तिमी र मलाई थाम्ने धर्ती एउटै
र छोप्ने आकाश पनि एउटै
छुने हावा एउटै
ताप्ने आगोको रङ एउटै
न्यानो दिने घाम एउटै
र शीतलताको आभास गराउने जून पनि एउटै
भन महाशय
हामी दुई फरक कसरी ?
तिमीले र मैले फेर्ने सास उस्तै
च्वास्स लाग्ने भोक उस्तै
दुख्दा पोल्ने पीडा उस्तै
घोच्दा
बल्झीरहने घाउ उस्तै
र रुँदा धुकधुक हुने मुटु पनि उस्तै
भन महाशय
हामी दुई फरक कसरी ?
होला ! फरक होला
तिम्रो जात अलग,मेरो जात अलग
तिम्रो वर्ण अलग मेरो वर्ण अलग
तिम्रो गोत्र अलग मेरो गोत्र अलग
तर महाशय
तिमी पनि मान्छे म पनि मान्छे
तिमी पनि नागरिक म पनि नागरिक
तिम्रो रगत पनि रातो मेरो रगत पनि रातो
भन
तिमी ठुलो म सानो कसरी ?
तिम्रो घर बनाउने म
लाज छोप्ने म
पैताला ढाक्ने जुत्ता बनाउने म
तिम्रो सौखिन गहना बनाउने म
तिमीले खाने भाँडा बनाउने म
तिम्रो मन्दिरको टाउको छोप्ने म
तिम्रो देवता खुसी पार्ने बाजा बनाउने म
यत्ति सम्म कि
तिमीले पुज्ने ईश्वरको प्रतिमा बनाउने पनि म
ए हजुर
मैले कहाँ छोएको छैन ?
मेरो गन्हाउने पसिना कहाँ खसेको छैन ?
अब त भनिदेऊ महाशय
तिमी छुत म अछुत कसरी ?
मैले भनेको छैन
म पण्डित तिमी दमाई बन
म मालिक
तिमी भुईँ सफा गर्ने च्यामे बन
मलाई स्विकार छ
म दमाई तिमी पण्डित नै सही
म च्यामे तिमी ठकुरी नै सही
तर यत्ति चाहिँ जरुर भन्छु
कि मलाई मान्छे हुनदेउ
कि मलाई मान्छे बनाइदेऊ ।