April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गगन थापालाई बहसको निम्तो !

२०७८ फाल्गुन १७

2.1K

  • मनोज खतिवडा

 

प्रिय गगन थापा,

१६ फागुनको प्रतिनिधिसभा बैठकबाट तपाईँले जोडदार घोषणा गर्नुभयो—‘म राष्ट्रवादी होइन देशभक्त हुँ । राष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्रवादी आफ्नो नारामा मान्छेलाई मर्नका लागि उचाल्छ, मान्छे मार्न तयार हुन्छ । नक्कली राष्ट्रवादी र देशभक्तको फरक संसदमा पनि थाहा पाउनुपर्छ, सडकमा पनि थाहा पाउनुपर्छ ।’ म तपाईँको भनाइमा शतप्रतिशत सहमत छु । धार्मिकता पछाडि मान्छेलाई मार्न र मर्न उद्धेलित गर्ने प्रभावकारी हतियार हो, राष्ट्रवाद । लेखक जुगल भुर्तेलले रुसी साहित्यकार मिखाइल झ्वानेच्कीको एउटा भनाइ ट्वीट गर्नुभएको छ—‘हामीले अरुभन्दा निम्नकोटीको जीवन किन बाँच्ने भनेर अत्यन्त प्रष्ट, सरल र तर्कपूर्ण ढंगले बुझाउने सिद्धान्त हो,राष्ट्रवाद ।’ अरुलाई घृणा, तिरस्कार र अपमान गरेरमात्रै राष्ट्रवाद झाङ्गिन्छ । नेपालमा त हिनता, रुवाबासी, षड्यन्त्र सिद्धान्त, देशभित्रै अन्य समुदाय र लैङ्गिकतालाई घृणा गरेपछि मात्रै राष्ट्रवादको वृक्षले विशाल आकार ग्रहण गर्छ । तपाईँले भन्नुभएजस्तो राष्ट्रवादको नक्कली आवरण भने पाइँदैन, जे जस्तो देखिएको छ सक्कली राष्ट्रवाद त्यही नै हो ।

म तपाईँजस्तो देशभक्त पनि होइन किनभने म भक्तिको संस्कारमा विश्वास गर्दिन । अरु कसैप्रति भक्ति नराख्ने मैले देशप्रति भक्ति राख्नुपर्ने कुनै कारण छैन । अप्राकृतिक भौगोलिक सिमानाले मान्छेको क्षमता, प्रतिभा र सृजनशीलतालाई कुण्ठित गर्छ भन्ने धारणा राख्ने मैले आफूलाई देशप्रेमी भन्न रुचाउँछु । टाढैबाट हेर्दा आफन्तजस्तै देखिन्छ देश । आम मान्छेका सुखदुख, अन्तरक्रिया, चिहानचौतारी, सामुहिक स्मृति, प्रणयस्थल, सामुहिक कल्पनाशिलता, मिथ, कथाजस्ता तत्वले बनेको हुन्छ देश । राष्ट्रवाद अहंकार र घृणाले बनेको हुन्छ भने देशप्रेम आफूले गरेका अन्तरक्रियाको अनन्त विस्तारले बनेको हुन्छ । त्यसैले म आपूmलाई देशप्रेमी ठान्छु ।

अब मैले जुन विषयमा तपाईँसँग बहस गर्दैछु, त्यसलाई तपाईँले उग्रराष्ट्रवादी भाष्य भनेर ठाडै अस्विकार गर्नुहुन्छ भन्ने विश्वाससहित यति लामो प्रष्टिकरण दिनुपरेको हो । अहिले एमसिसी विरुद्धमा उठेका सबै आवाजलाई उदारवादको मुखौटा लाएका एकथरी अनुदारवादी तथा असहिष्णु जमातले उग्रराष्ट्रवादी विचार भनेर खारेज गरिरहेका छन् । उनीहरूले एमसिसीविरुद्धमा लेख्ने, बोल्ने र लड्ने सबैलाई भीम रावल देखिरहेका छन् । प्रसस्तै अनियमितता, छलकपट र नेपालभित्रका आन्तरिक मामिलालाई गिजोल्ने कार्यमा उस्ताद भीम रावल कहिल्यैपनि मेरा आदर्श राजनीतिज्ञ होइनन् ।

प्रिय गगन थापा, हामीले यो यात्रामा पायौँचाहिँ के ?एउटा लाचार, पराजित र पराश्रित देश ! वैदेशिक सहायताको उत्कर्षमा नेपाली समाजले तपाईँलाई पायो । विदेशीले नै बनाइदिएको संसद भवनभित्र विदेशीले नै हालिदिएको कुर्सी छेउ उभिएर तपाईँले गर्जन गर्नुभएको छ—‘अमेरिकाले ६० अर्ब दियो, चीनसँग ७० अर्ब मागौँ, भारतसँग ८० अर्ब मागौँ ।’ विकासको गगन थापा मोडल यहि हो, जतिसक्दो मागौँ र माग्दै हिँडौँ । एकजनाले मागेर आउँदैन भने लाइन लागेर मागौँ, एउटा पार्टीले मागेर पुग्दैन भने सबै पार्टी मिलेर मागौँ ! तपाईँ मेरो पुस्तालाई शासन गर्न शिर उठाइरहेको जाज्वल्यमान युवा नेता ! तपाईँको सिर्जनशीलता, तपाईँको कल्पनाशिलता र तपाईँको समुच्च निश्कर्ष जम्मा एउटै हो, चौतर्फी मागौँ र देश विकास गरौँ ।

