नेपाल तेश्रो विश्वको अल्प विकसित देश हो । औद्योगीकरणको प्रारम्भिक अवस्थाबाट क्रमशः बामे सर्दै गरेकोले औद्योगिक मजदुरको संख्या अत्यन्त न्यून मात्रामा रहेको छ । मुलतः मजदुर आन्दोलन भन्नाले औद्योगिक मजदुर आन्दोलन भन्ने नै हो । आम रुपमा मजदुर आन्दोलन भनेको आफ्नो श्रम शक्ति बेचेर जीवन निर्वाह गर्ने श्रमजीवीहरुको आन्दोलन नै हो । यहाँ समग्र मजदुर आन्दोलनको दिशा कस्तो हुनुपर्छ भन्ने बारे संक्षिप्त चर्चा गरिनेछ ।
१. मजदुर वर्गका नेता विलक्षण प्रतिभाशाली कार्ल माक्र्सले आफ्ना साथी फ्रेडरिक एंगेल्सको साथमा कम्युनिस्ट घोषणापत्र तयार गरे । सर्वहारावर्गको ‘बाइबल’का रुपमा परिचित उक्त ऐतिहासिक दस्तावेजमा ‘सबै मान्छेहरु दाजुभाई हुन’ भन्ने नारालाई सच्याएर संसारका मजदुर एक होआंै ⁄’ भन्ने अपिलसहितको नारा दिए । पुँजीवादको विश्वव्यापी चरित्रको विश्लेषण गरेर नै त्यसका विरुद्धको मोर्चा पनि विश्वव्यापी हुनुपर्ने स्पष्ट दृष्टिकोणका साथ त्यो नारा दिइएको थियो ।
आज साम्राज्यवाद आफ्नो उच्चतम् मरणसन्न र भूमण्डलीकृत रुपमा खडा भएको छ । हिजो एउटा पुँजीपतिवर्गले एउटा कम्पनी खडा गरेर मात्र आफ्नोे देशभित्रको मजदुर वर्गको शोषण उत्पीडन गर्दथ्यो । आज साम्राज्यवादले बहुराष्ट्रिय कम्पनीमार्फत विश्वभरीका मजदुरहरुको शोषण उत्पीडन गरिरहेको छ । तसर्थ आज साम्राज्यवादको शोषणको रुप विश्वव्यापी बन्न पुगेको छ । त्यसैले माक्र्सले भने झै मजदुरवर्गले पनि साम्राज्यवाद विरुद्धको मोर्चालाई विश्वव्यापी बनाउन जरुरी भएको छ । त्यसैले आजको युगको मजदुर आन्दोलनको दिशा भनेको विश्व मजदुर आन्दोलन नै हो ।
२. वर्गसंघर्षको मुख्य माध्यमको रुपमा साम्राज्यवादले मजदुर वर्गलाई विभिन्न रुपमा शोषण गर्दछ । हाम्रो जस्तो तेश्रो विश्वका देशहरुमा पुँजीवादका विभिन्न रुपहरु जस्तो की राष्ट्रिय पुँजीवाद, नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद नै मजदुर किसानमाथि शोषणका माध्यम बनेका छन् । आज पनि पुँजीपति वर्ग र भूमिपतिवर्ग मिलेर मजदुर किसानलाई शोषण गर्दैछन् । हाम्रो संघर्षको दिशा मजदुर किसान एकतामा आधारित हुन्छ । सर्वहारावर्गको नेतृत्वमा निर्मित त्यस एकताले मात्रै मजदुर किसानलाई मुक्त गर्न सक्दछ । औद्योगीकरणद्वारा सामन्तवादका अवशेषहरुको आधार समाप्त पार्ने दलाल तथा नोकरशाही पुँजीपति वर्गमाथि प्रहार गरेर राष्ट्रिय पुँजीको संरक्षण गर्ने र अन्तमा राष्ट्रिय पुँजीवादसँग संघर्ष गरेर मजदुर किसानको सत्ता स्थापना गर्ने हाम्रो घोषित नीति र दिशा हुनुपर्दछ ।
