August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

धर्म समाजको लागि अनावश्यक मात्र हैन हानिकारक छ

२०८० कार्तिक ४

6.5K

  • महावीर विश्वकर्मा

म हिन्दु धर्म मान्ने परिवारमा जन्मिएँ । यो एउटा संयोग थियो । जीवनका कतिपय परिघटनाहरु संयोगबाटै निर्देशित हुन्छन्, तब मेरो जीवन पनि सोही धर्मको परिधिभित्र अघि बढ्यो । जब मैले समाज बारे बुझ्न थाले, धर्म र मानव जीवनको सम्बन्ध बारे थाहा पाएँ तब “हामी जस्तो मान्छे यो संसारमा तयार भएको ७० हजार वर्ष भएछ तर धर्म सुरु भएको जम्मा ५ हजार वर्ष मात्रै भएछ । अगाडिको ६५ हजार वर्षसम्म त समाजमा धर्म भन्ने चिज नै रहेनछ । धर्म त समाजको लागि नचाहिने चिज पो रहेछ” । भन्नेमा प्रष्ट भएँ ।

जब धर्मको सहारामा शासकहरुले दमन विस्तार गरे, समाज उत्पीडनको भासमा झन् झन् भासिँदै गयो, संघर्ष गर्नैपर्ने अवस्थाका उत्पीडित व्यक्ति पनि धार्मिक भएपछि संगठित संघर्षमा आउन नचाहेर स्वर्ग–नर्कको वाहियात विश्वासमा अल्झेरै सकियो भन्ने बुझेँ, “धर्म त समाजको लागि नचाहिने चिज मात्रै हैन, हानिकारक नै रहेछ, हामीले त जीवनलाई विज्ञानसम्मत् पो बनाउनुपर्ने रहेछ” । भन्नेमा प्रष्ट भएँ ।

नबुझेको भए पो फरक कुरा, बुझिसकेपछि त कसरी धर्म अङ्गालेर बसिरहनु ? तब मैले अघिल्लो वर्षको दसैँदेखि धर्मबाट अलग्गिने निर्णय गरे, भौतिकवादी बन्ने यात्रामा अघि बढे । धर्मप्रतिको मेरो विचारबारे दसैँ–तिहारमा आफन्तहरुले अलि बढी भेउ पाउँछन् । आफन्तहरुले जब मैले टीका लगाउँदिन भन्ने थाहा पाउँछन्, अनि प्रायको प्रश्न हुन्छ – “क्रिश्चियन बन्न लागेको हो र ?”

तब म “अर्को धर्म मान्न लागेको हैन, सबै धर्मबाट अलग भएर विज्ञानसम्मत् जीवन बाँच्न खोजेको । यसलाई भौतिकवादी बनेको भन्छन् । अहिले संसारका १६ प्रतिशत मानिसहरु कुनै पनि धर्म मान्दैनन् । म पनि त्यस्तै बनेको” भन्दै धर्म र मानव जीवन बारे थप व्याख्या गर्छु । अनि केहीले “कुरा त ठीकै लाग्यो तर हामी त धर्मै छोड्न त सक्दैनौं, त्यसो गरे आफन्तबाटै टाढिनुपर्छ” भन्छन् । केहीले “आफ्नो–आफ्नो विचार हो” भन्छन्, केही चाहिँ “खै के हो, के हो” भनेर अलमलमा पर्छन् ।

म धर्मबाट अलग भएपछिको यो दोश्रो दसैँ हो । मलाई यहाँसम्म आईपुग्दा महसुस भएको छ –“ठीक–बेठीक प्रष्ट भएपछि ठीक तिर लाग्न खुट्टा कमाउनु हुँदैन । बुझेकाले पनि खुट्टा कमाउने हो भने अर्को कसले आँट गर्न सक्छ ? केही समय परिवार, आफन्तमा असन्तुष्टि जस्तो रहला तर, क्रमशः सहज बन्दै जान्छ । यसबारे बुझ्न चाहनेलाई हामीले बुझाउने प्रयत्न गर्न झिंझो चाहिँ मान्नु हुँदैन । अनि अर्को महत्वपूर्ण कुरा, धर्म मानिरहेकाहरुलाई घृणा गरेर चाहिँ हुँदैन । “त्यो बेठीक छ है” भनेर क्रमशः बुझाउँदै चाहिँ जानुपर्छ । यत्ति पढेपछि केहीलाई कमेन्टमा गाली गर्न हत्तार भइसक्यो होला भन्ने म अनुमान गर्न सक्छु तर ठीकै छ, मैले पनि धर्म बारे सजिलै बुझेको कहाँ हुँ र, समय त लागिहाल्छ नि !

प्रस्तुत लेख महावीर विश्वकर्माद्वारा १ वर्ष अगाडि लेखिएको फेसबुक स्टाटसबाट साभार गरिएको हो ।