परिचय
इजरायल र प्यालेस्टाइन बिचको ऐतिहासिक दुश्मनी विश्वको सबैभन्दा जटिल, दीर्घकालीन र रक्तरञ्जित द्वन्द्व हो, जुन केवल धार्मिक वा सांस्कृतिक कारणले नभई साम्राज्यवादी हस्तक्षेप, नव उपनिवेशवादी रणनीति, र क्षेत्रीय शक्ति सन्तुलनको लागि गरिँदै आएको पश्चिमी खेलको परिणाम हो । इरान–इजरायलको तनाव विशेषतः इस्लामिक प्रतिरोध आन्दोलनहरूमाथि इरानको समर्थन, इजरायली आक्रामकता र साम्राज्यवाद विरोधी लडाइँको हिस्सा बनिसकेको छ । सन् २०२३ पछि उत्पन्न युद्धपरिस्थितिमा अमेरिका र इजरायलको साझा उद्देश्य स्पष्ट छ, —प्रतिरोधको हरेक आवाजलाई निमिट्यान्न पार्ने । तर यो पनि सत्य हो कि यो संघर्ष अब केवल भूभागको होइन, विचार र भविष्यको अर्थात एकातिर पुँजीवादी साम्राज्यवादको निरन्तरता चाहने शक्तिहरू र अर्कोतिर शोषितहरूको मुक्ति चाहने शक्तिहरू बिचको पनि संघर्ष हो । यस आलेखमा हामी ऐतिहासिक सन्दर्भ, वर्तमान परिस्थिति, प्रमुख कारकहरू, शक्ति राष्ट्रहरूको भूमिकासँगै समाधानका निम्ति समाजवादी क्रान्तिको आवश्यकता र सम्भावनाको गहिरो विश्लेषण गर्नेछौं ।
१) इजरायल–प्यालेस्टाइन द्वन्द्वको ऐतिहासिक पृष्ठभूमि
१९ औँ शताब्दीको उत्तरार्धमा ब्रिटिश साम्राज्यवादद्वारा प्रोत्साहित ‘जियोनिस्ट आन्दोलन’ले प्यालेस्टाइनको भूमिमा यहुदीहरूको राष्ट्र स्थापना गर्ने नाममा एउटा नवउपनिवेशवादी परियोजना सुरू गर्यो । बेलफोर घोषणाले अरबहरूमाथि जबर्जस्तीको ऐतिहासिक अन्याय थोपर्यो । सन् १९४८ मा इजरायलको ‘स्वतन्त्रता’ घोषणा वास्तवमा प्यालेस्टाइनीहरूका लागि सामूहिक निर्वासन (Nakba) को सुरुवात थियो, जसले आजसम्म मानवता र न्यायको खिल्ली उडाइरहेको छ ।
इजरायल अमेरिकी साम्राज्यवादको कृत्रिम उपज हो । एक स्थायी सैन्य चौकी, जसको उद्देश्य मध्यपूर्वका प्राकृतिक स्रोत (विशेषतः पेट्रोलियम पदार्थ) माथि नियन्त्रण कायम राख्नु हो । गाजा र वेस्ट बैङ्कमा जारी कब्जा, यरुशलमको जबर्जस्तीकरण र हजारौं प्यालेस्टाइनीको हत्या यही योजनाको अङ्ग हुन् ।
२) इरान–इजरायल युद्धको वर्तमान अवस्था
इरान–इजरायलको द्वन्द्व इरानी इस्लामिक क्रान्तिपछि अझ चर्किएको हो । इरानले साम्राज्यवादविरोधी मुक्ति आन्दोलनहरूलाई समर्थन गर्दै आएको छ । हमास, हिजबुल्लाह र यमनका हुथीहरूजस्ता समूहहरूमार्फत इरानले प्रतिरोधको मोर्चा बनाएको छ । सन् २०२४ को मिसाइल आक्रमण र २०२५ को इजरायली हवाई कारबाहीले स्थिति झनै भयावह बनाएको छ । तर, यो कुनै संयोग होइन । यो इजरायल र अमेरिका मिलेर इरानमाथि पुनः शाही राजतन्त्र पुनःस्थापना गर्ने योजनाको भाग हो । इरानको परमाणु कार्यक्रमको बहाना बनाइ इजरायलले आफ्ना साम्राज्यवादी आकांक्षालाई वैधता दिने कोसिस गरिरहेको छ । वास्तविकता के छ भने, इरान आज साम्राज्यवादको विरुद्ध प्रतिरोधको एक प्रमुख केन्द्र बन्दैछ । आफ्नो अपूरणिय सैन्य नेतृत्व र वैज्ञानिकहरुको क्षतिका बाबजुद पनि युद्धमा डटिरहेको छ ।
