प्यालेस्टिनी मुद्दा केवल प्यालेस्टिनीहरुको लागि मात्र होइन, हरेक भूमिमा रहेका हरेक क्रान्तिकारीको मुद्दा हो, किनभने यो हाम्रो युगको शोषित र उत्पीडित जनसमुदायहरुको मुद्दा हो । -घस्सान कनाफानी
प्यालेस्टाइनको मुक्तिका लागि लोकप्रिय मोर्चा (पी.एफ.एल.पी) एक धर्म निरपेक्ष, प्यालेस्टिनी माक्र्सवादी -लेनिनवादी र समाजवादी संगठन हो, जसको सन् १९६७ को ६ दिने इजरायल–अरब युद्ध (जुन युद्ध) को केही समयपछि स्थापना गरिएको थियो । जुन युद्धपछि इजरायलले सिरियाको गोलान, इजिप्टको सिनाई प्रायद्वीप र प्यालेस्टाइनको गाजा, पश्चिम तट र पूर्व जेरुसेलम कब्जा गर्यो । यसको प्रतिक्रियामा हरकत अल–क्वमियिन अल–अरब अथवा अरब राष्ट्रवादी आन्दोलन (ए.एन.एम) को कार्यकारी समितिले प्यालेस्टाइनको मुक्तिको लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गर्यो । यो समूहले अगस्टको सुरुदेखि लोकप्रिय प्रतिरोधको अग्रदूतको रुपमा गाजामा सशस्त्र सङ्घर्ष सुरु गर्यो र पश्चिम तटमा पाँचवटा स्थानीय सैन्य कमाण्डहरू स्थापना गरियो । जो मुस्तफा अल–जिब्री (अबु अलि मुस्तफा) को नेतृत्वमा रहेको रमल्लाको केन्द्रीय कमाण्डसँग जोडिएको थियो । लोकप्रिय मोर्चाको स्थापना ११ डिसेम्बरमा तीनवटा प्रमुख कमान्डो समूहहरू –द हिरोज अफ द रिटन, प्रतिशोधको लागि युवा संगठन, प्यालेस्टिनी मुक्तिको अग्रमोर्चाहरु र अन्य ससाना समूहहरू समावेश भएर भएको थियो ।
विचारधारा
६ दिने युद्धमा अरब सेनाको लज्जास्पद हारपछि लोकप्रिय मोर्चाले प्यालेस्टिनीहरूको नेतृत्वमा राष्ट्रिय स्वतन्त्रता सङ्घर्षको नयाँ मार्गको खाका प्रस्तुत गर्यो। लोकप्रिय मोर्चाको संस्थापन दस्तावेजमा भनिएको छ, “अरब सेनाहरुले भोगेको सैन्य पराजयले कामको नयाँ चरण सुरुवातको रूप लियो, जसमा क्रान्तिकारी जनताले साम्राज्यवाद, सियोनवादको शक्ति र हतियारको सामना गर्न आफैले जिम्मेवार भूमिका खेल्नुपर्छ । जुन इतिहासले प्रमाणित गरेको छ कि सबै प्रकारका औपनिवेशिक आक्रमणलाई दमन गर्न र आम जनतालाई उनीहरूको इच्छा र चासो अनुसार भविष्य निर्माण गर्ने पहल दिन सबैभन्दा प्रभावकारी हतियार हो । इतिहास र प्रगतिलाई पुनस्र्थापित गर्नु र लामो समयसम्म शत्रु र सम्भावित शत्रुहरुलाई साँच्चै पराजित गर्न जनतासँग बाँकी रहेको एकमात्र हतियार क्रान्तिकारी हिंसा हो, जसले सियोनवादी हिंसा र प्रतिक्रियाको सामना गर्न सक्छ ।”
उनीहरूले सङ्घर्षको रूपलाई लामो र लोकप्रिय सशस्त्र सङ्घर्षको रुपमा चित्रण गरे । लोकप्रिय मोर्चाले सियोनवादी र साम्राज्यवादी चंगुलबाट उम्कन राष्ट्रिय मुक्ति आन्दोलनलाई प्यालेस्टिनी क्रान्तिकारीहरूको प्राथमिक कार्यको रुपमा पहिचान गर्यो । इजरायली सैनिक कब्जाको विरुद्ध सशस्त्र सङ्घर्ष गर्ने सबै शक्ति र प्यालेस्टिनी समूहहरूलाई व्यापक राष्ट्रिय मोर्चामा एकजुट हुन आह्वान गर्यो ।
