April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपाली समाजको चरित्र

२०८१ पुष ११

1K

वि.सं. २००७ आसपासमा अर्धसामन्ती अवस्थामा रहेको नेपाली समाज आजको पुँजीवादी अवस्थामा त्यत्तिकै आइपुगेको होइन भन्ने स्पष्ट छ । नेपालमा वि.सं. १९९० को आसपासबाट सुरु भएको सामन्तवाद विरोधी राजनैतिक आन्दोलन र त्यसमा पनि २००६ सालपछि सामन्तवादविरुद्ध सम्झौताहीन र निर्मम ढङ्गले चलेको कम्युनिस्ट आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको छ । जुन परिवर्तनको निर्णायक कारण हो । लोकतान्त्रिक धारा जसको नेतृत्व नेपाली काँग्रेस पार्टीले गर्दै आयो, त्यसले वि.सं.२०१६ सालको बिर्ता उन्मूलनसम्ममात्र सामन्तवादसँग मुख्य रुपमा सङ्घर्ष गर्‍यो, त्यसपछि कहिले सम्झौता त कहिले सङ्घर्षको नीति अख्तियार गर्‍यो । त्यसकारण नेपाली पुँजीवादी क्रान्तिको निर्णायक सारथी कम्युनिस्ट आन्दोलन नै बन्न पुगेको स्पष्ट छ । वि.सं. २००८–२०१२ सालसम्म डडेलधुरा, बारा, रौतहट, काठमाडौंलगायतका जिल्लामा चलेका किसान आन्दोलन र वि.सं. २०२८–२०३६ सम्म झापा, सिरहा, धनुषा, चितवन, दाङलगायत जिल्लामा भएका सयौं ठूलासाना कम्युनिस्ट नेतृत्वको किसान आन्दोलनहरुले सामन्ती भूस्वामित्वमा नै व्यापक हेरफेरको उपलब्धि हासिल गर्न नसके पनि देशव्यापी सामन्तहरुलाई असुरक्षित बनायो र किसानहरुको मनोबललाई माथि उठायो ।

नेपालको सामन्तवादी राज्यसत्ताले किसान आन्दोलनहरु त दमन गर्दै आयो तर सामन्तहरु निश्चिन्त हुन सक्ने गरी भने आन्दोलन रोक्न सकेन । यसबाट लगातार आतंकित र असुरक्षित सामन्तहरु क्रमशः आफ्नो कमाईको क्षेत्र परिवर्तन गर्नतिर लाग्ने क्रम बढ्यो । आफ्नो जमिन बेचेर वा खण्डित गरेर वा कम्पनीहरुको नाममा राखेर सामन्ती भूमि सम्बन्धलाई परिवर्तन गर्दै उद्योगपति वा व्यापारी बन्नेतिर लागे । यहाँ अर्को ऐतिहासिक परिघटनातिर पनि गम्भीर ध्यान जानु जरुरी छ । नेपालको राज्यसत्ता पहाडिया आर्यखस अहङ्कारवादी रही आएकाले मधेसी, मुस्लिम समुदायको व्यक्ति सामन्त नै रहेछ भने पनि सत्ताको हर्ताकर्ता बन्न आइपुग्न दिंइदैनथ्यो । यो विशिष्टतालाई ध्यान दिनु आवश्यक छ । आर्यखसभित्रको उच्चजातबाहेक नेवारभित्रका सामन्तहरुलाई मात्र राज्यका धेरै क्षेत्रमा आवाद हुने अनुमति रहेको थियो । सामन्तवादी समाजमा खास समुदायको भएकै कारण कुनै सामन्तले राज्यसत्तामा हिस्सा पाउँदैन भने त्यो सामन्त निराश हुनु स्वाभाविक थियो । यस्तो अवस्थाका कारणले पनि मधेसी, मुस्लिम समुदायमा रहेका सामन्तहरुले आफ्नो प्रगति जमिनमा भन्दा अन्य क्षेत्रमा देख्न थाले ।

