April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

समाजवादी संस्कृति र संकल्प पर्व

२०८१ फाल्गुन १४

400

हामी वैज्ञानिक समाजवादी क्रान्तिलाई नेपाली समाजमा अगाडि बढाइरहेका छौं । क्रान्तिलाई अघि बढाउनुको सिधा अर्थ, वैज्ञानिक समाजवादी सामाजिक व्यवस्था निर्माण गर्ने प्रक्रियामा छौं । एउटा सामाजिक व्यवस्थाका आधारभूत तीन अङ्ग हुन्छन् । अर्थतन्त्र, राजनीति र संस्कृति । यदि वैज्ञानिक समाजवादी समाज व्यवस्था निर्माणको प्रक्रियामा अघि बढ्ने हो भने वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनैतिक सत्ता र वैज्ञानिक समाजवादी संस्कृति निर्माणको प्रक्रिया आजैदेखि दृढतापूर्वक मात्रात्मक रुपमा निर्माण सुरु गर्नु अनिवार्य छ । आज मुख्य उत्पादक शक्तिका रुपमा विज्ञान–प्रविधि उपस्थित भइसकेकाले प्रारम्भदेखि वैज्ञानिक समाजवादी अर्थतन्त्र, वैज्ञानिक समाजवादी सत्ता र वैज्ञानिक समाजवादी संस्कृति समग्रमा मात्रात्मक रुपमा वैज्ञानिक समाजवादी सामाजिक व्यवस्था निर्माण गर्दै क्रान्तिको पूर्णतातिर बढ्न सकिने वस्तुगत परिस्थिति हाम्रा अगाडि उपस्थित हुन पुगेको छ । हाम्रो पार्टी यही कार्यदिशाअनुरुप क्रियाशील रहेको सबैको अगाडि प्रस्टै छ ।

हरेक सामाजिक व्यवस्था र त्यसको नेतृत्व गर्ने वर्गले उत्सवहरु आफ्नो वर्गको हित हुनेगरी मनाउँछ, सुखदुःखको अनुभूती आफ्नै वर्गको निम्ति समर्पित गर्दछ ।

प्रारम्भदेखि वैज्ञानिक समाजवादी सामाजिक व्यवस्था मात्रात्मक रुपमा निर्माण गर्दै क्रान्ति सम्पन्न गर्न अघि बढ्दा वैज्ञानिक समाजवादी संस्कृति निर्माणको थालनी एक अनिवार्य शर्त बन्न पुग्दछ । पुरानो कम्युनिस्ट आन्दोलनले विक्रम संवतको चालीसको दशकमा नै महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रारम्भदेखि क्रान्तिको अङ्ग बनाउनुपर्ने सैद्धान्तिक निष्कर्ष निकाले पनि त्यो व्यवहारबद्ध आवधिक कार्ययोजनामा ढालिन सकेन । फलतः राजनीतिक आन्दोलन तीव्र हुँदा सांस्कृतिक रूपान्तरणमा आशाका प्रशस्त किरण देखापर्ने तर राजनीतिक आन्दोलन शिथिल वा असफलताको शिकार हुँदा सांस्कृतिक क्षेत्र विसंगत विकृतिहरुले भरीभराउ हुने विडम्बना देखा पर्दै आयो । कम्युनिस्ट आन्दोलन संस्कृतिको मामलामा वैचारिक रूपमा अस्पष्ट अनि व्यवहारमा रुढीवाद, ढोङ र पाखण्डको शिकारसमेत हुँदै आयो । के कुरा सत्य हो भने उत्पादन सम्बन्धमा आधारभूत परिवर्तन नभएसम्म समग्रमा नयाँ संस्कृतिका आयामहरु पूर्ण रुपमा बन्न सम्भव हुन्न तर सचेत प्रयत्न र मात्रात्मक रुपमा बदलिएको उत्पादन सम्बन्धमा आधारितसम्मको सांस्कृतिक रूपान्तरण पनि गर्न सकिन्न भनेचाहिँ त्यो क्रान्तिकारी विचारधारात्मक राजनीतिक कार्यदिशाकै समस्या मान्नुपर्दछ ।

यसप्रकारको ऐतिहासिक विडम्बनामय यथार्थ र अबको आवश्यकतालाई आत्मसात् गर्दै हाम्रो पार्टीको प्रथम राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादी संस्कृति निर्माणको सांस्कृतिक आम कार्यक्रम पारित गरेको छ । सो कार्यक्रमलाई तत्कालीन कार्ययोजनामा ढाल्दै वैज्ञानिक समाजवादी पार्टीको प्रारम्भिक पार्टी संस्कृति र सामाजिक संस्कृतिलाई ठोस रुपमा सूत्रबद्ध समेत गरेको छ । ती नीति र सूत्रबद्ध गरिएका सांस्कृतिक विषयलाई व्यवहारकृत गर्दै पार्टी र पार्टी समर्थकहरु शानदार ढङ्गले अघि बढ्न थालेको सुखद अनुभूति बीच हामी उभिएका छौं । संस्कृति र संस्कारमा नयाँ व्यवस्था प्रकट नभएसम्म सांस्कृतिक रुपान्तरण र नयाँ संस्कृति निर्माणको सवाल जहिले पनि नारामै सीमित बन्ने र प्रतिगमनमा समेत जाने खतरा भइरहन्छ भन्ने यथार्थलाई व्यापक प्रशिक्षणमा लैजान हामी प्रतिबद्ध छौं ।