एकथरी उग्रराष्ट्रवादीले शुन्य आकासमा एकाएक अवतरित भएको प्रकरण जस्तैगरी एमसिसीको चर्चा गरिरहेका छन् । एमसिसी नेपालमा अमेरिकी सेना आउँछ भन्नेजस्तो सपाट विषय हुँदै होइन । यो त नेपालमा सात दशकयता धुमधाम चलिरहेको वैदेशिक अनुदान तथा ऋणको पछिल्लो अध्यायमात्रै हो । त्यसैले एमसिसीको छलफलको प्रस्थानविन्दु वैदेशिक अनुदान तथा ऋणको राजनीतिलाई नै बनाउनुपर्छ । एमसिसीको भुराजनीतिक आयाम जरुर छ त्यसका अलावा विकासको मोडल, उत्पीडित राष्ट्रमाथि साम्राज्यवादले गर्ने हस्तक्षेप, त्यसको अर्थ राजनीतिक तथा सामाजिक÷सांस्कृतिक प्रभाव, उदारिकरण र निजीकरणको दुष्प्रभाव साथै हाम्रो अतृप्त विकास आकांक्षाजस्ता विषय वैदेशिक ऋण तथा अनुदानसँग प्रत्यक्ष जोडिन्छन् । वैदेशिक अनुदान तथा ऋण तपाईँ र तपाईँ वरपरका ‘विज्ञ’ ले सोचेजस्तो अविकसित राष्ट्र गरिबीको दुष्चक्रमा प¥यो भनेर करुणा र दयामायाका साथ आएको होइन । वैदेशिक अनुदान र ऋणको पनि आफ्नै दिक्—काल छ, ऐतिहासिक सन्दर्भ छ र त्यसमाथि प्रशस्तै सैद्धान्तिक—राजनीतिक बहस भएको छ । शितयुद्धको सुरुमा नै दुईधु्रवमा बाँडिएको विश्वमा आप्mनो पकड र प्रभाव विस्तार गर्न वैदेशिक अनुदान र ऋण दिन थालियो । तर, विश्वयुद्धको अन्त्यपछि भौगोलिक औपनिवेशको समय मुलतः अन्त्य भयो । अमेरिकाको पकडमा रहेको एक धु्रवीय विश्वलाई नयाँ तरिकाले उपनिवेशिकरणको प्रकृयामा लैजान ऋण तथा अनुदानलाई व्यापक रूपमा फैलाइयो । अमेरिकाले आप्mनो अर्थराजनीतिक तथा सामाजिक÷सांस्कृतिक प्रभुत्व विस्तार गर्न प्रयोग गरेको सबैभन्दा शक्तिशाली तथा प्रभावकारी हतियार नै वैदेशिक सहायतासावित भएको छ । एक शब्दमा भन्दा अविकसित तथा अल्पविकसित देशलाई दाताको नियन्त्रणमा ‘विकासको बाटो देखाउने’ प्रोजेक्ट नै वैदेशिक अनुदान तथा ऋणको प्रोजेक्ट हो ।

वैदेशिक अनुदानका विषय आउँदा नछुटाइ लिने नाम हो, पूर्व अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान । २० जनवरी १९४९ मा उनले ‘पोइन्ट फोर प्रोगाम’ घोषणा गरे । चार बुंदे घोषणाको चौथो नम्बर बुंदामा तथाकथित ‘अन्डरडेभलप्ड’ देशलाई ‘शान्ति र स्वतन्त्रता’ हासिल गर्न सघाउने शर्तमा वैदेशिक सहायता घोषणा गरिएको थियो । नेपालले २००७ मा ‘प्रजातन्त्र’ प्राप्त गर्नुभन्दा केहि महिनाअघि पहिलोपटक प्राप्त गरेको वैदेशिक सहायता यहि ‘पोइन्ट फोर प्रोग्राम’ अन्तर्गत नै थियो । ह्यारी ट्रुम्यानको घोषणा कुन अर्थमा पनि महत्वपूर्ण थियो भने उनले कार्यक्रम घोषणा गर्नअघि अविकसित भन्ने प्रचलन त थियो तर ‘अन्डरडेभलप्ड’ भन्ने शब्दले त्यसपछि नै व्यापकता पाएको थियो । कुनैपनि देश अविकसित हुनु र ‘अन्डरडेभलप्ड’ हुनुका पछाडि तात्विक रूपमै भिन्नता छ । कुनैपनि देश ‘अन्डरडेभलप्ड’ पुँजिवादी विश्व अर्थतन्त्रअन्तर्गत मात्रै हुन्छ ।

