा झण्डै ७५ हजार वर्षदेखि आफ्नो वरिपरि देखिने सबै प्राकृतिक घटनाहरू प्रति मानिसहरू जिज्ञासु रहँदै आएको छ । खासगरी वर्षा, बाढी–पहिरो, अकाशीय बिजुली, चट्याङ, दिन, रात, आगलागी, भुइँचालो, ज्वालामुखी विष्फोट, हुरीबतास, जाडो, गर्मी, जन्म–मृत्युलगायतका घटनाहरू के हुन् ? कसरी घट्छन् ? यसको श्रोत के हो ? आदि प्रश्नको जवाफ मान्छेले खोज्ने क्रममा नै आदर्शवाद र भौतिकवाद जस्तो दृष्टिकोणहरू मानव समाजमा विकसित भएको हो । यो ब्रम्हाण्डमा भएको सबैकुरा गतिशील छन् त्यसैले यो संसार परिवर्तनशील छ । वस्तुभित्र रहेको आन्तरिक गति कै कारणले प्रकृति र सामाजिक जीवनमा निरन्तर विकास र परिवर्तन भइरहन्छ । यस्तोमा केही प्रश्न उठ्छ –

क) संसारमा हुने विकास र परिवर्तनको स्रोत के–के हुन् ?
ख) तिनलाई हामीले कुन ठाउँमा खोज्नुपर्छ ?
ग) सांसारिक परिघटनाहरूका कारण के हो ?
घ) कुन आधार र प्रस्थानविन्दुबाट तिनको व्याख्या/विश्लेषण थाल्नुपर्छ ?

कुनैपनि विषय वा प्रक्रियाको अनुसन्धान र खोज गर्ने सम्बन्धमा उक्त प्रश्न निकै महत्व राख्छ । किनभने यो व्यावहारिक क्षेत्रमा हाम्रो पहुँचसँग सम्बन्धित छ र कुनै विषयको अध्ययन र अनुसन्धान गर्दा आधार वा प्रस्थानविन्दु गलत रहेको खण्डमा त्यसबारे निकालिने निष्कर्षहरू पनि गलत हुन जान्छ । संसारमा घट्ने घटनाहरू, सांसारिक चिज तथा तिनका अन्तरसम्बन्धहरूको व्याख्या–विश्लेषण गर्ने दुई वटा आधारभूत धारणा (सिद्धान्त) छन्ः–

१) भौतिकवाद
२) आदर्शवाद ।

भौतिकवाद र आदर्शवाद एक–अर्कोको पूरै विपरीत धारणा हुन् । यसको बिचमा आधारभूत भिन्नता भनेको –हाम्रो वरिपरिको भौतिक संसार, आत्मा, विचार र मनमा कुन प्राथमिक हो ? भन्ने प्रश्न हो । यसमा भौतिकवाद भौतिक संसारलाई प्राथमिक मान्छ भने आदर्शवाद आत्मा वा मनलाई प्राथमिक मान्छ । भौतिकवादले सांसारिक परिघटना तथा प्रक्रियाहरूलाई भौतिक कारणसँग सम्बन्धित पारेर तिनको व्याख्या गर्ने गर्छ भने आदर्शवादले त्यसलाई कुनै अभौतिक तत्त्वसँग (मन, आत्मा, चेतना, विचार आदि) र कुनै अध्यात्मिक कारणसँग (परमात्मा, ईश्वर, अलौकिक शक्ति) सम्बन्धित पारेर त्यसको व्याख्या गर्न खोज्छ । भौतिकवादले प्रकृतिमा भौतिक तत्त्वलाई प्रस्थानविन्दु बनाएर सम्बन्धित प्राकृतिक परिघटनाको व्याख्या गर्छ भने त्यसको ठीक उल्टो, आदर्शवादले कुनै आध्यात्मिक वा पारलौकिक तत्वलाई आधार बनाएर सम्बन्धित परिघटनाको व्याख्या गर्छ । सारमा भन्ने हो भने भौतिकवादी धारणाअनुसार, संसारका सारा चीज भौतिक तत्वमाथि निर्भर र त्यसद्वारा निर्धारित रहन्छन् । त्यसको उल्टो आदर्शवादी धारणाअनुसार, संसारको सारा चीज आध्यात्मिक तत्त्वमाथि निर्भर र त्यसद्वारा निर्धारित रहन्छन् ।

