July 26, 2024, Friday
२०८१ श्रावण ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा

काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाको दीप प्रज्वलन

काठमाडौंः जात व्यवस्था उन्मूलन मोर्चा, नेपालद्वारा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौंको शान्तिवाटिकामा रुकुमपश्चिमको सोतीमा नवराज विक लगायत ६ जनाको सामूहिक हत्या भएको मुद्धामा जिल्ला अदालत रुकुमपश्चिमको फैसलालाई स्वागत गर्दै जात व्यवस्था विरोधी संघर्ष जारी राख्न र संकल्प गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा न्यायिक प्रक्रियामा सुरुवातदेखि नै पीडित परिवारका पक्षबाट बहस पैरवी गर्दै आएका अधिवक्ताहरु मोहन शाशंकर, यमकुमारी ददेल र श्याम विश्वकर्मा उपस्थित भएका थिए । त्यस्तै नागरिक आन्दोलनका अगुवा डा. सञ्जिव उप्रेती, अभियन्ता विकास विश्वकर्मा, कवि राजु स्याङतान लगायतको पनि उपस्थिति रहेको थियो ।

उपस्थित तीनै जना अधिवक्ताहरुले घटना घटेको समयदेखि फैसला भएसम्मका आआफ्ना अनुभव र अनुभूतिसहितको मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा अधिवक्ता श्याम विश्वकर्माले अदालतले गरेको फैसलाले केही राहत महसुस गराएको तर, निहत्था युवाहरुको बर्बरतापूर्वक हत्या गर्नेहरुलाई आजीवन काराबास हुने फैसला भने हुन नसकेको बताएका थिए । अर्का अधिवक्ता मोहन शाशंकरले राजनीतिक दबाब र कानुनका कमजोरीहरुलाई प्रयोग गरेर उच्च अदालतबाट उल्टाउन सक्ने भएकाले निरन्तर खबरदारी गरिरहनुपर्ने बताएका थिए । त्यस्तै अर्का अधिवक्ता यमकुमारी ददेलले लामो समयसम्मको संघर्षपछि भएको अदालतको फैसलाले न्यायको महसुस गराएको प्रतिक्रिया दिदै न्यायको लडाइँमा संलग्न सबैलाई धन्यवादसमेत व्यक्त गरेकी थिईन् । नागरिक आन्दोलनका अगुवा डा. सञ्जिव उप्रेतीले मंगलबार रुकुमपश्चिम जिल्ला अदालतबाट भएको फैसला उच्च हुँदै सर्वोच्च अदालतसम्म जान सक्ने र उल्टिनसमेत सक्ने भएकाले ढुक्क भएर नबस्न आह्वान गरेका थिए ।

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका अध्यक्ष मण्डलका सदस्य शान्ति गजमेरको संयोजनमा भएको कार्यक्रमलाई मोर्चाका महासचिव रुपा सुनारले सञ्चालन गरेकी थिईन् ।