April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

कमरेड महावीरको सम्झनामा !

२०७९ मंसिर ९

3.4K

  • सन्दीप थापा

राजनीतिज्ञ एवं, मासको माझमा कुशल एवं चर्चीत सञ्चारकर्मीको छवि बनाएका महावीर विश्वकर्माले सवारी दुर्घटनामा ज्यान गुमाएको कुरा सामाजिक सञ्जाल हुँदै सञ्चार माध्यमसम्म फैलिएपश्चात यस पङ्क्तिकारको हृदयमा हठात सन्नाटा छायो। उनीसँग सामाजिक न्याय तथा संसदवाद विरोधी आन्दोलनको हिस्सा भएकाले पनि होला, उनको मृत्यु पत्याउनु सबैभन्दा गार्हो कुरा रह्यो । छाँगाबाट खसियो । कमरेड शतिशालको शब्द सापटी लिँदा “सत्यलाई पनि सत्य मान्न पहिलो पटक यति विग्न कठिन भयो कि मानौं म अझै कुनै अपृय सपनाकै ऐंठन भित्र अधिनस्थ छु । “हठात ! माईतिघरका आन्दोलनमा गुन्जिने “कमरेडलाई तनाव छ’’ मलाई महावीरले कविता सुनाइ रहेको सम्झना आयो, “जनहितमा जारी” कवितामा महावीरले ओकलेको प्रतिरोधी आवाज कानमा ठोक्कियो । कमरेड महावीरको पल्सर बाइकको पछाडी बसेर गरेका वातचितदेखि महावीरले निकाल्न खोजेको मुक्तक सङ्ग्रहसम्बन्धी भएको कुरा एकैपल्ट अनुशासनहीन तरिकाले मस्तिष्कमा फन्का लगाउन थाले। चरम स्तब्धता छायो ।

धेरै मान्छेहरू, अझ किशोर वय उमेरसमुहदेखी युवाहरूसम्मका निम्ति महावीर विश्वकर्मा चिर परिचित नाम हो । सामुदायिक सूचना नेट्वर्क सिआईएनबाट सञ्चालित रेडियो कार्यक्रम “बहकिने मन” ले उनलाई सञ्चारकर्मीको छविको रुपमा स्थापित गर्यो । उक्त कार्यक्रममार्फत उनी प्रेमका कुरा गर्थे, मिलन, बिछोड र सम्बन्धका आयामहरूबारे चर्चा गर्थे । पछिल्लो चरणका शृङ्खलासम्म आइपुग्दा प्रेमलाई उनले वर्गीय कोणबाट विश्लेषण गर्न थालेका थिए । असमानतासँग प्रेमको सम्बन्धलाई जोडेर मनलाई बहकाउने मात्र होइन, समाल्न र आवश्यकताअनुसार प्रतिरोध गर्न सक्ने विचार पर्गेल्दै थिए । समाजको ऐनालाइ बाँया कित्तामार्फत साहित्यिक रुपमै उधाङ्गो पार्न थाल्दै थिए ।

त्यही कार्यक्रमले उनलाई खास मुक्तककारको छविको रुपमा स्थापित गर्‍याे । उनी मुक्तकमै धेरै कुरा बताउँथे । कैयौँपल्ट मुक्तक सम्बन्धी नियमबारे कार्यक्रमबाटै प्रशिक्षण प्रदान गर्थे । बहकाउने कथामार्फत प्रेमको हुन्डरी चलाइदिन सक्नु उनको विशेषता थियो । पछी सो कार्यक्रम थाहा सञ्चारबाट प्रसारण हुन थाल्यो । २५० भन्दाबढी रेडियोबाट सोमबार साँझ ९ः१५ देखि प्रसारण हुने यो कार्यक्रम संभवतः नेपालभरी किशोर र युवा उमेर समुहका निम्ति सबैभन्दा लोकप्रिय कार्यक्रम थियो । उनकै प्रेरणाले कतिले मुक्तक लेख्न सुरुआत गरे, कतिले मुक्तक प्रकाशित पनि गरे, कतिपय मुक्तक वाचक र रेडियो प्रस्तोता पनि बने । तर महावीरको परिचय यतिमा सिमित छैन । उनी सञ्चारकर्मी थिए, यो उनको जीवनकालको अघिल्लो खण्डको परिचय हो । तन्नेरी तरुनीको मन बहकाउनु, बेतोडले मथिङ्ग हल्लाइदिनु र “जिन्दगी यो बाँच्नु न हो त्यत्ति भए पुगिहाल्छ”, भन्दै मुक्तकका हरफहरूबाट निराशावादी स्वर निकाल्नु उनको वर्तमानको परिचय थिएन र होइन ।

