परिचय
नेपालको चुरे क्षेत्र (सिबालिक) र तराई भूभाग हाल गम्भीर वातावरणीय सङ्कटको चपेटामा छन् । चुरेमा भइरहेको प्राकृतिक स्रोत साधनको अन्धाधुन्ध दोहन, तराईमा बढ्दो खडेरी र भूमिगत जल सतहमा आएको गिरावट लगायतका सबै समस्याहरू केवल स्थानीय स्तरका अभ्यासहरूको परिणाम मात्र होइनन्, विश्वव्यापी जलवायु परिवर्तनसँग पनि गहिरो सम्बन्धित छन् । वास्तवमा यी दुई पक्ष एकअर्कालाई बल दिइरहेका छन्; स्थानीय स्तरको दोहनले जलचक्रमा असन्तुलन ल्याइरहेको छ भने जलवायु परिवर्तनले त्यस असन्तुलनलाई अझ भयावह बनाइरहेको छ । यस लेखमा हामी यी सङ्कटहरूको वैज्ञानिक विश्लेषण प्रस्तुत गर्दै, समाधानको दिशामा अन्धविश्वास होइन, विज्ञान र योजनाबद्ध प्रयास कति आवश्यक छ भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछौं ।
१) प्राकृतिक स्रोत–साधनको दोहन र त्यसको असर
चुरे क्षेत्र विगत केही दशकदेखि अत्यधिक दोहनको चपेटामा परेको छ । खोलानालाबाट ढुंगा, गिट्टी, बालुवा सङ्कलन गर्ने, सडक विस्तार गर्ने र वन फँडानी गर्ने कार्यले चुरेको भौगोलिक बनावटमा गम्भीर क्षति पुर्याएको छ । चुरे विगतमा वर्षाको पानी सोस्ने ‘स्पञ्ज’ क्षेत्रको रूपमा काम गथ्र्यो, जसले तराईको भूगर्भीय जल भण्डार पुनःभरण गर्न मद्दत गथ्र्यो । तर अहिले त्यही प्रणाली कमजोर भइसकेको छ । यसको परिणाम स्वरूप तराईमा भूमिगत जलको सतह तीव्र रूपमा घटिरहेको छ, मोटरपम्प र बोरिङ प्रविधिबाट अत्यधिक पानी निकालिँदैछ, तर त्यसको पूर्ति हुने आधार हराउँदै गएको छ । खेतहरू सुक्दै गएका छन्, र कृषकहरू वर्षाको भरमा असहाय बन्न थालेका छन् ।
२) जलवायु परिवर्तन र असन्तुलित जलचक्र
जलवायु परिवर्तनको असर नेपालजस्ता पहाडी देशहरूमा अझ गम्भीर रूपमा परिरहेको छ । मौसमी चक्रमा आएको अनियमितता जस्तैः मनसुन ढिलो सुरु हुनाले, कहिले अत्यधिक त कहिले अत्यल्प वर्षा हुनाले र लामो खडेरी पछाडि एकैपटक भारी वर्षा हुनाले प्राकृतिक जलचक्रलाई असन्तुलित बनाइरहेका छन् । तापक्रमको औसत वृद्धिले जमिनबाट पानीको वाष्पीकरण दर बढेको छ, जसले माटोको आद्रता घटाइरहेको छ । चुरे क्षेत्रमा डढेलोका घटनाहरू बढेका छन्, जमिन सुक्खा बन्दै गएको छ, र भूमिगत जल पुनर्भरणको दर खस्कँदै गएको छ । यी सबै परिवर्तनहरू जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हुन्, जसले तराईको जल सङ्कटलाई थप जटिल बनाइरहेको छ ।
३) चुरे दोहन र जलवायु परिवर्तनको मिलनबिन्दु
चुरे क्षेत्रको दोहन र जलवायु परिवर्तन एकअर्कासँग जोडिएका समस्या मात्र होइनन्, उनीहरू एकअर्काका उत्प्रेरक पनि हुन् । जब चुरेको वन फँडानी र भू–संरचना विनाश हुन्छ, तब वर्षा पानीले जमिनमा प्रवेश गरेर भूजल पुनर्भरण गर्ने प्रक्रिया अवरुद्ध हुन्छ । त्यही पानी सतहबाट बगेर जान्छ, तराईमा जलको अभाव चुलिन्छ र पानीको अभावले कृषिमा खडेरी निम्तिन्छ । त्यत्तिमै सीमित छैन, जलवायु परिवर्तनले गर्दा हुने असमान वर्षा, वाष्पीकरण दरमा वृद्धिले झनै भयावह रूप लिन्छ । यसरी चुरे र तराईबीचको पारिस्थितिक सम्बन्ध बिग्रँदा, मानव, पशु, वनस्पति सबै प्रभावित भइरहेका छन् ।
४) खडेरी, धान, पुजापाठ र विज्ञानको टकराव
आजको दिनमा तराईका खेत सुक्खा छन्, धानका बिरुवा ओइलिएका छन्, र किसानका आँखामा निराशाका आँसु भरिएका छन् । वर्षा नपरेपछि कतै भ्यागुताको विवाह, कतै विभिन्न अनुष्ठान र पुजापाठ गरिन्छन् । मानिसहरू आशाको आडमा ईश्वरसँग प्रार्थना गर्छन्, भ्यागुतोको विवाह गर्छन् । तर यस्तो धार्मिक कर्मकाण्डले मौसम परिवर्तन हुन्छ, भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । वास्तवमा यस्ता गतिविधिहरू हाम्रा सामु उभिएको समस्याप्रति हाम्रो असहायता र निरुपायताको सूचक हुन्, समाधान होइनन् । पानी नपरेको कारण प्राकृतिक हो, त्यसकारण समाधानको बाटो केवल वैज्ञानिक सोच, योजना र व्यवहारिक प्रयासले मात्र देखाउन सक्छ ।
