April 9, 2026, Thursday
२०८२ चैत्र २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending

डीबी तामाङ्ग “स्वाभिमान”

किन विदेशिन बाध्य छन्, नेपाली युवाहरू ?

२०८२ कार्तिक २४

734

नेपाली युवाहरूको जीवनमा एउटा कथा दोहोरिरहन्छ । घरको आँगन छोडी टाढा उड्ने सपना बोकेर विमान चढ्ने, अनि त्यहाँबाट पठाएको पैसाले परिवारको जीवनलाई टिकाउने । नेपाली समाजमा विदेश जाने कुरा अब उत्सव जस्तै भइसकेको छ । तर यो उत्सवको पछाडि लुकेको पीडा र बाध्यता कसैले बोल्दैन र देख्दैन । हाम्रा युवा पुस्ता किन विदेशिन बाध्य छन् ? यो प्रश्नले हाम्रो अर्थतन्त्रको कमजोरी मात्र होइन, राजनीतिक अस्थिरताको घाउ र सामाजिक संरचनाको खोक्रोपन पनि उजागर गर्छ । हामीले यो लहरको जड कहाँ छ ?, यसले कस्ता कष्ट दिन्छ ? र यसबाट मुक्ति पाउन के गर्न सकिन्छ ? यी सबै कुरा बुझ्न आवश्यक छ, किनकि यो केवल व्यक्तिगत जीवनको कथा होइन, राष्ट्रिय सङ्कट हो । नेपालीहरूको विदेशिने लहरको सुरुवातलाई हेर्दा यो नयाँ कुरा होइन । यो परम्परा सयौँ वर्ष पुरानो छ । अठारौँ शताब्दीको अन्त्यतिर, जब ब्रिटिश साम्राज्यले भारतमा आफ्नो सेना विस्तार गर्दै थियो, तब नेपाली पहाडी युवाहरू लाहोरतिर लागे । पछि ब्रिटिश गोरखा रेजिमेन्टमा पनि सामेल भए । यो ‘लाहुरे’ को यात्रा थियो । एकातिर सम्मान र तलब, अर्कोतिर युद्धको जोखिम ।

प्रथम र द्वितीय विश्वयुद्धमा लाखौँ नेपालीहरूले ब्रिटेनको लागि लडाइँ लडे, जसमा धेरैले ज्यान गुमाए । स्वतन्त्र भारतपछि पनि गोरखाहरूको परम्परा कायम रह्यो, र नेपालीहरू भारतका चिया बगान, तेल रिफाइनरी र कोइला खानीमा काम गर्न थाले । खुला सीमाको सुविधाले यो प्रवाहलाई सहज बनायो । तर यो सबै अनौपचारिक थियो, जसमा नेपाल सरकारको हात थिएन । सन् १९७० को दशकताका नेपालमा बेरोजगारी बढ्दै गइरहेको थियो भने, खाडी मुलुकहरूमा तेलको उछालले कामदारको माग बढेको थियो । उक्त मागको पूर्ति गर्न नेपाल सरकारले असीको दशकपछि वैदेशिक रोजगारीलाई औपचारिक बनाएको थियो ।

श्रम ऐनमार्फत वैदेशिक रोजगारीलाई प्रोत्साहन दिइयो, र दक्षिणपूर्वी एसियाबाट सुरु भएर खाडी मुलुकहरू सम्म फैलियो । यो लहरलाई तीव्र बनाउने भनेको नब्बेको दशकको माओवादी विद्रोह थियो । ग्रामीण क्षेत्रमा भइरहेको द्वन्द र अवसरको अभावले युवाहरूलाई बाहिर धकेल्यो । त्यसैबखत राज्यले पनि ऋणसमेत उपलब्ध गराएर वैदेशिक रोजगारीका लागि प्रोत्साहन नै गरेको थियो । युद्धपछि शान्ति प्रक्रियाले राजनीतिक स्थिरता ल्याउने आशा थियो, तर आर्थिक पुनर्निर्माण भने ढिलो भयो । फलस्वरुप, यो लहर झन् तीव्र भयो । युवाहरूले मात्र होइन, महिलाहरू पनि घरेलु कामदारका रूपमा विदेश पस्न थाले । यो यात्राले हाम्रो अर्थतन्त्रलाई रेमिट्यान्सको सहारामा उभ्यायो, तर युवा शक्तिको पलायन तीव्र रुपमा भयो ।