संस्कृतिको व्यापक आयात हुन्छ भन्ने कुरा प्रस्ट नै छ । त्यसमध्ये चाडपर्व संस्कृतिको एउटा आयाम हो । चाडपर्वको महत्व मानव जीवनमा महत्वपूर्ण छ । चाडपर्वहरु मानव समाजमा स्वाभाविक वा बलजफ्ती सुरु भएका इतिहासहरु छन् । जे जसरी सुरु हुन पुगे पनि शोषक वर्गको राज्यले अधिकांश चाडपर्वलाई धर्मसँग लगेर जोडेको छ । थोरै चाडपर्व मात्र धर्मबाट अलग पाइन्छन् । हरेक सामाजिक व्यवस्था र त्यसको नेतृत्व गर्ने वर्गले उत्सवहरु आफ्नो वर्गको हित हुनेगरी मनाउँछ, सुखदुःखको अनुभूती आफ्नै वर्गको निम्ति समर्पित गर्दछ । आज पर्वहरुलाई पुँजीपति वर्गले आफ्नो फाइदाको निम्ति उत्सव बनाउँछ किनभने त्यस अवसरमा आम श्रमजीवीको भावनामाथि खेलबाड गरेर बढीभन्दा बढी सामान बिक्री गर्न सकियोस् र नाफा सोहोर्न सकियोस् । यस गम्भीर यथार्थलाई बुझ्ने हो भने वैज्ञानिक समाजवादीहरूले पनि आफ्नो चाडपर्व आफ्नै विचारधारा, आफ्नो उद्देश्य र आफ्नै वर्गको शीर उँचो पार्ने खालको बनाउनु अनि आफ्नो वर्गको फाइदाको निम्ति मनाउनु अनिवार्य छ । शोषक वर्गसँग चाडपर्वमा पनि समानान्तर रुपमा प्रतिद्वन्दिता सिर्जना गर्दै जानु जरुरी छ । वैज्ञानिक समाजवादीहरूको चाडपर्व नीतिमा क्रान्तिकारी, विधिमा वैज्ञानिक र व्यवहारमा सामुदायिक हुनु आवश्यक छ । संस्कृतिअन्तर्गत चाडपर्व र संस्कारहरूबारे हाम्रो पार्टीले पाँच आम नीति अघि सारेको छ ।

१. रुढीवादी संस्कृतिअन्तर्गत चाडपर्व र संस्कार छाड्न नचाहने व्यक्तिलाई घृणा नगर्ने तर आलोचना र सही बाटोमा आउन अपिल चाहिँ गरिरहने ।

२. संस्कृतिक पर्वबाट धार्मिक कुरालाई अलग गरेर केवल सांस्कृतिक गतिविधि मात्र गर्ने/गराउने प्रयत्न गर्ने ।

३. रुढिवादी चाडपर्व संस्कारलाई सुधार गर्न प्रेरित गर्ने, सुधार गर्नेलाई प्रोत्साहित गर्ने ।

४. चाडपर्व र संस्कारहरूमा हुने खर्चलाई उपभोक्तावाद र आडम्बरबाट मुक्त गर्न किफायती गर्ने/गराउने कार्यलाई प्रोत्साहित गर्ने ।

५. वैज्ञानिक समाजवादीहरू आफैले चाहिँ रुढिवादी चाडपर्व र संस्कारलाई त्याग गर्दै नयाँ वैज्ञानिक चाडपर्व र संस्कारको निर्माण एवं अभ्यास दृढतापूर्वक सुरु गर्ने र तिनलाई आम समाजको बनाउन पहल जारी राख्ने । यी आम नीति व्यवहारमा क्रमशः अभ्यास गर्ने क्रममा हामी अगाडि बढिरहेका छौं ।

