विषयप्रवेश
नेपाली समाज जात व्यवस्थामा आधारित समाज हो । जात व्यवस्था भएको समाजमा जातीय विभेद नहुने कुरै भएन । जातीय विभेदका अनेकन् रूप तथा तौरतरिका छन् । तीमध्ये लोकोक्ति एक हो । हाम्रो लोक समाजले अनुमोदन गरेका सबै कुरा ठिक हुन्छन् भन्ने छैन । हाम्रो लोकसमाजमा कैयौं यस्ता परम्परा, संस्कृति, विश्वास, मान्यता प्रचलित छन्, जसले शासक तथा सत्ताको पक्षपोषण र समाजको पिँधमा पारिएका वर्गहरूमाथि थप उत्पीडन गर्दछन् । धेरै लामो तथा व्याख्यात्मक कुरालाई छोटो तथा सूत्रात्मक र स्पष्ट रूपमा बुझाउनका लागि नेपाली लोकसमाजमा उखानको प्रयोग गरिन्छ । नेपाली समाजमा आज पनि थुप्रै यस्ता उखानको सहजै प्रयोग गरिन्छ, जसले नेपालका कुनै जात विशेषलाई प्रत्यक्ष अपमान गर्छ । अर्थात् उखानलाई जातीय विभेद गर्ने मुख्य हतियार बनाइएको छ । जातीय विभेद भनेको कुनै पनि वर्ण, जात र थरको आधारमा उक्त व्यक्ति वा वर्ग÷समुदायप्रति गरिने अपहेलना, छुवाछुत, तिरस्कार, अपमान जस्ता अमानवीय क्रियाकलाप हो । यस्ता विभेदजन्य उखान खस–आर्य गैरदलित, जनजाति र दलित समुदायलाई लक्षित गरी प्रयोग गरिएको पाइन्छ ।
उखानको परिचय
उखान लोकजीवन दर्शन हो । उखानले मानिसको चेतना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ । उखान शब्द संस्कृतको ‘उपाख्यान’ शब्द विकसित भई नेपालीमा प्रचलित हुन आएको हो (पराजुली र गिरी, २०८०, पृ. ३१२) । आख्यानबाट बनेको हुँदा यसलाई ‘आहान’ पनि भनिन्छ । लोककथालाई संक्षिप्त र सूत्रात्मक बनाउने प्रयत्न स्वरूप उखानको निर्माण भएको हो । एरिस्टोटलले तत्त्वज्ञानका खण्डहरबाट चुनेर निकालिएको टुक्रा अनि जोगाइएको अंश नै उखान हो भनेका छन् । यस्तै सर्भन्तिसले उखानहरू लामा अनुभवबाट निस्केका छोटा वाक्य हुन् (पराजुली र गिरी, २०८०, पृ. ३१३) भनेका छन् । यसले जीवनको लय सिर्जना गर्दछ । यदि खराब उखानलाई आत्मसात् गर्ने हो भने जीवनको लय भत्किन्छ । समाज विखण्डनतिर जान्छ र द्वन्द्वमा फस्छ । नेपालीमा यस्ता धेरै उखानहरू छन्, जसले जातविशेषलाई तोकेर अपमान गर्छ । उखानमा जातीय जीवनको अभिव्यक्ति हुन्छ (बन्धु, २०८१, पृ. ३६९) । यसर्थ उखानले जातीय विशेषता, पहिचान र संस्कृतिलाई उजागर गर्ने काम मात्रै नगरी कुनै जात विशेषलाई तोकेरै अपमान गर्ने र लज्जित पारी उसको हुर्मत लिने जस्ता निकृष्ट कार्य पनि सँगसँगै गरिरहेको छ । यसो हुनुको कारण जात व्यवस्थामा आधारित सामाजिक संरचना नै हो ।