विकास सहायता अन्तर्गत पुँजिवादी अर्थतन्त्रमाथि शक्तिशाली सैद्धान्तिक प्रतिवाद १९७० को दशकमा ल्याटिन अमेरिकाले ग¥यो । गगन थापाले संसदमा महिमामण्डन गरेको वैदेशिक अनुदानले १९६० को दशकमै ल्याटिन अमेरिकालाई तवाह गरिसकेको थियो ।वैदेशिक सहायताले ल्याटिन अमेरिकामा बेरोजगारी, असमानता, विभेद, गरिबी र दुखको लगातार पुनरुत्पादन गरिरह्यो । नेपालको सत्तरी वर्षको कटु अनुभव र ल्याटिन अमेरिकाको अनुभव एउटै हो— तथाकथित तेश्रो विश्वमा निर्यात गरिएको वैदेशिक सहायताको सत्ताले कुनैपनि देशलाई पराश्रित, लाचार र उजाड बनाएर त्यहाँको श्रोतसाधनमाथि एकलौटी रजाइँ गरेको प्रमाण कतै छिपेको छैन । वैदेशिक सहायताको अन्तर्यमा नै अविकसित राष्ट्रलाई पुँजिवादी आर्थिक संरचनाभित्र छिराएर निर्मम शोषण गर्नु रहेको छ । विकास सहायताका नाममा ऋण र पुँजी जति लगानी गरिएको हुन्छ त्यसभन्दा बढि नाफा लिएर फर्किन्छन् पुँजिवादी राष्ट्रहरू र त्यसका बग्रेल्ती तथ्यांक आजको प्रविधि युगमा छरपस्ट पाइन्छन् । एकाधिकारयुक्त अन्तर्राष्ट्रिय पुँजिवादी बजारमा प्रविधिका निम्ति अविकसित देशले प्याटेन्ट राइट लिएका ठूला कम्पनीहरूसँग निर्भर हुनुपर्छ । प्रविधिको डरलाग्दो एकाधिकारले कहिल्यै स्थानीय बजार र स्थानीय पुँजिपतिलाई टिक्न दिँदैनन् ।

प्रिय गगन थापा,
अमेरिकन लेखक, अभियन्ता तथा राजनीतिज्ञ रोन पाउलले वैदेशिक सहायतामाथि कतै टिप्पणी गरेका थिए—वैदेशिक सहायता भनेको धनी देशका गरिबबाट लिइएको पैसा गरिब देशका धनीलाई दिनु हो । अत्यन्त थोरै मान्छे लाभान्वित हुने यो प्रोजेक्टले आजसम्म नेपाललाई के दियो त ? युवा जनशक्ति सोहोरिएर विकसित देशतर्फ प्रवाहित भयो । हाम्रा वस्तीहरू रित्ता भए र बुढ्यौलीमा स्याहार पाउनुपर्ने ज्येष्ठ नागरिकले बिरामी हुँदा तातोपानीसमेत नपाइ ओछ्यानमै छट्पटिनुपरेको छ । हरेक दिन एयरपोर्टमा भर्भराउँदा युवा भरिएका राता कफिनहरू झरिरहेका छन् । राज्यले लगानी गरेर तयार पारेका योग्य मष्तिस्कहरू लगातार पलायन भइरहेका छन् । दुर गाउँका घना जंगलमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाका बोतल र रित्तिएका चाउचाउका खोल भेटिन्छन् । हजारौँ वर्ष पुराना आदिवासी ज्ञान, संस्कृती र भाषाको लगातार मासिइरहेका छन् । निजिकरणका नाममा गरिबीको सामुदायिकरण र नाफाको मुट्ठीभर मान्छेका हातमा निजिकरण भइरहेको छ । स्थानीय बजार,रैथाने उत्पादन र रैथाने उत्पादकहरू क्षतविक्षत पारिएका छन् । असमान सन्धी र सम्झौताको थेग्न नसक्ने बोझ हाम्रो काँधमा झुण्डिएको छ । प्रविधि, मेसिन र ज्ञानको लगाम लगानीकर्ताकै ‘कमान्ड’मा छ । वैदेशिक सहायताका कतिपय अध्येताले यसलाई असाध्यै नाफामुखी लगानी भनेका छन् र हाम्रै अनुभवले त्यसलाई पुष्टि गरिरहेको छ, सहायता रकम जसले दियो, अन्तिममा फर्किएर उसैको हातमा गइरहेको छ । खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्ने नाममा हामीले असाध्यै असभ्य, चेतनाहिन र फोहोरी ठान्दै दिसापिसाब ढंग पु¥याएर गर्न हात पसारिरहेका छौँ ।