वैज्ञानिक मूल्याङ्कन र समाधानका सम्भावित उपायहरू
तराईको जल सङ्कट कुनै एकमात्र कारणको परिणाम होइन, बरु विभिन्न कारकहरूको संयुक्त प्रभाव हो । जलवायु परिवर्तन, चुरे विनाश, जल स्रोतहरूको दोहन, सिँचाइ प्रविधिको अभाव र नीति तहको ढिलाइ — यी सबै कारणहरू परस्पर जोडिएका छन् । त्यसैले समाधान पनि बहुआयामिक हुनुपर्छ । पहिलो, वर्षा पानी सङ्कलन प्रणाली जस्तै ‘रेन वाटर हार्भेस्टिङ’ प्रविधिको व्यापक प्रयोग गर्नुपर्छ । घरका छाना वा खुला जमिनबाट पानी जम्मा गरेर सोस्ने खाल्डा बनाई भूजल पुनर्भरण गर्न सकिन्छ । पिच र टायलले जमिन ढाक्ने अभ्यास घटाएर माटोलाई पानी सोस्ने वातावरण बनाउनुपर्छ ।
कृषिमा पनि सुधार आवश्यक छ । सुख्खा प्रतिरोधी बीउजस्तै “Sukha Dhan 1 ” वा “Sukha Dhan 3” प्रयोग गरी, बहुबाली खेती र छोटो अवधिमा तयार हुने बालीहरू लगाएर जोखिम घटाउन सकिन्छ । सिँचाइका लागि आधुनिक प्रविधि — जस्तै ड्रिप इरिगेसन वा स्प्रिंकलर प्रणालीले पानीको खपत घटाएर उत्पादकत्व बढाउन सहयोग पुर्याउँछन् । यस्ता प्रविधिहरू साना किसानहरूका लागि सुलभ बनाउन सरकारले सहुलियत योजनाहरू ल्याउनुपर्छ । साथै परम्परागत जलस्रोतहरु — जस्तै ताल, पोखरी, कुलो आदिको पुनःसंरचना र उपयोग पनि अत्यावश्यक छ ।
समाधानको अर्को महत्वपूर्ण पक्ष चेतना र नीति हो । पानीको सङ्कटलाई धार्मिक वा भाग्यसँग नजोडी वैज्ञानिक रूपमा बुझ्ने सामाजिक चेतना विकास गर्न आवश्यक छ । स्थानीय सरकार, कृषि सेवा केन्द्र, तथा अन्य सम्बन्धित निकायहरू बीच समन्वय गरी प्रविधि, जानकारी र सहजीकरणको प्रभावकारी ढंगले प्रसार हुनुपर्छ ।
६) दीर्घकालीन समाधान र भावी रणनीति
सङ्कटको दीर्घकालीन समाधान चुरे क्षेत्रको संरक्षणबाट सुरु हुन्छ । ढुंगा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतहरूको अनियन्त्रित उत्खननमा कडा प्रतिबन्ध लगाई, वैकल्पिक निर्माण सामग्री जस्तैः पुनःप्रक्रिया गरिएका aggregates jf compressed earth blocks को प्रयोगलाई प्रवद्र्धन गर्नुपर्छ । नीतिगत रुपमा वर्षाको पानी सङ्कलन र भू–जल पुनर्भरण सम्बन्धी प्रावधानहरूलाई बाध्यकारी बनाई कार्यान्वयन गर्न सकिन्छ । सरकारी कार्यालय, विद्यालय, अस्पतालजस्ता सार्वजनिक संरचनामा यस्तो प्रणाली अनिवार्य गरिनुपर्छ । साथै वन अतिक्रमण र अवैध कटानी नियन्त्रणमार्फत दिगो वातावरणीय प्रणालीको रक्षामा दीर्घकालीन काम गर्न सकिन्छ, जसले तराईको जल सङ्कट न्यून गर्न ठूलो भूमिका खेल्नेछ ।
निष्कर्ष
तराईको खडेरी, चुरेको सङ्कट र भूमिगत जलको गिरावट कुनै अलौकिक शक्ति वा भाग्यको खेल होइन । यो मानव निर्मित सङ्कट हो । निजी स्वार्थ पूर्तिका लागि प्रकृतिको चरम दोहन भएकै कारण यस्तो भयावह परिस्थिति निर्माण भएको हो । अझै पनि यदि हामी अन्धविश्वासको मार्ग पछ्याएर पुजापाठमा आशा गरिरह्यौं भने यो सङ्कट झन् गहिरिँदै जान्छ । तर यदि हामी विज्ञान, व्यवहारिक योजना र समुदायको सहभागितामा आधारित समाधानमा दृढ रह्यौं भने अहिलेको सङ्कटलाई सम्भावनामा बदल्न सकिन्छ । अब चुरे जोगाएर तराई बचाउने समय आएको छ । त्यसैले जलस्रोतको संरक्षण गर्दै दिगो विकासको पथमा अघि बढ्नु नै अहिलेको अपरिहार्य आबश्यकता हो ।