खस–आर्य गैरदलितलाई विभेद गर्ने उखान
खस–आर्य गैरदलितअन्तर्गत बाहुन, क्षेत्री समुदाय (जैसी, खत्री आदि) पर्दछन् । नेपाली समाजमा यी समुदायप्रति लक्षित विभेदकारी उखान यस्ता छन्ः
१. बाहुन–क्षेत्रीको कोखामा दाँत
२. दिनभरि बाहुन, रातभरि डाउन
३. झिल्के बाहुन, तिल्के चन्दन
४. जहाँ दही, त्यहाँ बाहुनको सही
५. अघाएको बाहुन र भोकाएको ज्यापू काम लाग्दैन
६. सराद्धे गर्नुभन्दा सिदा पुर्याउन गाह्रो
७. पुरेतको सम्पत्ति, जजमानको विपत्ति
८. जैसीको छोरी राँड, वैद्यको गलगाँड
९. भतुवालाई भातकै धन्दा, जैसीलाई जातकै धन्दा
१०. बाहुनको जनै, दमाईको सनै
११. भँडारीको बिहेमा पाँडेको परिपञ्च
१२. बाहुनलाई खाई जाडो, मगरलाई नुहाई जाडो
१३. जहाँ केरा, उहीँ बाहुनको डेरा
१४. जहाँ गुलियो, त्यहीँ बाहुन भुलियो
१५. बाहुनको चित्त, माखाको पित्त
१६. सन्तोषी राजा र असन्तोषी बाहुन काम छैन
१७. ताक परे तिवारी नत्र गोतामे
१८. कहाँको राजा राम, कहाँको गने भँडारी
१९. जता जता बाहुन बाजे, उतै उतै स्वाहा
२०. केटाकेटीलाई नाना, बाहुनलाई खाना, गँजेडीलाई ताना, घोडालाई दाना र चोरलाई थाना
२१. बाहुनको हाडै चोखो
२२. तैँ बाहुन, मै बाहुन, घरका पैसा कतै नजाउन्
२३. जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा
२४. अर्तीको कुरा घर्तीको नि सुन्नु
२५. बाहुनले च्याउ खा होस् न भेउ पाओस्
२६. बाहुनीलाई छोए पाप, ठकुरीलाई हेरे पाप
२७. छेपारे क्षेत्री, छेरौटे बाहुन
२८. बाहुन टपरी, गर्छ मनपरी
२९. भण्डारीले भन्दियो, गौतमले गोद्दियो
यी बाहुनक्षेत्री समुदायको भएकै कारण उनीहरूलाई भनिने उखानहरू हुन् । समाजको सबैभन्दा उच्च तहमा रहेका, विशेष अधिकार पाएका सम्मानित भनिएका ब्राह्मण, क्षेत्रीलाई त यस्ता उखानहरूमार्फत अपमान गरिन्छ भने अरू जात र जातिको हालत के होला !