प्रिय गगन थापा, हामीले यो यात्रामा पायौँचाहिँ के ?एउटा लाचार, पराजित र पराश्रित देश ! वैदेशिक सहायताको उत्कर्षमा नेपाली समाजले तपाईँलाई पायो । विदेशीले नै बनाइदिएको संसद भवनभित्र विदेशीले नै हालिदिएको कुर्सी छेउ उभिएर तपाईँले गर्जन गर्नुभएको छ—‘अमेरिकाले ६० अर्ब दियो, चीनसँग ७० अर्ब मागौँ, भारतसँग ८० अर्ब मागौँ ।’ विकासको गगन थापा मोडल यहि हो, जतिसक्दो मागौँ र माग्दै हिँडौँ । एकजनाले मागेर आउँदैन भने लाइन लागेर मागौँ, एउटा पार्टीले मागेर पुग्दैन भने सबै पार्टी मिलेर मागौँ ! तपाईँ मेरो पुस्तालाई शासन गर्न शिर उठाइरहेको जाज्वल्यमान युवा नेता ! तपाईँको सिर्जनशीलता, तपाईँको कल्पनाशिलता र तपाईँको समुच्च निश्कर्ष जम्मा एउटै हो, चौतर्फी मागौँ र देश विकास गरौँ । यो देशले नयाँ थिति पाउँछ, देशभित्रै युवाहरूले भविष्य पाउँछन् भनेर हिजो लाखौं युवाहरू जनआन्दोलनमा लडे, जनयुद्धमा लडे, अरु अनेक जनसंघर्षमा लडे । तपाईं पनि त्यसैमध्यको सडक आन्दोलनबाट उठेर संसदमा पुग्नुभएको हो । तर, आज तपाईं सदनमा उभिएर ‘मागौं है मागौं’ भनिरहनुभएको छ । तर, तपाईंले जस्तै आन्दोलन र युद्धमा लडेको यो देशको झण्डै एकतिहाइ जनसंख्या परदेशमा गएर खुनपसिना बगाउन किन विवश छ ? तपाईंजस्ता एकदुई जना युवाहरू शासक बन्ने लहरमा पुगेर ‘देशभक्तिको पाठ’ सिकाउँदै ‘मागौं मागौं’ भनिरहनुभएको छ, तर लाखौं श्रमजीवी युवाहरूलाई विदेश धपाउने नीति यो देशमा अझै किन प्रवद्र्धित छ ?

यी तथ्यले नै तपाईंलाई प्रश्न गरिरहेका छन्– चौतर्फी माग्ने मोडेलको ब्लुप्रिन्ट बोक्ने तपाईँले गर्न खोजेको विकास कस्तो हो ? तपाईँले कुनकुन कुरालाई ‘विकास’ भन्न खोज्नुभएको हो ? यसबारे पनि तपाईंको विचार प्रतिनिधिसभाको बैठकमा एक शब्दमा व्यक्त भएको छ जुन बुझ्नलाई काफी छ । तपाईं पुर्वाधार विकासलाई नै आर्थिक विकासका रूपमा परिभाषित गर्नुहुन्छ र त्यसका लागि बाह्य श्रोतको पैरवी गर्नुहुन्छ । वैदेशिक लगानी, ऋण वा अनुदानको प्रसंग आउँदा सधैँ पूर्वाधार अगाडि आउने गर्दछ । पूर्वाधारमा पनि सडक अन्तर्राष्ट्रिय दाताका लागि आकर्षक क्षेत्र हो किनभने लगानीको ९० प्रतिशत रकम उतै फर्केर जान्छ(टोनी हागन) । अहिले एमसिसी परियोजनाअन्तर्गत सडक निर्माणसमेत रहेको तथ्य यहाँ स्मरणीय छ । वैदेशिक सहायतामा दाताको ध्यान पूर्वाधारमा सधैँ नै केन्द्रीत हुने गरेको छ र विकासको पूर्वाधार केन्द्रीत मोडल पुरानो र लगभग थोत्रो भैसकेको परम्परागत मोडेल हो । ठूलाठूला पूर्वाधार बनाएपछि विकास हुन्छ भन्ने यो मोडलको केन्द्रमा मान्छे होइन पूर्वाधार छ । कुल ग्राहस्र्थ उत्पादन र प्रतिव्यक्ति आयमा हुने वृद्धिलाई नै यसले विकासको अन्तिम लक्ष्य मान्ने गरेको छ ।

तर, संसारमा भएका विकास बहसहरूले यो पूर्वाधार केन्द्रीत विकास मोडेललाई आजभन्दा तीन दशकअघि नै चुनौति पेस गरिसकेका छन् । अहिले नेपालका हरिया डाँडालाई राताम्मे बनाउँदै पहाडमा अन्धाधुन्ध कुदिरहेका डोजर तपाईंले पैरवी गरेको ‘विकास’ का उत्कृष्ट उदाहरण हुन् । विकास कुनै प्राचिन आदिवासी वस्तीमा डोजर कुदाउनुमात्रै होइन । नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनले स्वतन्त्रतालाई विकासका रूपमा परिभाषित गर्दै सर्वपक्षीय मानव विकासको पैरवी गर्छन् । त्यसैले आजको दुनियाँमा विदेशी सहायता मागेर ठूल्ठूला पूर्वाधार बनाउनु विकास होइन, मान्छे स्वस्थ र स्वच्छ प्रकृतिमा बस्न पाउनु बरु खास विकास हो । मान्छेमाथि हुने शासन र शोषणका संरचना भत्काउनु विकास हो । महिलाले पुरुष समान अवसर पाउनु विकास हो । आप्mनो आदिम थातथलोमाथि हक प्राप्त गर्नु विकास हो । मान्छेमाथिका सबै शोषण र उत्पीडनको अन्त्यका लागि पाइला चाल्नु विकास हो ।