धार्मिक दृष्टिकोण राख्ने व्यक्तिहरू उक्त प्रश्नको जवाफमा के भन्छन् भने संसारको सृष्टिकर्ता ईश्वर हुन् र त्यो भन्दा पहिले त्यसको अस्तित्व थिएन । आदर्शवादीहरूको जवाफ पनि त्यस्तै प्रकारको छ र तिनीहरू के भन्छन् भने प्रकृति भन्दा माथि कुनै अलौकिक शक्ति, मन, आत्मा वा हेगेलको शब्दमा,“परम विचार” (Absolute Idea) अवस्थित छ र संसारको अस्तित्व त्यसकै कारणबाट भएको हो । उपरोक्त दुईवटा धारणामा एउटा साझा कुरा छ । त्यो के हो भने उनीहरू कुनै असांसारिक शक्तिलाई, कुनै मानसिक तत्त्वलाई विश्वको सृष्टिकर्ता मान्दछन् । तिनीहरूको धारणाअनुसार संसारमा जे जति घटना घट्छन्, ती सबका आधार र कारक तत्व उपरोक्त शक्ति हुन् । भौतिक तत्त्व प्राथमिक होइन । मन, चेतना र विचार प्राथमिक हुन् भन्ने आदर्शवादी धारणा रहेको छ ।

भौतिकवादीहरूको धारणा उपरोक्त धारणाको पूरै विपरीत छ । भौतिकवादी धारणाअनुसार भौतिक संसारको सिर्जना कुनै असांसारिक शक्ति वा कुनै विचारले गरेको होइन । बरु, त्यसको अस्तित्व मानिसको अस्तित्व रहनुभन्दा अघिमात्र नभई कुनै पनि जीव हुनुभन्दा धेरै पहिलेदेखि रहेको थियो । धेरैपछि मात्र पृथ्वीमा जीवनको उत्पत्ति भएको र जीवन विकासको क्रममा मानिसको उत्पत्ति भएको थियो । हामी जसलाई मन, संवेदना, चेतना, विचार आदि भन्छौं, ती त खास ढङ्गबाट सङ्गठित भौतिक तत्त्वको ज्यादै उच्च विकास, मानवीय मस्तिष्कका उपज हुन् । तसर्थ, मानिसको उत्पत्ति हुनुभन्दा धेरै पहिले बिनाजीव तत्वको स्थितिमा रहेको भौतिक संसारलाई मन, चेतना, आदिको उत्पत्ति ठान्नु सरासर गलत र झूट हो र कसैले त्यस्तो सोच्छ भने त्यो रहस्यवादभन्दा केही होइन । बरु, त्यसको उल्टो तथ्य के हो भने तत्त्व चेतनाको आधार र स्रोत हो र भौतिक तत्त्वले नै चेतनालाई निर्धारित गर्छ । उपरोक्त वास्तविक तथ्यप्रति अर्थात् चेतना र मनभन्दा बाहिर र त्यसबाट बिलकुल स्वतन्त्र रुपमा बाह्य संसार तथा प्राकृतिक चीजहरूको अस्तित्व भएको मान्यता नै भौतिकवादको सबभन्दा आधारभूत तत्त्व हो । यसरी भौतिकवादले भौतिक तत्वको अस्तित्व र त्यसको विकासमा कुनै अलौकिक तत्त्व वा कुनै विचारको हस्तक्षेपलाई पूरै अस्वीकार गर्दछ ।

मानिसहरूको सामाजिक जीवनका दुईवटा महत्वपूर्ण पक्ष छन्ः–

क) भौतिक पक्ष (भौतिक जीवन)
ख) मानसिक पक्ष (मानसिक जीवन)

