बलात्कार कुनै एक व्यक्तिको विकृत मानसिकताको मात्र परिणाम होइन, यो हाम्रो सामाजिक संरचनाद्वारा रोपिएको गहिरो रोग हो । धेरैले विश्वास गर्छन् कि बलात्कारीलाई मृत्युदण्ड वा आजीवन कारावास सजाय दिँदा बलात्कार अन्त्य हुन्छ । तर यथार्थ फरक छ । सजायले अपराधीलाई त हटाउन सक्छ, तर अपराध उत्पादन गर्ने सामाजिक संरचना जस्ताको तस्तै रहन्छ । जसका कारण नयाँ अपराधीहरू निरन्तर जन्मिरहन्छन् ।
बलात्कारको जराः पितृसत्ता
पितृसत्ता त्यो प्रणाली हो, जसमा पुरुषलाई आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा उच्च स्थान दिइन्छ र महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिन्छ । यस संरचनामा महिलालाई स्वतन्त्र व्यक्ति नभइ परिवार, समुदाय वा पुरुषको ‘स्वामित्व’ अन्तर्गत राखिने वस्तुजसरी नियन्त्रित गर्ने प्रवृत्ति हुन्छ । यो प्रणालीले बलात्कारको लागि निम्न आधार तयार गर्छः
क) महिलाको शरीरमाथि नियन्त्रण राख्ने सोच
पितृसत्तात्मक समाजमा विवाह कहिले गर्ने, बच्चा कहिले जन्माउने, कसरी कपडा लगाउने, कतिबेला घर फर्कने लगायतका निर्णय महिला स्वयम्को नभइ परिवार वा समाजको अधिकार ठानिन्छ । जस्तैः उदाहरणका लागि नेपालमा अझै पनि कतिपय गाउँमा किशोरीलाई रजस्वला भएको बेला घर भित्र बस्न नदिइ छाउगोठ बनाएर राख्ने प्रचलन छ । यो अभ्यासले महिलाको शरीर र जीवनमाथि उनीहरूको निर्णय होइन, धर्म, संस्कृति र समाजको नियन्त्रण देखाउँछ ।
छोरीलाई मौनता र सहनशीलताको पाठ पढाइन्छ, र छोरालाई शासन र स्वामित्वको
ख) यौन सहमतिको महत्व नबुझ्ने प्रवृत्ति
पितृसत्तात्मक समाजमा “पत्नी भएपछि सहमति त आफैँ हुन्छ” जस्ता धारणा अझै व्यापक छन् । यो सोचले यौन सम्बन्धमा सहमतिको मूल्य नै हटाइदिन्छ । आजसम्म पनि भारतमा विवाह पश्चात्को बलात्कारलाई कानुनी अपराध नै मानिँदैन भन्ने उदाहरण यसैको प्रतीक हो ।
ग) पुरुषको सत्तालाई प्राकृतिक मान्ने मानसिकता
महिला सरोकारका विषयको नेतृत्व, नियन्त्रण र निर्णय गर्ने शक्ति पुरुषको अधिकार हो भन्ने विश्वासले महिलामाथि हिंसा गर्न पनि ‘वैधता’ दिन्छ । हाम्रो समाजमा अझै पनि “घरको निर्णय बाबु वा दाजुले गर्छन्” भन्ने सोचले यही मानसिकता झल्काउँछ । यी सोचहरू जन्मेदेखि नै घरभित्रै सिकाइन्छन् । छोरालाई ढिलो रातिसम्म बाहिर बस्न, साथीहरूसँग घुम्न, स्वतन्त्र निर्णय लिन स्वतन्त्रता दिइन्छ । तर, छोरीलाई भने “आफूलाई सुरक्षित राख” भन्ने नाममा ढोका बेलुकी चाँडै बन्द गर्ने, यात्रा सीमित गर्ने, शरीर ढाक्ने कपडा लगाउने लगायतका नियन्त्रित व्यवहार गरिन्छ । यसरी, छोरीलाई मौनता र सहनशीलताको पाठ पढाइन्छ, र छोरालाई शासन र स्वामित्वको ।
दण्डको सीमित प्रभाव
बलात्कारीलाई कठोर सजाय दिनु न्यायको हिस्सा हो, तर यो समाधानको अन्तिम सूत्र भने होइन । किनकि—सजाय घटना भएपछि मात्र लागू हुन्छ । जबसम्म अपराधी उत्पादन भइरहन्छ, तबसम्म सजायले रोकथामको काम गर्दैन । उदाहरणका लागि, छिमेकी मुलुक भारतमा मृत्युदण्ड सम्मको कठोर सजाय भए पनि बलात्कारका घटना दिनानुदिन बढिरहेका छन् ।
सजायको भय भन्दा सामाजिक सोचको परिवर्तन दीर्घकालीन हुन्छ । मानसिकता परिवर्तन बिना कानुन मात्र कमजोर हतियार हुन्छ । जापान वा स्वीडेनजस्ता देशहरूमा बलात्कारको दर कम हुनुको कारण कठोर सजाय मात्र नभइ, समानताको शिक्षा र सामाजिक चेतना हो । धेरैजसो पीडितले बलात्कारपछि उजुरी नै गर्दैनन्, किनकि उजुरी गर्दा उनीहरूलाई नै दोषारोपण गरिन्छ । किन प्रतिकार गरेनौं, किन त्यस्तो कपडा लगायौ वा किन राति बाहिर थियौ जस्ता प्रश्नले पीडितलाई उल्टै अपराधी झैँ व्यवहार गरिन्छ । नेपालमा भएका धेरै घटनामा समाजकै दबाबका कारण पीडितले आवाज दबाउनु परेको उदाहरण हामीसँग प्रशस्त छन् । यसैले, बलात्कारको अन्त्यका लागि कठोर सजाय मात्र होइन, सिंगो सामाजिक संरचना नै परिवर्तन गर्न अनिवार्य छ ।