यो बाध्यताको जडमा आर्थिक र राजनीतिक कारणहरू रहेका छन् । आर्थिक रूपमा हेर्दा, नेपालको ग्रामीण अर्थतन्त्र कृषिमा निर्भर छ, तर जमिनको सानो आकार र उत्पादकत्वको कमीले युवाहरूलाई निराश बनाउँछ । बेरोजगारीको दर उच्च छ, र रोजगार प्राप्त भए पनि अत्यन्तै न्यून ज्याला छ । शिक्षित युवाहरूले पनि योग्यताअनुसार काम पाउँदैनन् । यसले गरिबीको समस्या बढाउँछ, जसकारण ऋण लिएर विदेश जाने बाध्यता आउँछ । विदेशमा कमाएको पैसाले मात्र होइन, त्यहाँको जीवनस्तरको आकर्षणले पनि युवाहरूलाई तानेको छ । तर बिडम्बना विदेशबाट पैसा घर फर्केर लगानी हुँदैन, बढीभन्दा बढी उपभोगमा नै खर्च हुन्छ । जसले अर्थतन्त्रलाई उत्पादनशील बनाउन सक्दैन । राजनीतिक कारणहरू त झन् पीडादायी छन् । भ्रष्टाचारको जालो र जनमैत्री नीतिहरूको अभावले विकासलाई रोकेको छ । माओवादी युद्धपछि शान्ति आयो, तर आर्थिक सुधार आएन । राज्यले वैदेशिक रोजगारीलाई ‘निर्यात’ का रूपमा हेर्छन्, जसबाट रेमिट्यान्स आउँछ, तर युवा विकासमा लगानी गर्दैनन् । श्रम सम्झौताहरू भए पनि कूटनीतिक पाटो अत्यन्त कमजोर छ, जसले विदेशमा नेपालीहरू अलपत्र पर्छन् । यसबाहेक, राजनीतिक असमानताले सीमान्तकृत समुदायहरूलाई बढी प्रभावित बनाएको छ । दलित, जनजाति र महिलाहरूले अवसरको अभावमा विदेशिनुपर्ने बाध्यता बढी भोग्छन् ।

राज्यको नीतिका कारण युवाहरूले स्वदेश छोड्नु स्वभाविक जस्तै लाग्छ । तर विदेश गएपछि भोग्नुपर्ने समस्याहरू यस्ता छन् कि क्षणभरमै जीवन अँध्यारो सपना बन्न सक्छ । खाडी मुलुकहरूमा पुग्दा युवाहरूले पाउने काम खतरनाक र कठिन हुन्छ । निर्माण स्थलमा उचाइबाट झर्ने जोखिम, तातो मौसममा काम गर्दा निर्जलीकरण र अन्य स्वास्थ्य समस्या पैदा हुन सक्छ । बीमा भए पनि उपचारको खर्चले ढाड सेक्छ । मानसिक स्वास्थ्य त झन् सङ्कटमा पर्छ । प्रायः एक्लोपन, तनाव र चिन्ताले रातभरि निद्रा हराउँछ । कतिपयले त आत्महत्याको बाटो रोज्छन्, किनकि परिवारसँग सम्पर्क टुट्छ र दुःख साट्ने साथी हुँदैन । शोषण त सर्वत्र छ । म्यानेजरहरुले तलब काट्छन्, पासपोर्ट लुकाउँछन्, र अधिकांश महिलाहरू शारीरिक र यौन हिंसाको शिकार हुन्छन् । फर्केर आउँदा पनि समस्या समाप्त हुँदैन; समाजले कलङ्क लगाउँछ, र फेरि बेरोजगारीले थिच्छ । यो यात्राले परिवारलाई टुक्र्याउँछ । बच्चाहरूले आमाबाबुको अनुहार बिर्सन्छन्, र बुबाआमाहरू एक्लिएर बुढ्यौली बिताउँछन् ।

यो सङ्कटको समाधानका लागि पहिलो, स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्छ । कृषि र पर्यटनलाई प्रवद्र्धन गरी बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्दछ । शिक्षा प्रणालीको सुधार गरी व्यावहारिक बनाउने र स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुपर्दछ । वैदेशिक रोजगारीको क्षेत्रमा राज्यले पूर्वप्रस्थान तालिमलाई प्रभावकारी बनाउनु पर्छ । भाषा, संस्कृति र स्वास्थ्यबारे जानकारी दिने र वैदेशिक रोजगारीका क्षेत्रमा संलग्न पक्षहरुको प्रभावकारी नियमन गरिनुपर्दछ । प्रवासी नेपालीहरूका लागि दूतावासमा सहज सहयोग, र श्रम सम्झौताहरूमा मजबुत प्रावधान बनाउने, फर्किनेहरूलाई पुनस्र्थापना कार्यक्रम चाहिन्छ । मानसिक स्वास्थ्य सहयोग, ऋण माफी र लगानीका अवसरहरूको सृजना गर्नु अनिवार्य छ । यसबाहेक, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति बनाउनु पर्छ, जसले अर्थतन्त्रलाई आत्मनिर्भर बनाओस् । जसका लागि अन्ततः, राजनीतिक इच्छाशक्तिकै आवश्यकता पर्दछ ।

नेपाली युवाहरू विदेशिएर आएको रेमिट्यान्सले परिवार चलाउँछ, तर युवा शक्तिको अभावले मुलुकको भविष्य अन्धकार हुँदै गएको छ । तर यो अन्धकारलाई अवसरमा परिणत गर्न पनि सकिन्छ । यदि हामीले स्वदेशलाई सपनाको थलो बनायौँ भने, युवाहरूले विदेशबाट फर्केर योगदान दिन सक्छन् । सबै सम्बन्धित र सरोकारवालाहरूले कम्तीमा यत्ति कुरामा बोधगम्य भएर अग्रसर हुन सक्यो भने पनि नेपाली युवाहरू विदेशिने लहर रोकिने थियो र आफ्नै देशमा नेपाली भएर स्वाभिमानको साथ आफ्नो भविष्य, परिवार संरक्षण र देशको भविष्य निर्माणमा योगदान पु¥याउने थियो ।