विराटनगर जुट मिल्सको स्थापनाबाट सुरु भएको पुँजीवादी अर्थतन्त्रको यात्रा पञ्चायतकालमा पुग्दा केही मात्रामा झाङ्गिन पुग्यो । पञ्चायतले शाह, राणा परिवारद्वारा निर्देशित राज्य नियन्त्रित पुँजीवाद अभ्यास गर्न चाहन्थ्यो । त्यसैले औद्योगिक क्षेत्रहरु, पाँचतारे होटल आदि स्थापना गर्दै गयो । त्यो जे जस्तो भए पनि तिनमा परम्परागत पुँजीवादी अर्थतन्त्रका आधारभूत चीजहरु थिए । सन् १९८० भन्दा पहिले नै नेपालमा दलाल पुँजीले पर्याप्त चलखेल गर्न थालिसकेको भए पनि त्यतिखेरसम्म सानो आकारको भए पनि राष्ट्रिय औद्योगिक पुँजी निर्माण गर्ने पुँजीवाद थियो र त्यसलाई अगाडि बढाउन खोज्ने राष्ट्रिय पुँजीपति वर्ग पनि थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)को संरचनात्मक समायोजन कार्यक्रमलाई सन् १९८५ मा नेपालले स्विकार गरेपछि सुरु भएर सन् १९९० यता विश्व साम्राज्यवादले द्रुत बनाएको उदारीकरण र निजीकरणको माखे साङ्लोले दलाल पुँजीको उत्पीडनको तीव्रता गुणात्मक ढङ्गले वृद्धि गर्‍यो । त्यसले एकातिर सानो आकारमा रहेको राष्ट्रिय औद्योगिक पुँजीवादको घाँटी निमोठ्दै लग्यो र बहुराष्ट्रिय कम्पनीहरुको व्यापक हस्तक्षेप बढाउँदै लग्यो ।

भूमण्डलीकृत पुँजीवादको यसप्रकारको आक्रमण तथा देशको दलाल सत्ताको आत्मसमर्पण र दलालीले गर्दा सानो आकारको राष्ट्रिय औद्योगिक पुँजीवादको विकासको प्रक्रिया नै अवरुद्ध भयो र दलाल पुँजीवाद एकछत्र हावी हुन पुग्यो । त्यसले राष्ट्रिय पुँजीपति वर्ग नै नष्ट गरिदियो । यसरी नेपालमा परम्परागत रुपमा औद्योगिक पुँजीवाद जसलाई भनिन्छ, त्यस्तो पुँजीवादी व्यवस्था नेपालमा पूर्ण रुपमा कहिल्यै निर्माण हुन नै पाएन । र, आज भूमण्डलीकृत पुँजीवादले राष्ट्रिय पुँजीपति वर्ग र राष्ट्रिय स्वाधीन पुँजी बन्नै नदिने रणनीतिका कारण परम्परागत ढङ्गले परम्परागत ढङ्गको प्रगतिशील पुँजीवादको विकास गर्दै समाजवादको आधार तयार पार्न पनि नसकिने अवस्था तयार हुन पुगेको छ । यसप्रकार नेपालको आजको पुँजीवाद दलाल पुँजीवाद बन्न पुगेको छ । यो समग्र आर्थिक क्षेत्रको परिदृश्यसहित वि.सं. १९९० को हाराहारीबाट सुरु भएको सामन्तवाद विरोधी राजनीतिक आन्दोलन, दश वर्षको जनयुद्ध हुँदै राजतन्त्रको अन्त्यसम्म पुग्दा राजनीतिक रुपमा समेत सामन्तवाद मूलतः अन्त्य भएर दलाल पुँजीवादी व्यवस्था कायम हुन पुगेको छ । संस्कृतिको क्षेत्रमा आएको परिवर्तनको पनि मूल कारण सामन्तवादविरोधी राजनैतिक आन्दोलनले निर्माण गर्न पुगेको सांस्कृतिक चेतना नै हो । त्यसपछि शिक्षामा भएको प्रगति, विश्वसमाजसँग तीव्रतामा जोडिँदै गएको अवस्था र साम्राज्यवादले गरेको लगातार सांस्कृतिक हस्तक्षेपले नेपाली जनजीवनमाथि सकारात्मक तथा नकारात्मक पुँजीवादी संस्कृति हावी बन्न पुगेको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालद्वारा आयोजित ‘वैज्ञानिक समाजवाद किन र कसरी ?’विषयक गोष्ठी कार्यक्रममा प्रस्तुत कार्यपत्रको अंश