शैक्षिक, सांस्कृतिक, महिला सशक्तीकरण र कानुनी सुधारलाई एकीकृत रूपमा अगाडि बढाउँदा मात्र पितृसत्ताको अन्त्य हुन्छ
विद्रोही छोरीको आवश्यकता
हाम्रो समाज अझै पनि “सुन्दर, असल, ज्ञानी” छोरीलाई आदर्श मान्छ । धेरैजसो अवस्थामा यसको अर्थ अनुशासित, आज्ञाकारी, विद्यमान नियमभित्र सीमित रहनु हुन्छ । महिलालाई पितृसत्ताको रक्षाकवचको रुपमा रहेको परम्परागत मूल्य–मान्यता, विभेदकारी नियम, कानुन तथा संस्कृतिको रक्षकको रुपमा उभ्याएको हुन्छ । यसको एकमात्र उद्धेश्य भनेको महिलालाई पुरुषको अधीनमा राख्नु हो ।
किन छोरीलाई मात्रै राति बाहिर नजान भनिन्छ ? किन विवाहमा उनको मतभन्दा परिवारको मतलाई महत्त्वपूर्ण मानिन्छ ? यी प्रश्नहरू सोध्ने छोरी आजको आवश्यकता हुन् । यस्ता छोरीहरू जसले विद्यालयमा, घरमा वा कार्यस्थलमा हुने कुनै पनि विभेदको प्रतिवाद गर्छन् । उनीहरू आफ्नो शरीर र जीवनमाथि पूर्ण अधिकार माग्छन् । विवाह कहिले गर्ने, बच्चा कहिले जन्माउने वा आफ्नो पेसा के हुने भन्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू उनीहरूकै हुन् भन्ने विश्वास राख्छन् । धर्म, संस्कृति र परम्पराको नाममा लादिएको दमनलाई उनीहरू स्पष्ट रूपमा अस्वीकार गर्छन्, चाहे त्यो छाउपडी, दाइजो वा जबर्जस्ती विवाह नै किन नहोस् । तर यो लडाइँ छोरीको मात्र होइन, यसका लागि हामीलाई त्यस्ता छोराहरू पनि चाहिन्छ जसले पितृसत्ताबाट प्राप्त संरचनात्मक लाभ त्याग्न तयार हुन्छन्, र समानताको पक्षमा दृढतापूर्वक खडा हुन्छन् । उदाहरणका लागि, सम्पत्तिमा छोरीलाई पनि बराबर हिस्सा दिने वा परिवारको निर्णयमा आमाको मतलाई पनि समान महत्त्व दिने । यो परिवर्तन तब मात्र सम्भव हुन्छ, जब परिवार, विद्यालय र समाजले छोरीहरूलाई मौनताको साटो प्रतिरोधको भाषा सिकाउँछ र छोराहरूलाई सत्ताको साटो समानताको वास्तविक मूल्य बुझाउँछ ।
दीर्घकालीन समाधान
बलात्कारजस्तो जघन्य अपराधको मूल कारण पितृसत्तात्मक संरचना हो । जबसम्म समाजमा पुरुषलाई शक्तिशाली र महिलालाई कमजोर बनाउने संरचना रहिरहन्छ, तबसम्म यस्ता अपराधको पूर्ण अन्त्य सम्भव छैन । त्यसैले, बलात्कार अन्त्यका लागि पितृसत्ताको अन्त्य नै दीर्घकालीन समाधान हो । यसका लागि समाजका हरेक क्षेत्रमा परिवर्तन आवश्यक छ । लैङ्गिक समानतामा आधारित शिक्षालाई बाल्यकालदेखि नै अनिवार्य बनाइनुपर्छ ता कि बालबालिकाहरूमा एकअर्काप्रति सम्मान र समानताको भावना विकास होस् । यसका साथै, असमानताको स्रोतको रुपमा रहेको रुढीवादी धार्मिक सांस्कृतिक अभ्यासहरूमा रोक लगाउनु पर्छ ।
केवल सांस्कृतिक र शैक्षिक सुधारले मात्र यो सम्भव नहुने हुँदा महिलाको आर्थिक र राजनीतिक सशक्तीकरण पनि उत्तिकै महत्त्वपूर्ण छ । जब महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुन्छन् र निर्णय प्रक्रियामा उनीहरूको समान सहभागिता हुन्छ, तब मात्र उनीहरूमाथि हुने हिंसा र दमनको घनत्व कम हुन्छ । राजनीतिमा महिलाको प्रतिनिधित्व बढ्दा उनीहरूको मुद्दाले प्राथमिकता पाउँछ र उनीहरूको सुरक्षाका लागि कडा कानुन बन्न सक्छ । यसका साथै, कानुनी सुधार पनि आवश्यक छ । बलात्कार र यौन हिंसासम्बन्धी कानुनहरू कडा हुनुपर्छ र पीडितलाई न्याय दिन द्रुत न्यायिक प्रक्रिया सुनिश्चित गरिनुपर्छ । यसरी शैक्षिक, सांस्कृतिक, महिला सशक्तीकरण र कानुनी सुधारलाई एकीकृत रूपमा अगाडि बढाउँदा मात्र पितृसत्ताको अन्त्य हुन्छ र बलात्कारमुक्त समाजको निर्माण हुन्छ । यो एक निरन्तर प्रक्रिया भएको हुनाले सिङ्गो समाजको आधारभूत संरचनामा नै परिवर्तनको माग गर्दछ ।