मान्छेमाथि हुने असमानता र विभेदविरुद्ध राज्यले नै हस्तक्षेपकारी पहल लिएर समृद्धी प्राप्त गर्न सकिन्छ भन्ने विकासको एउटा मोडेल हाम्रै छिमेकी भारतको केरला राज्यले प्रस्तुत गरेको छ । कथित तेश्रो विश्वको विकासमा कम्युनिस्ट पार्टीमार्फत केरलाले प्रस्तुत गरेको मोडेललाई प्रशंसा गरिन्छ । शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गरेर पूर्ण साक्षरताको स्थितीमा पु¥याएको छ भने शिशु मृत्युदर उल्लेख्य रूपमा घटाएको छ । नागरिकको स्वास्थ्यमा उल्लेख्य पहुँच छ । विकास कार्यमा नागरिकको व्यापक सहभागीता सुनिश्चित गरेर केरलाले विगत ३० वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । श्रोतसाधनको पुनर्वितरण गरी न्यायपूर्ण विकासको एउटा वैकल्पिक मोडेल केरलाले कथित तेश्रो विश्वलाई दिएको छ । केरलाको विकास मोडेल जस्ताको तस्तै हामीले आयात गर्नुपर्छ भन्ने तर्क होइन, त्यसमा कुनै कमजोरी छैनन् भन्ने खोजिएको पनि होइन तर जसरी प्रतिबद्धताका साथ केरलाले विकासको वैकल्पिक मोडेल प्रस्तुत ग¥यो त्यसैगरी गगन थापाहरू दाताका अगाडि हात पसार्न छाडेर वैकल्पिक मोडेल तयार गर्न सक्षम छन् त ? वैकल्पिक मोडेल प्रस्तुत गर्न अथाह सिर्जनशीलता चाहिन्छ, समर्पण र लगाव चाहिन्छ । आप्mनो समाजको वस्तुनिष्ठ अध्ययन चाहिन्छ । विपी कोइरालाले समानता र समन्यायिक वितरणका लागि राखिदिएको प्रजातान्त्रिक समाजवादको फ्रेमवर्कसमेत तपाईंलाई बोझिलो भएको छ र पार्टी महाधिवेशनमा हाम्रोजस्तो अल्पविकसित समाजमा असफल सावित भैसकेको पुँजिवादी मोडेललाई लिपपोत गरेर सामाजिक लोकतन्त्रका नाममा अघि सार्नुभएको छ । केहीखाँट्टी नवउदारवादी तथा दक्षिणपन्थी बौद्धिकको काँधमा चढेर तपाईंले जुन विचारधाराको पैरवी गर्नुभएको छ, यसबाट के प्रष्ट हुन्छ भने विकास तथा समृद्धिको समन्यायिक बाटो तपाईंको वशको विषय नै होइन । सदनमा प्रस्तुत तपाईंको समग्र व्यक्तित्वले मुलधारको राजनीतिमा उदाइरहेको युवा पुस्ता वा आगामी शासक पुस्ताको अत्यन्त दयनीय तस्विर अगाडि सारिरहेको थियो । तपाईंको अनुहारमा सृजनशील भविष्यको कुनै आभा देखिँदैन, बरु नेपाली राजनीतिको उही गलित, स्खलित तथा श्रृजनशिलता विहिन मुहारको नयाँ संस्करण भने सदनको पोडियममा छताछुल्ल देखिन्छ ।