वर्तमानमा मुलतः उनी राजनीतिज्ञ थिए । सत्तासँग आँखा जुधाएर प्रश्न गर्ने आँट भएका जुजारू उर्जाशील प्रतिरोधी चेतनासहितका युवा थिए । पछिल्लो समय एक कुशल सङ्घठकको रुपमा नयाँ परिचय निर्माण गर्दै थिए । असमानता विरुद्ध बारुद पड्काउने परिवर्तनकारी यात्राका संवाहक थिए । कवि बलाराम तिमल्सिनाको कविताले भनेजस्तै वर्तमानमा उनी “बहकिने मनसँग खेल्ने बहकाऊने तन्नेरी थिएनन्, कम्युनिष्ट बन्न कस्सिदै गरेका सानो पावेल थिए । त्यो पनि संसदीय स्याल कम्युनिष्ट होइन क्रान्तिकारी लाल कम्युनिष्ट ।” यसर्थ उनको मुलभुत परिचय वर्गीय चेतसहितको राजनीतिज्ञको थियो जसको तुलना कवि बलराम तिमिल्सिनाले लेनिनको नेतृत्वमा सञ्चालित बोल्सेभिक आन्दोलनका अनुयायी म्याक्सिम गोर्कीको उपन्यास “आमा”का मुख्य पात्र, समाजवादी योद्दा पावेलसंग गरेका छन् ।

महावीर समाजवादी आन्दोलनलाई नयाँ सिराबाट उठाउन संभावित सुख सुविधाको जिन्दगीलाई रबरको डस्टबिनमा मिल्क्याएर भुइँमान्छेहरूसँग एकाकार हुने राजनैतिक आन्दोलनका पुर्णकालीन कार्यकर्ता थिए । उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य एवं जात व्यवस्था उन्मुलन मोर्चाका केन्द्रीय सचिव थिए । तर त्यो मात्र उनको परिचय थिएन । उनी रंगकर्मी थिए, नालापानी लगायतका सिनेमाहरूमा अभिनय गरेका पनि थिए । उनी मोडल पनि थिए, केही गीतहरूमा उनको अभिनय पनि थियो । उनी टेलिभिजन कार्यक्रमको निर्माण टिममा बसेर स्क्रिप्ट लेखनको काम पनि कुशलतापुर्वक संहाल्ने मान्छे थिए । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सञ्चालित ऐना कार्यक्रमका स्क्रिप्ट राइटर पनि महाविर नै थिए ।

नेपाली समाजलाई चिरा चिरा पारेर शासन सत्तालाई अनन्त दीर्घजीवन प्रदान गरिरहेको ब्रांहणवाद विरोधी, जात व्यवस्था विरोधी आन्दोलनमा उनको सशक्त उपस्थिति रहन्थ्यो । उनी कवि थिए, “भुइँमान्छेका दुखहरू बोल्ने मर्मस्पर्शी ओजनदार कविताहरू लेखेका थिए । उनी आफुले खाएका जागीरहरू त्यागेर, आफ्नो सेलिब्रेटी बन्ने महत्वकाङ्क्षालाई थाँती राखेर समाज परिवर्तनको हुटहुटी लिएर अगाडी बढे । नेपाली समाजमा रहेको अन्याय, थिचोमिचो, वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाद्वारा निर्मित असमानता अन्त्य गर्ने मार्गमा हिँडे । सबै प्रकारका असमानताहरू अन्त्य गर्ने वर्गीय आन्दोलनमा पाइला चाले । महिलामाथी युगौँ लामो अत्याचारमार्फत शोषणको एम्बुस बिछ्याएको पितृसत्ताको चिहान खन्ने अभियानमा लामबद्द बने ।