शान्तिको नाममा अन्याय स्विकार्न सकिदैन । स्थायी शान्तिको आधार साम्राज्यवादको विनाश, धार्मिक कट्टरताको अन्त्य र वर्गीय क्रान्ति मात्र हुनसक्छ ।
३) प्रमुख कारकहरू
क) सियोनवाद
इजरायलले प्यालेस्टाइनीहरूमाथि गर्दै आएको आक्रमणहरू केवल सुरक्षाको नाममा नभई, Zionism (सियोनवाद) आधारित छन् भन्ने स्पष्ट प्रमाणहरू छन् । सियोनवादले इजरायललाई यहुदीहरूको ऐतिहासिक मातृभूमि भन्दै अरू समुदायको अस्तित्त्व नकार्ने र तिनलाई विस्थापित गर्ने वैचारिक आधार दिन्छ । १९४८ मा लाखौं प्यालेस्टाइनीको विस्थापन (नकबा), नेताहरूको मुस्लिम विरोधी अभिव्यक्ति र आजसम्म गाजा तथा वेस्ट बैङ्कमा गरिएका कब्जा र हिंसाहरू सियोनवादकै रणनीतिक कार्यान्वयन हुन् । यस विचारधाराले यहुदी राज्य निर्माणको नाममा अरूको भूमि र अस्तित्व मेटाउन खोजेको छ, जसले इजरायली आक्रमणहरूलाई केवल सैनिक कार्य नभई वैचारिक युद्धको रूपमा पुष्टि गर्छ ।
ख) राजनीति र भूराजनीति
इजरायलको अस्तित्त्व नै साम्राज्यवादी परियोजना हो । अमेरिका र यूरोपका लागि यो एक रणनीतिक सैन्य अड्डा हो, जहाँबाट सम्पूर्ण मध्यपूर्व नियन्त्रणमा राख्न सकिन्छ । यरुशलम केवल धार्मिक होइन, रणनीतिक नियन्त्रणको प्रश्न हो । अर्कोतर्फ, इरानले क्षेत्रीय स्वाधीनता र प्रतिरोधको आवाज बुलन्द बनाएको छ ।
ग) आर्थिक र व्यापारिक कारण
पेट्रोलियम पदार्थ नै मध्यपूर्वको राजनीति र युद्धको मूल हो । खाडी मलुकहरू (जस्तै साउदी अरब, UAE) अमेरिकी योजना अनुसार इजरायलसँग आर्थिक सम्बन्ध विस्तार गर्दैछन्, जुन इरानलाई अलग पार्ने खेल हो । इजरायलको उच्च प्रविधि र अमेरिका–युरोपको लगानीले उसलाई आर्थिक रूपले सशक्त बनाएको छ । तर, त्यो सम्पूर्ण अन्यायको जगमा अडिएको छ । समग्रमा स्रोतमाथि अमेरिकी कब्जाको चाहाना युद्धको प्रमुख कारण हो ।
घ) शक्ति राष्ट्रहरूको खिचातानी
मध्यपूर्व आज पनि ‘नयाँ कोल्ड वार’को रणभूमि हो । एकातर्फ अमेरिका, अर्कोतर्फ रुस र चीन । अमेरिका इजरायलको ढाल बनेर उभिएको छ भने रुस–चीन इरानसँग सहानुभूति प्रकट गर्दै आर्थिक र कूटनीतिक समर्थन गर्दैछन् तर, यदि रुस वा चीनले प्रत्यक्ष हस्तक्षेप गरेमा यो द्वन्द्व विश्वयुद्धमा पनि रुपान्तरण हुन सक्छ ।
ङ) रुस–चीनको सम्भावित संलग्नता
रुस युक्रेन युद्धमा अल्झिरहेको बेला चीन आफ्नो भू–आर्थिक रणनीतिमा केन्द्रित छ । तर यदि अमेरिकी आक्रामकता हद नाघ्यो भने यी राष्ट्रहरू युद्धमा उत्रन पनि बाध्य हुन सक्छन् । इरानको हार साम्राज्यवादको जित हुनेछ — जुन कुरा रूस र चीनले स्विकार्न सक्दैनन् ।
४) सम्भावित परिणामहरू
क) इरान वा प्यालेस्टाइनको निमिट्यान्न ?
इरान सैन्यरूपमा कमजोर हुन सक्छ, तर वैचारिक र रणनीतिक रूपले अझ दृढ हुँदैछ । प्यालेस्टाइनमा जनसंहार जारी छ, तर हामीले बुझ्नुपर्ने कुरा यो हो कि यो प्रतिरोधले नै इजरायलको वैधानिकता दिनप्रतिदिन खल्बल्याइरहेको छ । इरानको पतनमा अमेरिकी लक्ष्य ‘राजतन्त्र पुनस्र्थापना’ छ, जुन प्रतिगमनको निकृष्टतम स्वरूप हो ।
ख) इजरायलको अस्तित्व संकटमा ?
