August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

हात्तीको आक्रमणबाट बारामा अर्का एक जनाको मृत्यु,सरकार मूकदर्शक

२०७९ फाल्गुन १८

400

काठमाडौंः बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन् । दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् । जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन्। स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ।

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिति रहेको सापकोटाले सुनाएका थिए । हात्तीको बथानबाट छुटिएर हिँडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुँदै आएको छ । घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ इलाका प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक संजिब ओलीले बताए । केही दिन अघि मात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षिया रुकैदा खातुनको मृत्यु भएको थियो । यसरी हात्तीको आक्रमणबाट दिनप्रतिदिन स्थानीयबासीको मृत्यु भईरहेपनि नियन्त्रणमा भने राज्यले कुनै चासो नै देखाएको अवस्था छैन ।