उनीसँग पुँजीवादी बजारमा बेच्नका निम्ति सुगठित शरीर थियो । जिम र कसरतले उनको बलिष्ठ शरीरको सुगठित स्वरुप कायम राखेको थियो । मानवीय प्रतिभालाई पैसामा किनेर नाफामा बेच्न हानथाप गरिरहेका धनपतिहरू उनको स्वर किन्न खोज्थे, तर महावीर हरेक कुरालाई बिकाउ मालको रुपमा परिणत गरिदिने बजारीया उपभोक्तावादका कट्टर आलोचक रहे । महावीरको फेसबुक पेजका फलोअर्सलाई आधार मान्ने हो भने पनि उनी सेलिब्रेटी थिए । तर कथित सेलिब्रेटीहरूजस्ता विचार बिहीन उनी थिएनन् । सामाजिक घटना र समस्याहरूमा मुखमा बुझो लगाएर बस्नु महाविरको चरित्र थिएन । अन्याय र अत्याचार बिरुद्ध महावीर बम बनेर पड्किन्थे । असमानता बिरुद्ध आगो ओकल्दा ओकल्दै उनको जिन्दगीको श्वासप्रश्वास सवारी दुर्घटनाले बन्द गरिदियो ।

पछिल्लो समय उनी सामाजिक न्यायको आन्दोलनका एक अग्रणी योद्दा थिए । अन्यायमा परेकाहरूको पक्षमा उनी निरन्तर बोल्थे , बेथितिमाथी प्रहार गर्थे । अन्तर्जातीय प्रेम गरेको अपराधमा नवराज विश्वकर्मा सहितका उनका साथीहरूलाई रुकुमपश्चिमको चौरजहारी सोतीमा कथित उच्च जातीय अहमधारीद्वारा दिइएको कुरुर आततायी मृत्युदण्डको बिरोधमा उनी आन्दोलित हुन्थे । कहिले मन्दीर पस्न खोज्दा मारिएका भिम विश्वकर्माहरूको न्यायको निम्ति आन्दोलित हुन्थे। प्रहरीको कालकोठरीमा निर्ममतापुर्वक मारिएका सुन्दर हरिजन देखि कोठा खोज्दा छुवाछुत खेप्नुपरेका रुपा सुनारहरूको पक्षमा निरन्तर महावीर सडकमै हुन्थे ।

कहिले रुवी खानहरूको आन्दोलनमा ऐक्यवद्दता जनाउँन माइतीघरमा धर्ना बस्थे, त कहिले एमसीसी बिरुद्धको आन्दोलनको अग्रपङ्क्तिमा विदेशी साम्राज्यवाद बिरुद्ध नारा लगाउँदै मुट्ठी कस्थे । कहिले नेहारिकाहरूको न्यायको निम्ति कुर्लिन्थे, कहिले मिटरब्याजी साहुले किसानहरूमाथी चलाएको लुटका बिरुद्ध विचारको फायर खोल्थे । कहिले “जनताले भोट दिए व्यवस्थाले महङ्गी” भन्दै कथित पुँजीवादी व्यवस्थाले आयोजना गरेको निर्वाचन तथा त्यसको प्रतिफलको रुपमा प्राप्त मुल्यवृद्धि बिरुद्ध संघठित रुपमा सडकमा उत्रिन्थे । भुईँमान्छेका दुःखहरूलाई अनुभुत गर्दै दुःखहरू अन्त्यको क्रान्तिकारी बाटोमा लाग्न उनी पङ्क्तिकार लगायतका युवाहरूलाई हर–हमेसा हौसाइरहन्थे । आफ्नो निम्ति जीवन त नालीको किराले पनि बाँच्छ, एकबारको जीवन त तमाम दुःखहरूको अन्त्यका निम्ति पो लगाउने त साथी भन्दै स्पष्ट विचार राख्ने र अरुलाई पनि यसैका निम्ति प्रोत्साहित गर्ने महावीर समाजको सुस्तरी सुधार होइन, जरैदेखी क्रान्तिकारी रुपान्त्रण गर्नुपर्ने विचारमा पछिल्लोपल्ट दृढतापुर्वक अविचलित थिए ।

यो समाजलाई मान्छे बाँच्न लायक बनाउन आफुले जिन्दगी अर्पिने प्रतिबद्दता सामाजिक सञ्जालमा दोहोर्याइरहेका महावीर भने अब कहिल्यै माइतिघरको आन्दोलनमा दोहोरिने छैनन्, बसन्तपुरको निर्वाचन बहिष्कार गर्ने टोलीमा देखिने छैनन् । एमसीसी बिरुद्ध वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको झण्डा उचाल्दै नयाँ बानेश्वरको जुलुसमा पनि उनको उपस्थिति हुने छैन । न त उनको ताजा आवाज बहकिने मन बनेर कुनै रेडियोबाट गुन्जिनेछ, न अब महावीरका दर्बिला हातसँग ह्यान्ड सेक गर्ने मौका यस पङ्क्तिकारलाई मिल्नेछ । तर उनको स्मरण र सम्झना सधै रहनेछ । सामाजिक न्यायका पक्षमा लड्न उनले दिएको हौसला हर–हमेसा रहनेछ । पलशाहलाई यौन दुव्र्यवहारको आरोप लाग्दा होस् वा सन्दीप लामिछाने माथी जवर्जस्ती करणीको उजुरी पर्दा होस्, उनी निरन्तर रुपमा सर्भाइभर पिडितको पक्षबाट बोलिरहे । सबै प्रकारका धार्मिक अन्धताबाट मुक्त हुँदै भौतिकवादी बाटोबाट सम्पुर्ण उत्पीडितहरूको समग्र मुक्तिको खोजीमा निर्णायक आन्दोलन निर्माण गर्ने सङ्कल्प गरेका महावीर भौतिक रुपमा अहिले हामीसँग छैनन् ।

