August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा

२०७९ चैत्र ९

738

काठमाडौं । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए ।

आठ सय ५८ घरधुरीका करिब चार हजार दुई सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । इञ्जिनीयर वामदेव पौडेलले भानु नगरपालिका–१० स्थित चेककोट खानेपानी आयोजनाको लागि रू बीस लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो ।

ऋषिङ गाउँपालिका–३ को भीरकोट खानेपानी आयोजनबाट एक सय ६०, ऋषिङ गाउँपालिका–८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास–९ को सतिश्वारा खोपानीबाट एक सय ५० ,बन्दीपुर–२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुने छन् ।  त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी–२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु–५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर–१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका–४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुने छन् ।