लोकप्रिय मोर्चाको संश्लेषण अनुसार समान जोखिम तथा शत्रुहरू भएको प्यालेस्टिनी जनताको सङ्घर्ष र अरब जनताको सङ्घर्षबीच प्रत्यक्ष सम्बन्ध बनाउनुपर्छ । प्यालेस्टेनी राष्ट्रिय मुक्तिको सङ्घर्षको दिशा र गतिले अरबी शक्तिहरूको अवस्था निर्धारण गर्दछ । सन् १९६९ मा आयोजित दोस्रो कङ्ग्रेसले लोकप्रिय मोर्चालाई मालेमावादी पार्टीको रुपमा बलियो बनायो । यसले इजरायल, सियोनवाद, विश्व साम्राज्यवाद र अरब प्रतिक्रियावादलाई युद्धको मैदानमा प्रमुख प्रतिद्वन्दीको रुपमा पहिचान गर्यो। त्यसपश्चात प्यालेस्टिनी सङ्घर्षले माओको दीर्घकालीन जनयुद्धको रुप लिन्छ । सशस्त्र सङ्घर्षले सुरुमा छापामार युद्धको रूप लिँदै र दीर्घकालीन जनमुक्ति युद्धको दिशामा विकास गर्दै शत्रुको प्राविधिक र सैन्य श्रेष्ठतामाथि अन्तिम विजय सुनिश्चित गर्नेछ । माओको रणनीतिसँगै, लोकप्रिय मोर्चाले भियतनामको राष्ट्रिय मुक्ति सङ्घर्षमा जनरल जियाफले प्रयोग गरेको रणनीति पनि अपनाएको थियो ।
लोकप्रिय मोर्चाले प्यालेस्टिनी समाजको वर्गीय विश्लेषण प्रस्ताव गर्दै राष्ट्रिय मुक्ति सङ्घर्ष र वर्गसङ्घर्षबीचको महत्त्वपूर्ण सम्बन्धलाई जोड दिए –“यी युद्धहरू उपनिवेशवाद र सामन्ती तथा पुँजीपति वर्ग (जसको हित उपनिवेशवादीहरुसँग जोडिएको छ) एकातिर र अर्कोतिर राष्ट्रको ठूलो हिस्सा प्रतिनिधित्व गर्ने जनताको वर्गहरु बीचमा हुनेछ ।” प्यालेस्टिनी मजदुर वर्गलाई आधारभूत क्रान्तिकारी वर्गको रुपमा पहिचान गरिएको छ, जसमा मजदुर, किसान र साना पुँजीपतिको राष्ट्रिय एकता मोर्चा समावेश हुन्छ । यसले प्यालेस्टिनी राष्ट्रिय आन्दोलन, अरब राष्ट्रिय आन्दोलन, भियतनाम राष्ट्रिय मुक्ति सङ्घर्ष, क्युबा र उत्तर कोरियाको क्रान्तिकारी अवस्था तथा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका राष्ट्रिय मुक्ति सङ्घर्षहरूको गठबन्धनलाई एकताबद्ध हुन आह्वान गर्दछ, जसले अमेरिकाद्वारा नेतृत्व गरिएको र युरोपले समर्थन गरेको साम्राज्यवादी खेमालाई टक्कर दिन सक्छ ।
लोकप्रिय मोर्चाले अरबहरूले १९४८, १९५६ र १९६७ मा इजरायलको सामना गर्न प्रयोग गरेको पारम्परिक सूत्र (जसले प्रत्येक पटक उनीहरूलाई पराजित बनायो ।) को सट्टा लोकप्रिय जनमुक्ति सूत्र प्रस्ताव गर्यो । प्यालेस्टिनी सङ्घर्षको रणनीतिक लक्ष्य लोकप्रिय मोर्चाले यसरी तोकेको छ– “औपनिवेशिक सियोनवादी कब्जाबाट प्यालेस्टाइनलाई मुक्त गर्नु र सम्पूर्ण ऐतिहासिक प्यालेस्टाइन भूमिमाथि जेरुसेलम राजधानीसहितको लोकतान्त्रिक प्यालेस्टाइनी राज्यको स्थापना गर्नु ।”
सङ्घर्ष र विकसित विचारधारा
६ दिने युद्धपछि लोकप्रिय मोर्चाले पश्चिम तटमा सशस्त्र सङ्घर्षको लागि आधारहरू निर्माण गर्यो र १९७१ सम्म मोहम्मद अल–असवद (गाजाको ग्वेभारा)को एकाइहरूले गाजामा दैनिक प्रतिरोधको नेतृत्व गर्यो । सन् १९६८ जुलाईदेखि वादी हद्धादको वैदेशिक कारबाही शाखाले, “शत्रुलाई जहाँ पनि पछ्याउ” भन्ने नाराका साथ विभिन्न कारबाहीहरु सञ्चालन गर्यो, जसमा इजरायली एल–अल एयरलाइन्सको विमान अपहरण, गोलान