आदिवासी जनजातिलाई विभेद गर्ने उखान
१. नेवारको मुख चल्छ, भोटेको हात चल्छ
२. कुमालेको गाउँमा हाँडीको दुख
३. भोटेलाई वन नदिनु, स्वास्नीलाई मन नदिनु
४. मतवाली र जुवाडी कहिल्यै उँभो लाग्दैनन्
५. नेवार बिग्रेको र फर्सी कुहिएको थाहा हुँदैन
६. थारू खाइ पक्का, बाहुन नुहाई पक्का
७. भोकाएको ज्यापू र अघाएको बाहुन काम लाग्दैनन्
८. बाबु दुष्ट र नेवार इष्ट कहिल्यै हुँदैन
९. सोझो मगर, जसो भन्यो त्यसै गर
१०. नेवार बिग्रियो भोजले, पर्वते बिग्रियो मोजले
११. भोटेको बल, नेपालीको छल
१२. माझीलाई माछाको पाहुर
१३. माझीले मतो गर्दागर्दै सात घर डुबे
१४. मगरको लिँडे ढिपि, भोटेको गाईखाने बुद्धि
१५. गाईको सास, नगर्नु विश्वास
यस्ता उखानहरूमार्फत नेपालका आदिवासी जनजाति वा उत्पीडित राष्ट्रहरूमाथि अपमान, तिरस्कार र विभेद गरी थप उत्पीडनमा पारिएको छ । यसरी जातजातिकै कारण कसैको स्वाभिमानमा चोट पुर्याउनु अपराध हो ।
दलित समुदायलाई विभेद गर्ने उखान
१. कामीको फुर्ती दमाईको स्वाङ
सार्कीको मुखमा हाल्देन ल्वाङ
२. कामीको बिहे अठार खाँचो
३. सुनारको सय चोट, लोहारको एकै चोट
४. बाहुनको जनै, दमाईको सनै
५. एकघर विष्ट दशघर कामी, जस्ता तिमी उस्तै हामी
६. दमाई, कामी माग्न जान्दैन; दाद, लुतो आउन जान्दैन
७. कामीको ढर्रा दमाईँको स्वाङ
८. ढोल, गवार, पशु, शूद्र, नारी
यी हुन् सबै ताड्नाका अधिकारी
९. पाए अन्त, कहीँ नपाए कामीको जन्त
१०. छ रूपैयाँकी छेत्रीनी, सय पैसाकी सर्किनी
दुई पैसाकी दमिनी, बिनाकामकी कमिनी
११. मरेपछि डुमै राजा
१३. काले कामी र कामी काले भन्नु एउटै कुरा हो
१४. दमैकामीको बोली, वर्षदिनको भोलि
१५. कुमाइको घुमाइ, जैसीको जाल
नेवारको जोखाइ, पर्वतेको काल
१६. दमाईँको थुक चोखो, बाहुनको मुख चोखो
१७. सार्कीले सराप्दैमा गोरु मर्दैन
१८. बाहुन झुसिलो, मगर मसाइलो
कामी अँगारे, दमाई सिँगारे
१९. धोबीको कुकुर जस्तो
२०. जाँड खाएको कामी जस्तो
२१. कामीको कमाइ, पुच्छर खाने दमाईँ
२२. गर्ने भन्ने हामी, गर्दन खाने कामी
२३. जोगीको जात, अँधेरी रात
२४. कहाँको जात कहाँको भात
२५. कङ्गालको जात छैन, बोक्सोको गाउँ छैन
२६. जात फाल्नु गहतको झोलमा
२७. पाँच औंला त बराबर हुन्नन् जातमा बराबरी खोजेर हुन्छ !
२८. कामीको चुलामा जब बस्छ ताउलो, तब लाग्छ उखरमाउलो
खासमा यो समाजको चालक नै श्रमजीवी दलितहरू हुन् । समाजमा दलितहरूलाई नै सबैभन्दा बढी सम्मान दिइनु पथ्र्यो/पर्छ । तर यस्ता विभेदकारी उखानहरूको वाण प्रहार गरेर दलितको श्रम र पसिनाको अपमान गरिएको छ । यो पटक्कै ठिक भइरहेको छैन । दलित मात्रै होइन खस–आर्य, आदिवासी जनजाति वा अन्य कुनै जात र जातिलाई कुनै पनि तरिकाले अपमान र विभेदजन्य व्यवहार गर्नु हुँदैन । जातिगत आधारमा मानिसमा आवश्यक