कतिले प्रश्न गर्ने गरेका छन्—वैदेशिक सहायता नलिएर के नेपाललाई उत्तर कोरिया बनाउन खोजिएको हो ? यसको जवाफ अत्यन्त सरल र सपाट भएपनि एमसिसीमाथि आलोचनात्मक तर्क गरिरहेको पंक्तिलाई थापा र उनको विचारपक्षले अस्वभाविक रूपमा गिजोलिरहेको छ । पहिलो त हरेक मान्छेको स्वाभिमान भएजस्तै हरेक राष्ट्रको आप्mनो स्वाभिमान र स्वाधिनता हुन्छ । भुमण्डलिकृत दुनियाँमा कुनैपनि राष्ट्र पूर्ण सार्वभौम छैनन् भन्ने अहिलेको यथार्थ हो । तर, जनस्तरबाट व्यापक प्रश्न उठ्दाउठ्दै र यथास्थितीमा एमसिसी अनुमोदन गर्नु हुँदैन भन्ने जनमत प्रभावी भएको समय अनुदान भनिएको सम्झौता पारित गर्न अमेरिकाबाट लगातार आएको दबाब अविकसित राष्ट्रमाथि उसले कुन हदको हैकम देखाउने गर्छ भन्ने प्रमाण हो । अमेरिकाको अनुचित दबाबलाई अस्विकार गर्नु उत्तर कोरिया बन्नु होइन । पटकपटक संशोधन भएको एमसिसीलाई नेपालका तर्फबाट संशोधन प्रस्ताव गर्नुपनि उत्तरकोरिया बन्नु होइन । दोश्रो, उच्च भौतिक प्रगती हासिल गरेका अहिलेका कुनैपनि पुँजिवादी राष्ट्र वैदेशिक सहायताबाट त्यस ठाउँमा पुगेका होइनन् । उनीहरू दुईवटा बाटोबाट अहिलेको स्थानमा पुगेको देखिन्छ । एउटा त उनीहरूले औद्योगिकरणको लामो बाटो तय गरेका थिए । प्रविधि र ज्ञानमा स्वभाविक र प्राकृतिक कोर्स पुरा गरेर नै उनीहरू अहिलेको उच्च भौतिक प्रगतिको स्थानसम्म आइपुगेका हुन् । अर्कोचाहिँ उपनिवेशमार्फत दुनियाँभरीको श्रोत र साधन हडपेर उनीहरूले समृद्धिको महल खडा गरेका हुन् । त्यसैले उनीहरूले बाँडेको विकासको ब्लु प्रिन्ट बोकेर हामी समृद्ध हुँदैनौँ बरु अझ तन्नम र उनीहरूमाथि आश्रित बन्छौँ । वैदेशिक सहायताको सत्ताले हामीलाई अथाह मानवीय र प्राकृतिक क्षतिसहित उनीहरूमा निर्भर र दरिद्र बनाउने निश्चित छ । यसको प्रमाण विगत ७० वर्षको हाम्रो आप्mनै अनुभव छ । गगन थापाले हामीलाई हिँडाउन खोजेको बाटो यहि नै हो ।

आजको पुँजिवादी युगमा हामी हिँड्ने कुनै न्यायिक र वैकल्पिक बाटो नै छैन त ? हामीले जवाफ खोज्नुपर्ने सबैभन्दा महत्वपूर्ण प्रश्न यहि नै हो । नाकको डाँडीभन्दा अल्लि परसम्म देख्ने सपना र सिर्जनशीलता नभएको गगन मोडेलले लगातार हामीमाथि वौद्धिक उपनिवेश थोपरिरहेको छ त्यसैले हामीलाई कुनै वैकल्पिक बाटो छ भन्ने विश्वास नै छैन । सर्वथा विकल्पहिनता देखिएको र देखाइएको यस युगमा हामीले वैकल्पिक बाटोको कष्टसाध्य खोजी गर्नु नै छ ।
स्वीस सरकारको तर्फबाट पहिलो विकास परामर्शदाताका रूपमा नेपाल आएका थिए विख्यात भुगर्भविद टोनी हागन । राणाकालको आखिरी दिनमा नेपाल आएका उनले विकास परामर्शदाताका रूपमा काम गरे । विकास परामर्शदाता र संयुक्त राष्ट्रसंघको विज्ञकारूपमा काम गरेका उनले आफ्नो अनुभवलाई ‘विकेन्द्रीकरण र विकास’ नामक पुस्तकमा संग्रहित गरेका छन् । स्वीट्जरल्याण्डको विकास अनुभवसँग नेपाललाई तुलना गर्दै अनुदानमा समृद्धीको सपना देख्ने धेरै परालम्बीलाई उनले महत्वपूर्ण पाठ छाडेर गएका छन् ।

स्वीट्जरल्याण्ड विकेन्द्रीकृत र संघीय ढाँचाको अत्यन्त सफल मोडेल हो । स्वीट्जरल्याण्डको समृद्धिमा पर्यटन र जलश्रोतको प्रमुख भुमिका छ । पेट्रोलियमजस्ता कुनै प्राकृतिक खनिज भण्डार छैन, भएको एकमात्रै प्राकृतिक श्रोत स्वीट्जरल्याण्डमा जलश्रोत हो । जलश्रोत र पर्यटनबाटै स्वीट्जरल्याण्डको ग्रामिण गरिबी उन्मुलन भएको हो तर त्यहाँ जलश्रोत र पर्यटन मन्त्रालय छैन । केन्द्रीय योजना आयोग छैन । सडक मन्त्रालय छैन । यतिसम्म की स्वीट्जरल्याण्डमा राष्ट्राध्यक्ष छैन । एकजना संघीय मन्त्रिपरिषदको अध्यक्ष रहन्छ र त्यो पदमा बस्ने व्यक्ति प्रत्येक वर्ष फेरिन्छ । हागन भन्छन्–स्वीट्जरल्याण्ड संघीय सरकार र योजना आयोगले विकास गरेको देश होइन । संघीय सरकारमा जम्मा ७ सिट छन् । त्यसलाई भाषा र क्षेत्रका आधारमा न्यायोचित वितरण गरिएको छ । स्वीट्जरल्याण्डमा बलिया संघीय विभाग छन् । संघीय सरकारको भूमिका राष्ट्रिय स्तरका निर्माण कार्यको योजना सम्बन्धि नीति, नियम तथा निर्देशन बनाउने हो । संघीय सरकारले बनाएका नीति, नियम परिपालना र अनुगमनको जिम्मा संघीय विभागलाई दिइएको छ । निर्माण कार्य सम्पन्न गर्ने काम निजी व्यापारिक कम्पनीले गर्दछन् ।