यस पङ्क्तिकारको महावीरसँगको दोहोरो चिनापर्ची र सङ्गत करिव दुई वर्षको मात्र रहन पुग्यो । जोशिलो आवाजमा “कमरेड हात मिलाऔँ है” भन्दै कसिलोसँग ह्यान्ड सेक गर्ने महावीरका हातहरूसँग यी हातहरूको अन्तिम साक्षात्कार संसदीय व्यवस्था र जात व्यवस्था उन्मुलनको प्रश्न विषयिक अन्तरक्रिया कार्यक्रमको दिन रहन पुग्यो । कमरेड महावीर अध्ययनशील थिए, अध्ययनका निम्ति प्रोत्साहित गरिरहन्थे । पछिल्लो पटक उनले यस पङ्क्तिकारलाई निनु चापागाइँको पुस्तक ‘गीताको गाँठो’ र प्रा. रामशरण शर्मा को ‘शुद्रोँका प्राचिन इतिहाँस’ नामक पुस्तक पढ्न सिफारिस गरेका थिए, उनले पठाएको ‘शुद्रोँका प्राचीन इतिहाँस’ पुस्तकको डिजिटल प्रति इमेलमा अहिले पनि सुरक्षित नै छ । भेट हुँदा कहिले कसो सोधिहाल्थे, ‘कमरेड पुस्तक सकाइयो त ?’ तर अपसोस, रामशरण शर्माको पुस्तक पढेर सकाएपश्चात पुस्तक चर्चा गर्नुपर्छ भनेर बनाएको योजना पुरा हुन पाएन कारण यस पङ्क्तिकारले उक्त पुस्तक पढेर सक्न नपाउँदै प्राणहीन औजारको चेपुवामा परेर महावीरको गतिशील जीवनको इन्जिन चल्न बन्द भयो ।

उनीसँग थाहायात्रा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको कार्यालय अनामनगरमा बसेर धेरै पल्ट लामै कुरा भएका छन्, विगत र भविष्यबारे योजना बनेका छन् । पछिल्लो समय उनी आफ्नो बहकिने मनको विगतको शैली प्रति सन्तुष्ट थिएनन् । कुराकानीका क्रममा उनले बताएका थिए, विगतको बहकिने मनमा मान्छेको मन बहकाउने मात्र काम गरियो, अब त्यही कार्यक्रमलाई युवाहरूको बीचमा विचार निर्माणको अस्त्र बनाउँछु । समाजका अन्याय र असमानताहरू चिन्न र त्यसबिरुद्ध आन्दोलित हुने क्रान्तिकारी जत्था पो निर्माण गर्नुपर्दो रहेछ त । उनी वर्गीय चिन्तन सहितका मान्छे थिए । समाजमा वर्गहरू छन् र तिनीहरूबीच निरन्तर अन्तरबिरोध र अन्तरसङ्घर्ष हुन्छ भने सचेत व्यक्तिले कुनै एउटा वर्गको पक्षधरता लिनु अपरिहार्य छ भन्ने उनको मत थियो । वर्गयुक्त समाजमा एउटै मान्छे, यदी सबै अर्थात शोषक र शोषित दुबैको प्रिय हुन खोजिन्छ भने त्यो त दोग्ला चरित्र पो हो त भन्दै मान्छेलाई वर्गीय पक्षधरता अङ्गाल्न उत्साहित गर्थे ।