भिन्नता भए पनि त्यही भिन्नतालाई आधार मानेर कसैप्रति कुनै पनि किसिमको विभेदयुक्त कार्यहरू गर्नु हुँदैन । त्यस्ता कार्य गरिनुलाई नैतिकता, मानवता तथा कानुनी कुनै दृष्टिले उपयुक्त मान्न सकिन्न (बराल, सन् २०२२, पृ. १६६) । यस्ता उखानहरू समाजको विकासका बाधक हुन् । पारिवारिक सद्भाव बिगार्ने, मानवमानवबीचमा फाटो ल्याउने, नारी समुदायलाई होच्याउने, छुवाछुत प्रथा, ईश्वरवाद र भाग्यवादलाई प्रश्रय दिने, श्रमजीवी र सर्वसाधारणको उपेक्षा गर्ने उखान उखाल्नु पर्ने देखिन्छ (लामिछाने, २०६९, पृ. ६४–६५) । यस्ता उखानहरू लोकले नै निर्माण गरेको हो भने लोकले नै हटाउन सक्छ । यसका लागि समाजका प्रगतिशील हिस्साले सचेत प्रयत्न गर्नु जरुरी हुन्छ ।
निष्कर्ष
समाजमा प्रचलित लोककथालाई सारमा भनेर त्यसको अर्थ वा सन्देश प्रदान गर्न सूत्रात्मक रूपमा प्रयोग गरिने लोकोक्ति नै उखान हो । वर्गीय समाजमा उखानहरू पनि वर्गीय नै हुन्छन् । नेपाली समाज जात व्यवस्थामा आधारित भएकाले कैयौं उखानहरू जात र जाति विशेषसँग सम्बन्धित छन् । यस्ता उखानहरू मुलतः जातीय विभेदयुक्त छन् । यस्ता उखानहरू कुनै जात, जाति विशेषलाई अपमान, तिरस्कार गर्दै मनोबल गिराएर कमजोर पार्ने र उनीहरूमाथि आफ्नो सत्ता (विचार) लाद्ने शक्तिशाली अस्त्रका रूपमा प्रयोग गरिँदै आएको छ । यस्ता विभेदजन्य उखानले हाम्रो लोकसंस्कृति, लोकपरम्परा, लोकरीतिको विकास गर्ने होइन उल्टै जातीय विखण्डन निम्त्याउन अहम् भूमिका खेल्छन् । यस्ता उखान सतप्रतिशत घातक छन् । जात व्यवस्था नेपालको समस्याहरूमध्ये एक मुख्य समस्या हो । तसर्थ जात व्यवस्थाको अन्त्य नगरी सबै नेपालीको समानता, स्वतन्त्रता र विकास सम्भव छैन । यस्ता उखानले जात व्यवस्था टिकाइराख्न भूमिका खेल्ने हुँदा हाम्रो विद्यालयका पाठ्यक्रमबाट यसलाई हटाउने र समाजमा यस्ता उखानलाई प्रयोग नगर्ने (बहिस्कार गर्ने) संस्कृति बनाउने, यस्ता उखानहरूको प्रयोग गर्नु अपराध हो भनी समाजलाई बुझाउने, अटेरीलाई कानुनी कारबाही गर्ने जस्ता कार्य जुझारू रूपमा गर्नु आवश्यक छ । साथै जात व्यवस्था विरोधी आन्दोलनलाई सशक्त ढङ्गले अघि बढाउने हो भने यस्ता विभेदकारी उखानहरू खारेज हुने सम्भावना प्रबल छ ।
सन्दर्भ सामग्री
पराजुली, मोतीलाल र जीवेन्द्रदेव गिरी (२०८०). नेपाली लोकसाहित्यको रूपरेखा. (दोस्रो संस्क.), साझा
प्रकाशन: ललितपुर ।
बन्धु, चुडामणि (२०८१). नेपाली लोकसाहित्य. (तेस्रो संस्क.), एकता बुक्स प्रा.लि.: काठमाडौं ।
बराल, मदनराज (सन् २०२२).शैक्षणिक दृष्टिले नेपाली उखानमा पाइने विभेद तथा कमजोरी Baudhik Abhiyaan Journal, 7, Pp. 160-170.
लामिछाने, कपिलदेव (२०६९).नेपाली उखान र टुक्काको अध्ययन. विवेक सिर्जनशील प्रकाशन प्रा.लि.:
काठमाडौं ।