सैन्य रूपमा होइन, तर वैचारिक, नैतिक, र कूटनीतिक रूपमा इजरायल आज सङ्कटमा छ । मानवता, न्याय र जनतन्त्रको पक्षमा उभिएको सारा विश्व इजरायलको अपराधलाई अस्वीकार गर्न थालेको छ । यो क्रम गहिरिँदै गए नक्साबाट हटाउने होइन, नक्साबाट निष्क्रिय बनाउने परिस्थिति अवश्य सिर्जना हुन सक्छ ।
ग) अमेरिकी संलग्नता र यसको खतरनाक प्रभाव
अमेरिकाको संलग्नता कुनै पनि द्वन्द्वमा शान्तिको लागि होइन, स्थायी अस्थिरताको लागि हो । सन् २०२५ मा यदि अमेरिकाले इरानमाथि प्रत्यक्ष युद्ध घोषणा गर्यो भने, यो विश्व ऊर्जा बजार, शरणार्थी सङ्कट र आर्थिक सङ्कटमा रूपान्तरित हुनेछ । ट्रम्प वा बाइडेन – दुवैको नीतिमा अन्तर छैन, अन्तर छ त केवल शैलीमा ।
५) समाधानका विकल्पहरु
क) साम्राज्यवादको पराजय र समाजवादी क्रान्ति
मध्यपूर्वको दीर्घकालीन शान्तिको लागि साम्राज्यवादी प्रभावको अन्त्य अनिवार्य छ । केवल प्यालेस्टाइन मात्र नभइ यमनदेखि लेबनान, सिरिया, इरान र इराकसम्मको मुक्ति एक साझा अन्तर्राष्ट्रिय क्रान्तिको माग गर्दछ । समाजवादी क्रान्ति जसले धर्म, जात, वर्गभन्दा माथि उठेर न्याय र समानताको नयाँ संरचना दिन सक्छ, जुन आजको वास्तविक आवश्यकता हो ।
ख) धार्मिक कट्टरताको अन्त्य
धार्मिक उन्माद साम्राज्यवादका लागि उपकरण बनेको छ । धार्मिक कट्टरताकै कारण हुने टुटफुट र विभाजन त्यागेर वर्गीय एकता निर्माण गर्न नसके सम्म समाधान सम्भव छैन ।
ग) प्यालेस्टाइनी स्वतन्त्रता र राष्ट्रको पुर्नसंरचना
दुई राष्ट्र समाधान सम्भाव्य छ, तर केवल जब इजरायल गाजा र वेस्ट बैंकबाट पूर्ण रूपमा फिर्ता हुन्छ । यरुशलम साझा प्रशासन अन्तर्गत ल्याइनुपर्छ र प्यालेस्टाइनी अधिकार सुनिश्चित गर्नुपर्छ ।
घ) अन्तर्राष्ट्रिय जनदबाब र वैकल्पिक संगठन
संयुक्त राष्ट्रसंघको पक्षपाती भूमिकाले विकल्प खोज्न बाध्य पारेको छ । एक नयाँ जनसंगठन निर्माणको आवश्यकता छ, जसले मानवतावादी र क्रान्तिकारी आवाजलाई सशक्त बनाओस् ।
निष्कर्ष
इजरायल–प्यालेस्टाइन द्वन्द्व, इरान–इजरायल तनाव र अमेरिका–रुस–चीनको प्रतिस्पर्धा आज मानव इतिहासको एउटा निर्णायक मोडमा आइपुगेको छ । अब निर्णय गर्नुपर्ने बेला आएको छ — साम्राज्यवाद, नवउपनिवेशवाद र सैन्य उन्मादको साथ दिने कि प्रतिरोध, समानता, स्वतन्त्रता र समाजवादी विश्व दृष्टिकोणको पक्षमा उभिने । मध्यपुर्वले यो स्विकार गर्नुपर्नेछ कि समग्र क्रान्ति नै मुक्तिको दिगो उपाय हो ।
शान्तिको नाममा अन्याय स्विकार्न सकिदैन । स्थायी शान्तिको आधार साम्राज्यवादको विनाश, धार्मिक कट्टरताको अन्त्य र वर्गीय क्रान्ति मात्र हुनसक्छ । त्यो दिन नजिकिँदैछ — जब मध्यपूर्व उठ्नेछ, तब प्यालेस्टाइनले मुक्ति पाउनेछ, साम्राज्यवाद हार्नेछ र नयाँ समाजवादी युग उदाउनेछ ।