एकैपल्ट शोषक र शोषित दुवैको प्रिय हुन खोज्नु कसरी ठिक हुन सक्छ भन्दै उनी निरन्तर प्रश्न गर्थे ? सबैको प्रिय बन्न खोज्नु ठिक होइन भन्दै बहुसङ्ख्यक उत्पीडित भुइँमान्छेहरूको पो प्रिय बन्ने त भन्ने कुरामा अडिग थिए, त्यही अनुसार विचार प्रवाह गर्थे । उनले व्यक्त गरेका विचारहरू छरप्रस्ट रुपमा उनको सामाजिक सञ्जाल फेसबुकमा अहिले पनि भेट्न सकिन्छ । धर्मसत्ताले थोपरेको जात व्यवस्था, पितृसत्ता लगायतका असमानता माथि निरन्तर प्रहार गरेकै कारण सामाजिक सञ्जालमा उनीबिरुद्ध कुर्लिनेको डफ्फा पनि सानो थिएन । डलरे, क्रिस्चियन मिसनरी लगायतका ट्यागको प्रवाह नगरी महावीरले धार्मिक आडम्बर बिरुद्ध सही भौतिकवादी वैज्ञानिक चेतनासहित प्रहार गरिरहे । उनी भौतिकवादी थिए, इश्वर, स्वर्ग वा नर्कमा एक इमान्दार कम्युनिस्ट कार्यकर्ता र विज्ञानसंवत मत अङ्गाल्ने व्यक्तिको हैसियतले पनि उनको विश्वास हुने कुरा थिएन । मृतक मान्छेहरूमाथि कम्युनिस्टहरूले समेत श्रद्धाञ्जली अर्पण गर्ने परिपाटीका पनि उनी पछिल्लो चरणमा आलोचककै रुपमा देखिन्थे । मृत मान्छे जसले लिने क्षमता गुमाइसकेको हुन्छ, उनलाई किन श्रद्धाञ्जली दिने ? मृतकको त स्मरण पो गर्ने त भन्ने उनी लगायतका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी समर्थकहरूको मत थियो यो ।

यद्यपी उनको जीवनभरी निरन्तर डलरे र क्रिश्चियन मिसनरीको ट्याग झुन्ड्याउने, प्रतिक्रिया खण्डमा निरन्तर अपशब्दको वर्षात गर्ने धर्मको ठेक्का पट्टा संहालेका कथित धर्मात्मा ठालुदारहरूले उनको मृत्युपश्चात महावीरको आत्माको चिर शान्तिको कामना, रेस्ट इन् पिस र बैकुन्ठमा बास होस् वाला फण्डाहरू गरिरहेका छन् । आत्माको अस्तित्वलाई खारेज गर्ने, स्वर्ग नर्कको अवधारणा अस्विकार गर्ने, कर्मफलवाद र भाग्यवादी सिद्धान्तलाई नमान्ने महावीरमाथि केही धार्मिक पाखण्डीहरूले चलाएको यो धार्मिक प्रोपोगान्डाले उनी हिँडेको बाटोको साँचो अर्थमा कदर गर्दैन । उनको विचार नबुझेकाले, केवल उनको सञ्चारकर्मबाट मात्र परिचितहरूले उनलाई रिप भन्नु एउटा कुरा, तर उनी माक्र्सवादको पथ प्रदर्शनमा पाइला चालिरहेका भौतिकवादी थिए भन्ने जानीजानी उनलाई कथित भगवानको घरमा बास दिन माग गर्नु सरासर महावीरको अपमान गर्नु हो । महावीरलाई साँचो अर्थमा नबुझ्नु हो र उनी हिँडेको बाटोलाई मजाक उडाउँदै उनीप्रति असहिष्णु हुनु हो ।

महावीरको मृत्यु भएको थिएन, बरू यो दलाल व्यवस्थाले उनको हत्या गरेको थियो । दुर्घटना भएको दुई घण्टासम्म उद्धार नगरी उपचारबाट बिमुख पारिएपछी बाँच्न सक्ने अवस्थाका व्यक्ति पनि मृत्युशैयामा पुगे । निरन्तर सडक सङ्घर्षमा क्रान्तिकारी झण्डा उचालिरहने महावीर सडकमै जीवनसंग सङ्घर्ष गर्दागर्दै जिन्दगीको यात्रालाई बिट मार्न पुगे । महावीरको मृत्युले संसदवाद बिरोधी, जात व्यवस्था बिरोधी सामाजिक न्याय सहितको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा गंभिर धक्का लागेको छ । लेखक सुमिनाले भनेजस्तै “विभेद असमानता अन्याय र अत्याचारले थिलोथिलो पारेको समाजमा प्रतिवादको मशाल सल्काउदा सल्काउदै विद्रोहको एउटा भर्भराउँदो चिङ्गारी निभेको छ ! प्रतिक्रान्तिको हुन्डरी चलेको बेला क्रान्तिको बीउ जोगाउन मुस्किल परिरहेको संक्रमित समयमा विचारलाई दरिलो गरि समाउन खोजिरहेको एउटा उदयमान खम्बा भाँचिएको छ ! । शक्ति र सामर्थसँग नतमस्तक भएर कथित बौद्धिकहरू मौनता सांदि तटस्थ बसेको बेला लोकप्रियताको प्रबाह नगरी गाली र सामुहिक आक्रमणहरूको बाबजुद निरन्तर खराब विचारको प्रतिवाद गरिरहने एउटा विद्रोही अस्ताएको छ ।”