आदिम साम्यवादमा मान्छे र प्रकृतिका बीच मुख्य संघर्ष थियो । दास युगमा दास मालिक र दासहरुका बीचमा मुख्य संघर्ष थियो । सामन्तवादमा जमिन्दार र किसानका बीच प्रमुख संघर्ष थियो । पुँजीवादमा पुँजीपति वर्ग र मजदुर वर्गका बीचमा मुख्य संघर्ष हुन्छ । समाजवादमा शत्रुतापूर्ण संघर्ष क्रमशः हल हुँदै जान्छ, मजदुर र किसानबीच मानसिक र शारीरिक श्रमबीच गाउँ र शहरबीचको प्रतिष्पर्धा हल हुन थाल्दछ । मानव समाजको उच्चतम अवस्थामा साम्यवादमा पुगेपछि फेरि मान्छे र प्रकृतिवीच संघर्ष शुरु हुन्छ । अत्यन्तै उन्नत स्तरमा प्रकृतिमा रहेका अवरोधहरुलाई मान्छेले आफ्नो अनुकूल प्रयोग गर्न थाल्नेछ ।
अहिले पुँजीपति वर्गसँग मजदुर वर्गको संघर्ष मजदुर आन्दोलनको मुख्य पक्ष हो । कहिले शान्तिपूर्ण र कहिले सशस्त्र रुपमा प्रकट हुने संघर्ष नै मजदुरवर्गले सञ्चालन गर्ने वर्ग संघर्ष हो । वर्ग समन्वय मजदुर वर्गको घातक पक्ष हो । वर्ग संघर्ष चर्काउनु नै अहिलेको जरूरी आवश्यकता हो ।
३. राज्यसत्ताको मालिक बन्न आन्दोलनको मूल पक्ष ‘राज्यसत्ता बाहेक अरु सबैथोक भ्रम हो’ भन्ने मजदुर वर्गीय आन्दोलनको सार पक्ष हो । सामान्य सेवा, सुविधा र सुधारको लागि मजदुर आन्दोलन सञ्चालन गर्नु अर्थवाद हो । सामान्य सेवा, सुविधा र सुधारद्वारा मूल राजनीतिलाई सहयोग पुग्ने कार्यनीति तय गर्नु मजदुर आन्दोलनलाई आम मजदुरबाट अलगावमा पर्नबाट बचाउने उपाय हो । हामी सुधारको बिरोधी होइनौं बरु सुधारवादका चाहिँ विरोधी हौं । सुधारले क्रान्तिको सेवा गर्न सक्दछ तर सुधारवादले कान्तिको निषेध गर्दछ । लड्ने, जित्ने र राज्यसत्ताको लागि योग्य मजदुर वर्ग पैदा गर्ने दायित्व ट्रेड यूनियन आन्दोलन र कम्यूनिस्ट पार्टीको काँधमा सदैव रही आएको छ ।
४. मजदूर वर्गसंग पुँजीपतिवर्ग विरुद्ध लड्ने र जित्ने एकमात्र हतियार संगठन मात्रै हो । संगठन बेगर मजदुर वर्ग न एकतावद्ध हुन सक्दछ, न लड्न सक्दछ र न जित्न नै सक्दछ । संगठनको स्वरुप देश, काल, परिस्थिति अनुसार फरक फरक हुन सक्दछ । मजदुरले काम गर्ने क्षेत्र, समाजको विकासको स्तरले पनि संगठनको स्वरुपहरुलाई निर्धारण गर्दछ ।
संगठनको विशिष्ट अवस्थाको अलावा आम चरित्र पनि हुन्छ । तर संगठन सञ्चालन हुने सिद्धान्त, संगठनको मूल स्वरूप एकै खालको हुन्छ । जनवादी केन्द्रीयता र पिरामिड आकारको संगठन ठाउँ ठाउँमा फरक हुँदैन । विचार, संगठन, संघर्ष र योजनालाई एकीकृत ढंगले सञ्चालन गरेर नै मजदुर आन्दोलनले वर्गीय र क्रान्तिकारी आन्दोलनको अग्रणी मोर्चाका रुपमा रहेर आफ्नो भूमिका निर्वाह गर्न सक्नेछ ।