प्रदेश सरकारमा भाग पु¥याउनकै लागि दर्जनौँ मन्त्रालय बनाउने, अधिकारजति केन्द्रमा केन्द्रीत गर्ने नेपाली राजनीतिक परम्पराले स्विट्जरल्याण्डको विकेन्द्रीकरणबाट सिक्नुपर्ने प्रशस्तै पाठ छन् । स्वीट्जरल्याण्डपनि कुनै विदेशी सहायताले सम्पन्न भएको देश होइन । ठूलाठूला पूर्वाधारको होडबाजी गरेरपनि त्यहाँ पुगेको होइन । समृद्धिको प्राकृतिक बाटो छलेर त्यहाँ पुगेको झनै होइन । यो तथ्यलाई हागनले पुस्तकमा मिहिन ढंगले उल्लेख गरेका छन् । चरम गरिबी र हिटलरको दमन भोगेपछि स्वाभिमानपूर्वक धुलो टक्टकाउँदै उठेको देश हो स्वीट्जरल्याण्ड । १९ औँ सताब्दीको पूर्वाधमा स्वीट्जरल्याण्डमा चरम गरिबी थियो । कुनैबेला भोकमरीले आक्रान्त थियो । गरिबीले स्वीट्जरल्याण्डलाई कडा परिश्रम र आविष्कार गर्नुपर्ने बाध्यतामा पु¥याएको थियो । हागन भन्छन्, गरिबीकै समयमा स्वीट्जरल्याण्डमा धेरै उद्योग खुलेका हुन् । घडी उद्योगका लागि प्रतिष्ठित छ स्वीट्जरल्याण्ड, कुनै समय किसानले घरमै घडी मर्मत गर्थे । भुपरिवेष्ठित देश स्वीट्जरल्याण्डलाई दोश्रो विश्वयुद्धको समय हिटलरको जर्मनीले बाँकी विश्वसँगको सम्बन्ध टुटाइदियो । ५० लाख जनतालाई चाहिने खाद्यान्नको आधामात्र स्वीट्जरल्याण्डले उत्पादन गथ्र्यो । तर, हिटलरको अधिनायकवादसँग स्वीट्जरल्याण्डले स्वाभिमानपूर्वक लड्यो । खेल मैदान, बगैँचा, करेसाबारी, पूmलबारी जताततै बाँझो जमिनमा खेती गरियो । भलै पछि अति उत्पादनको समस्या खेप्नुप¥यो । अर्बमा माग्न हिँडेका प्रिय गगन थापा ! देश कसरी बन्छ –स्वीट्जरल्याण्डसँग सिक !

के देश रातारात विदेशी अनुदानमा ठूल्ठूला पूर्वाधार बनाएर विकास हुन्छ ? चिनियाँ रेल र समुद्रमा तीनकुने नेपाली झण्डा फर्फराएर समृद्धिको उचाइ चुमिन्छ ? स्वीट्जरल्याण्डको अनुभवले भन्छ, सकिँदैन । अहिलेको झकिझकाउ स्वीट्जरल्याण्डको समृद्धिको जग १० हजार पानीघट्ट थिए । सुन्दा पत्यार लागेन गगन जी ? हो, १० हजार पानीघट्टको जगमै स्वीट्जरल्याण्डले समृद्धिको उचाइ चुमेको हो । औद्योगिकरण र जलविद्युत विकासको ७ सय वर्ष लामो इतिहास भएको स्वीट्जरल्याण्डका अधिकांश ठूला उद्योगको सुरुवात तिनै पानीघट्टबाट भएको हो । वाष्प इन्जिनसँग समेत प्रतिस्पर्धा गरेर स्वीट्जरल्याण्डमा पानी घट्ट लामो समयसम्म टिके । हागन भन्छन्, ‘ससाना परियोजनाबाटै स्वीट्जरल्याण्डले औद्योगिकरणको प्रकृया पार गरेको हो । आजका औद्योगिक मुलुकलाई औद्योगिकरणको क्षमता र ज्ञान हासिल गर्न झण्डै २ सताब्दी लागेको थियो । औद्योगिकरणको प्रकृया लामो हुन्छ ।’ अनि तपाईँ सपना देख्नुहुन्छ रातारात समृद्धिको । १० हजार पानीघट्टबाट स्वीट्जरल्याण्डले औद्योगिकरणको उचाइ चुम्दा सन् १९५० अघि २५ हजारको संख्यामा नेपालमा रहेका पानीघट्टचाहिँ के भए ? यो त्यही मिती हो जुनबेला नेपालमा कथित अनुदान भित्रिएको थियो र नेपाल पुँजिवादी अर्थतन्त्रसँग गाँसिँदै थियो । त्यसपछि यो अनुदानको ताण्डवले केमात्रै गरेन ? नेपालका सारा उद्योग चौपट पारिदियो । ठोसेमा सन् १९२६ तिरै जलविद्युतले चल्ने फलाम कारखाना थियो, त्यो समाप्त भयो । गार्मेन्ट उद्योग ढल्यो । ललितपुरमा धातुको उच्चस्तरीय काम हुन्थ्यो भनेर उनै हागनले सम्झाएका छन्, त्योपनि यत्तिकै म¥यो । यहाँका तामाखानी र फलामखानी कहाँ गए ? पुँजिवादी विश्वव्यवस्थाको दुष्चक्रमा परेर स्वाहा भए र हामीले माग्दै विकास गर्ने मोडेलका प्रणेता गगन थापालाई पायौँ ।