कुनै पनि महत्वपूर्ण दिवस तबसम्म आम समाजको सांस्कृतिक पर्व बन्दैन जबसम्म ती विषयलाई खानपिन, मनोरञ्जन र भावना साटासाटको अवसरसँग जोडिदैन । त्यसैले वैज्ञानिक समाजवादीहरूले एकातिर आफ्नो मूल सांस्कृतिक पर्व कुन हुने टुङ्ग्याउनु जरुरी थियो भने, सँगसँगै यो पर्वलाई केवल राजनीतिक दिवसमा सीमित नगरी आम समाजले अभ्यास गर्ने गरी सांस्कृतिक पर्वको रुपमा स्थापित गर्नुपर्ने चुनौती पनि थियो । यही आवश्यकतालाई पूरा गर्न हाम्रो पार्टीको प्रथम राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादीहरूको मुख्य पर्वको रुपमा फागुन १ गतेलाई मनाउने निर्णय लियो । फागुन १ गतेलाई राजनीतिक मात्र होइन सांस्कृतिक पर्व बनाउन दिशाबोध गर्‍यो । फागुन १ दश वर्षे जनयुद्ध थालनीको दिन हो । त्यो जनयुद्धमा नेपालको इतिहासको राष्ट्रिय स्वाधीनता र श्रमजीवी वर्गको मुक्तिका निम्ति सबैभन्दा बढी बलिदान भएको हो । त्यो जनयुद्ध नेपालको इतिहासमा भएका सबै जनसंघर्ष, जनआन्दोलन र जनविद्रोहको समष्टिमा अभिव्यक्ति थियो । त्यसैले फागुन १ केवल जनयुद्ध दिवस मात्र होइन, बरु नेपालको इतिहासमा भएका सबै बलिदान र मुक्तिको सपनाको बिम्ब भएकाले फागुन १ मा इतिहासका सबै बलिदानको स्मरण गर्नु सही हुन्छ अनि नयाँ क्रान्तिका निम्ति संकल्प गर्नु महत्वपूर्ण हुन्छ । तसर्थ, फागुन १ लाई जनयुद्ध दिवसको सीमित अर्थबाट माथि उठाएर इतिहासका सबै बलिदानको स्मरण र नयाँ क्रान्तिको निम्ति संकल्प पर्वका रूपमा अथवा छोटोमा भन्दा ‘संकल्प पर्व’का रुपमा वैज्ञानिक समाजवादीहरूको मुख्य बार्षिक पर्वका रुपमा उल्लासका साथ मनाउने निर्णय हामीले गरेका हौं ।

संकल्प पर्वलाई राजनीतिक र सांस्कृतिक रुपमा मनाउन यो पर्व दुई दिनको हुनु सही हुन सक्दछ । माघ मसान्त र फागुन १ गते दुई दिन । माघ मसान्त बिहान प्रभातफेरी, संकल्प पर्वको शुभकामना र्‍याली, शुभकामना पर्चा वितरण, वृक्षारोपण, सरसफाई, रक्तदान, जनसेवा लगायतका राजनीतिक–सामाजिक काम गर्ने । दिउँसो आन्दोलनका वैचारिक–राजनैतिक विषयमा छलफल, अन्तरक्रिया, गोष्ठी इत्यादि गर्ने र अपरान्ह सामूहिक भोजन गर्ने । सामुहिक भोजनमा सपरिवार सहभागी हुने । संकल्प पर्वको दोस्रो मुख्य दिन फागुन १ गतेचाहिँ विशुद्ध पारिवारिक रुपमा सांस्कृतिक पर्वको रुपमा मनाउने । त्यस दिन परिवारका सदस्य, आफन्तहरु, साथीसंगतिलाई आफ्नो अनुकूलताअनुसार पहुना बोलाउने वा पाहुना बन्न जाने । मीठोमसिनो खाने, मनोरञ्जन गर्ने, भेटघाट गर्ने इत्यादि । आफू हुर्केको समुदायको मुख्य पर्वलाई जति महत्व दिइन्थ्यो, त्यत्ति नै महत्व दिएर संकल्प पर्व मनाउने । जुनसुकै समुदायबाट आएको भएपनि वैज्ञानिक समाजवादीहरूले अबबाट आफ्नो मुख्य सांस्कृतिक पर्व यसैलाई बनाउने र क्रमशः अरु रुढिवादी पर्वहरु छाड्दै जाने, तिनबाट अलग हुने ।

संकल्प पर्व नेपाली समाजको मुख्य सांस्कृतिक पर्व बन्नु पर्दछ । यसको निम्ति वैज्ञानिक समाजवादीहरूले पहलकदमी लिन सुरु गर्नुपर्दछ । वैज्ञानिक समाजवादका पक्षधर सबै राजनीतिक पार्टीहरु, नागरिक समाजका अभियन्ताहरु र न्यायप्रेमी जनसमुदायले हाम्रो पार्टीले व्यवहारकृत गर्दै अघि लैजान चाहेको यो पर्वबारेको अवधारणाबारे आफ्नो स्थानमा गम्भीरतापूर्वक विमर्शमा लैजानु आवश्यक छ । त्यसका निम्ति हामी अपिल गर्दछौं । यो क्रमशः वैज्ञानिक समाजवादीहरू र सबै प्रकारका न्याय प्रेमीहरूको साझा सवाल बन्न सक्दछ, बोल्नु सही हुन्छ देशका विभिन्न स्थानमा बन्नु सही हुन्छ ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले तयार पारेको संकल्प पर्वको आधारपत्रको पूर्णपाठ