सामाजिक न्यायका मौलिक सवाल र मुद्धाहरूमा यस पङ्क्तिकारको जे जति विचार निर्माण भएको छ, त्यसमा जग हाल्ने काम कमरेड महावीर विश्वकर्माले पनि गरेका थिए । प्रिय कमरेड महावीर, हामीले देखेको मुक्तिको, बिभेदरहित समाजको र भुइँमान्छेको व्यवस्था निर्माणको साझा सपना पुरा गर्नका निम्ति हामी पनि हाम्रो ज्यान लगाउन तयार छौँ लगाउँछौँ । जब हामी थाक्न खोजौँला, तब तिम्रा जोशिला कविताहरूको रेकर्ड बजाउँदै नयाँ उर्जा भरौँला ज्यानमा, तिम्रा उर्जाशील विचार र तस्बीरहरू स्मरण गरौँला अनि कुँदौँला, अन्यायलाई परास्त गर्ने फाइनल म्याचमा । तिमी निभ्यौ, तर सयौँ चिङ्गारीहरू सल्काएर गएका छौ । हामीले यी स–साना लाप्काहरूलाई मुस्लो बनाएर यो पाजी व्यवस्थालाई डढेलो लगाउनु छ ।

प्रिय कमरेड ! तिम्रो स्मरणसँगै पञ्जावी कवि अवतार सिंह संधू पाशको “हम लड़ेंगे साथी” कविताका केही हरफहरूमनमनै दोहोराइरहेछु, दोहोराइरहेछु ।

हम लड़ेंगे साथी, उदास मौसम के लिए
हम लड़ेंगे साथी, ग़ुलाम इच्छाओं के लिए
हम चुनेंगे साथी, ज़िन्दगी के टुकड़े

हथौड़ा अब भी चलता है, उदास निहाई पर
हल अब भी चलता हैं चीख़ती धरती पर
यह काम हमारा नहीं बनता है, सवाल नाचता है
सवाल के कन्धों पर चढ़कर
हम लड़ेंगे साथी

क़त्ल हुए जज़्बों की क़सम खाकर
बुझी हुई नज़रों की क़सम खाकर
हाथों पर पड़े गाँठों की क़सम खाकर
हम लड़ेंगे साथी

हम लड़ेंगे तब तक
जब तक वीरू बकरिहा
बकरियों का पेशाब पीता है
खिले हुए सरसों के फूल को
जब तक बोने वाले ख़ुद नहीं सूँघते
कि सूजी आँखों वाली
गाँव की अध्यापिका का पति जब तक
युद्ध से लौट नहीं आता

जब तक पुलिस के सिपाही
अपने भाइयों का गला घोंटने को मज़बूर हैं
कि दफ़्तरों के बाबू
जब तक लिखते हैं लहू से अक्षर

हम लड़ेंगे जब तक
दुनिया में लड़ने की ज़रूरत बाक़ी है
जब बन्दूक न हुई, तब तलवार होगी
जब तलवार न हुई, लड़ने की लगन होगी
लड़ने का ढंग न हुआ, लड़ने की ज़रूरत होगी

और हम लड़ेंगे साथी
हम लड़ेंगे
कि लड़े बग़ैर कुछ नहीं मिलता
हम लड़ेंगे
कि अब तक लड़े क्यों नहीं
हम लड़ेंगे
अपनी सज़ा कबूलने के लिए
लड़ते हुए मर जाने वाले की
याद ज़िन्दा रखने के लिए
हम लड़ेंगे

र फेरी अन्त्यमा, उनै पासको कवितांश दोहोर्याउँछु,लड्दालड्दै मरि जानेहरूको याद ज्युँदै राख्नका लागी हामी लड्नेछौँ ।

महावीर विश्वकर्माको दुर्घटनामा परी निधन