काठपात, घाँस दाउरा ल्याउन स्वीट्जरल्याण्डका लोहारले बनाएका थिए रोपवे । त्यही रोपवेले औद्योगिकरणको प्रकृया पुरा गरेर केवलकारमा विस्तारित भयो । स्वीट्जरल्याण्डमा ९० प्रतिशत रोजगारी साना उद्योगले दिएका छन् । त्यसमध्ये ७० प्रतिशत साना उद्योगमा १० जनाभन्दा कम कामदार छन् । ख्यातीप्राप्त अधिकांश स्वीस उद्योगको सुरुवात परिवारद्वारा सञ्चालित साना कुटिर उद्योगबाट भएको हो । टोनी हागनले वैदेशिक अनुदानमा विकासको रुमानी बेलुन उडाउनेलाई महत्वपूर्ण शिक्षा दिएका छन् । यसको अर्थ स्वीट्जरल्याण्डको अन्धाधुन्ध नक्कल गर्नुपर्छ भन्ने हुँदै होइन । त्यहाँ समस्या नभएका पनि होइनन् । मेरो आशय यतिमात्रै हो, पुँजिवादको असफलसिद्ध मुलधार मोडेल समातेर तपाईँले नेपालमा जुन मिति स्खलित बहस गर्न खोज्दै हुनुहुन्छ त्यसको विकल्पमा वैकल्पिक मोडेलका झिल्काहरु संसारभर पाइन्छन् । ती सबैको शिक्षासहित हाम्रै भूमिमा नयाँ मोडेल विकास गर्नुपर्ने हुन्छ । त्यसका लागि चाहिने हो नयाँ युगचेत, नयाँ संकल्प र शाहस । हामीलाई संसारैभरीका अनुभवले भन्छन्, समृद्धि अरुको भर परेर होइन, आप्mनै जमिनमा उभिएरमात्रै हासिल हुन्छ ।

प्रिय गगन थापा ! माथिको बहसले विकास अनुदानबाट होइन, कुनै साम्राज्यवादी शक्तिको निगाहबाट पनि होइन बरु स्वाभिमानी जिन्दगी बाँच्न चाहने राष्ट्रिय आकांक्षाबाट प्राप्त हुन्छ भन्ने प्रष्ट छ । एमसिसीकै बहानामा सहि यसपटक स्वालम्बी जीवन बाँच्न चाहने राष्ट्रिय आकांक्षा जागृत भएको छ । तपाईँका लागि सडकमा आउने प्रत्येक मान्छे भीम रावल होलान् तर हाम्रा लागि युगौँदेखि परनिर्भर बनाउँदै आएको पुँजिवादी दुष्चक्रसँग लडेर वैकल्पिक व्यवस्था निर्माण गर्न उठेका लाखौँ आवाज हुन्, सडकका श्वरहरू । भोलीको समृद्ध नेपाल यिनै स्वाभिमानीका आँखाबाट मात्रै सम्भव छ । विडम्बना, तपाईंले ती स्वाभिमानी र श्रमिक जिन्दगीलाई चिन्नुहन्न, तपाईंको किताबले पनि तिनलाई चिन्दैन । को हुन् त नेपाललाई समृद्ध बनाउन सक्ने पौरखी जिन्दगीहरू ? संगीतश्रोताको गीतले भन्छ– ती पौरखी को हुन् भनेर :
तिमी चिन्दैनौ कोही, जो किताबमा छैन
उ त्यही मान्छे हो बरै, तिम्रो हिसाबमा छैन !

पहरा कपेर कपनी,
छपक्कै छापेर छपनी
सय डाँडापार सपनी
पु¥याउने सिपालु को थियो ?जो किताबमा छैन
उ त्यही मान्छे हो बरै, तिम्रो हिसाबमा छैन !

ओडार–डौँडार बनिबास
वनकै थितीले उठिबास
गाउँ र सहर घरबास
बसाउने बराजु को थियो ?जो किताबमा छैन
उ त्यही मान्छे हो बरै, तिम्रो हिसाबमा छैन !

चुलोमा आगो जोगाउने
कुलोमा पानी डो¥याउने
हराभरा गरा फलाउने
पौरखी जिन्दगी को थियो ?जो किताबमा छैन
उ त्यही मान्छे हो बरै, तिम्रो हिसाबमा छैन !