क) भौतिक पक्ष (भौतिक जीवन)
मानिसहरू आफ्नो जीवन निर्वाहका लागि आवश्यक चिजहरू पैदा गर्छन् र सो कार्यमा लाग्दा उनीहरूका बिच निश्चित आर्थिक सम्बन्धहरू स्थापित हुन्छन् । खासगरी वस्तुहरूको उत्पादन, विनिमय, वितरण र उपभोगका क्रममा ती सम्बन्धहरू स्थापित हुन्छन् । त्यसका साथै, तिनीहरू जनसंख्याको पुनरुत्पादन गर्ने कार्यमा पनि लाग्दछन् । साधारण भाषामा भन्ने हो भने, समाजमा मानिसहरू काम गर्छन्, जीवन निर्वाह गर्छन् र छोराछोरी जन्माउँछन् । जीवनका आवश्यकताहरूको उत्पादन गर्छन् र उत्पादित वस्तुहरूको विनिमय, वितरण र उपभोग गर्दछन् । उपरोक्त कामहरू गर्दा उनीहरूका माझमा निश्चित आर्थिक सामाजिक सम्बन्धहरू बन्छन् । यो नै समाजको भौतिक जीवन हो, जसलाई हामी ‘सामाजिकसत्ता’ भन्ने गछौँ ।

ख) मानसिक पक्ष (मानसिक जीवन )
यस अन्तर्गत समाजको सामाजिक विचार, धारणा तथा दृष्टिकोणहरू, आर्थिक, राजनीतिक, सांस्कृतिक, नैतिक, कानुनी विचारहरू, दार्शनिक धारणाहरू, कला तथा साहित्यिक विषयहरू आदि पर्छन् । यो समाजको मानसिक जीवन हो, जसलाई हामी सामाजिक चेतना भन्छौं । प्रकृतिमा भौतिक तत्त्व र मन, सत्ता र चेतनाको सम्बन्धमा सत्ता प्राथमिक र चेतना गौण हुन् भने पहिलोले दोस्रोलाई निर्धारित गर्छ भन्ने भौतिकवादको आधारभूत सिद्धान्त हो । यसरी भौतिकवाद र आदर्शवाद बारे स्पष्ट भइसकेपछि एउटा समस्या के देखिन्छ भने सिद्धान्तको रूपमा भौतिकवादलाई स्विकार गर्ने तर समाजभित्र चलिआएको आदर्शवादी मुल्यमान्यता, चाडपर्व विरूद्ध नलाग्ने तथा अन्धविश्वास रूढिवादी आत्मा–परमात्मा, पुर्वजन्म–पुनर्जन्म, भाग्य, स्वर्ग–नर्क, तन्त्र–मन्त्र, धामी–झाँक्री, बोक्सी, छुवाछुत, पुजापाठ आदिजस्तो अवैज्ञानिक संस्कृति र परम्पराको त्याग गर्नुको सट्टा त्यसैमा गर्वको अनुभूति गर्ने अवस्था भत्काउन वास्तविक रूपमा भौतिकवादीहरूले छुट्टै आफ्नो संस्कार (जन्मदेखि मृत्यु सम्मका), उत्सव आदिको विकास गर्न जरुरी छ ।

यत्तिबेला आदर्शवादी दृष्टिकोणले गर्दा हाम्रो समाजमा रहेका दाइजो प्रथा, जात व्यवस्था, बालविवाह, अन्धविश्वास, रूढिवाद लगायतका अवैज्ञानिक संस्कृति र परम्परालाई भौतिकवादी समाजले मात्रै विस्थापित गर्न सक्छ । आज समाजमा देखिएको सबै प्रकारका हिंसाहरू, साम्प्रदायिक दंगाहरूको पछाडि मुख्य कारक तत्त्वको रूपमा आदर्शवाद नै रहेको कुरा सबैले बुझेकै यथार्थ हो । त्यसकारण यस्ता सबै प्रकारका हिंसा र पाखण्डबाट सभ्य तथा मानवतायुक्त प्रकृतिमैत्री समाज भौतिकवादी दृष्टिकोणले मात्रै बनाउन सक्छ भन्नेकुरा सबैले बुझ्न जरुरी छ ।