हाइट्स हुँदै जाने तेल पाइपलाइनको विस्फोटन र कोरल सी तेल ट्याङ्कर माथि आक्रमण समेत सामेल थिए । सोही समयमा लोकप्रिय मोर्चाको सबैभन्दा ठूलो बाह्य आधारशिविर जोर्डनमा थियो । सन् १९७० जुनमा इजिप्ट र जोर्डनले रोजर्स योजना अनुमोदन गरेपछि सोही वर्षको सेप्टेम्बरको सुरुवातमा लोकप्रिय मोर्चाले चारवटा स्विस र अमेरिकी विमानहरू अपहरण गर्यो, जसमा तीनवटालाई जोर्डनको जरका नजिकै लगेर अवतरण गराइयो । यो कारबाही लोकप्रिय मोर्चाले प्यालेस्टिनी प्रश्नलाई अन्तर्राष्ट्रिय मञ्चमा ल्याउन र कैदीहरूको रिहाइको लागि गराइएको थियो । यो मिसनले प्यालेस्टिनी एजेन्डाहरुलाई अन्तर्राष्ट्रिय राजनीतिमा अगाडि ल्याउन त सफल भयो तर जोर्डनको राजतन्त्रसँगको घर्षण उत्कर्षमा पुर्यायो । यी घटनाहरूले सामूहिक रूपमा कालो सेप्टेम्बर नरसंहार र जोर्डनको गृहयुद्धलाई जन्म दियो । जहाँ लोकप्रिय मोर्चा प्यालेस्टाइन मुक्ति संगठनसँगै जोर्डनको शाही सेनासँग लड्यो । छापामार युद्धलाई लोकप्रिय राष्ट्रिय आन्दोलनमा रुपान्तरण गर्न नसकिएकोले लोकप्रिय मोर्चासहितका प्यालेस्टिनी छापामार समूहहरूलाई जोर्डनबाट निष्कासित गरियो ।
जोर्डनको गृहयुद्धमा पराजित भई बाँकी रहेका प्यालेस्टिनी लडाकुहरूलाई जोर्डनबाट निष्कासन भएर लेबनान पुगेपछि लोकप्रिय मोर्चाले जोर्डनमा आफ्नो कमजोरीलाई यसरी पहिचान गर्यो, –उनीहरुले प्राथमिक ध्यान प्यालेस्टिनी प्रतिरोध आन्दोलनमा मात्र दिए र जोर्डनभित्रका प्रतिरोध शक्तिलाई महत्व दिएनन् । सन् १९७३ को योम किप्पुर युद्धपछि इजिप्टले इजरायल नामक सियोनवादी राज्यलाई मान्यता दिन इच्छुक भयो, र साउदी अरबले अमेरिकामाथि पी.एल.ओ र अराफातलाई प्यालेस्टिनी जनताको एकमात्र वैध प्रतिनिधि भनेर मान्यता दिन दबाब दियो । लोकप्रिय मोर्चाले यो घटनाक्रमलाई पी.एल.ओको मूल लक्ष्य (राष्ट्रिय मुक्ति) बाट पछि हट्नु र सशस्त्र सङ्घर्षलाई समाप्त गर्ने प्रयासको रुपमा हेरेको थियो । यस सन्दर्भमा लोकप्रिय मोर्चाले भन्यो, “महत्वपूर्ण कुरा यो हो कि अराफातले फैसल –सदात धुरीसँग मिलेर जनताको स्वतन्त्रता र आत्मनिर्णयको अधिकार त्याग्दै छन्, –यो नेताको रूपमा घोषणा गरिए बापतको मूल्य हो । यो प्रक्रियाले पी.एल.ओलाई मूल मुक्ति लक्ष्य परित्याग गर्न र अप्रत्यक्ष रुपमा इजरायलसँग सह अस्तित्वलाई स्वीकार गर्न बाध्य बनाउँदैछ ।”
लोकप्रिय मोर्चाले १९७४ मा प्यालेस्टिनी वामपन्थी शक्तिहरूलाई एकत्रित गरेर ‘अस्वीकारवादी मोर्चा’ बनाउन सफल भयो । यस अवधिमा अराफात भने राष्ट्रिय आन्दोलनलाई दुई राज्य समाधानतर्फ घिसार्दै थिए र लोकप्रिय मोर्चाले उनको नेतृत्वलाई चुनौती दिन र पी.एल.ओलाई फरक दिशामा मोड्न असफल रह्यो । त्यतिबेला लेबनानका राष्ट्रपति फ्रान्जिया र उनका सहयोगीहरुले प्यालेस्टिनी सहयोगी लडाकुलाई दबाउन नसक्ने भएकाले इजरायली सेनालाई सहयोगको आह्वान गरे । यसरी १९७५ मा सुरु भएको लेबनानी गृहयुद्धभन्दा अघिल्ला सात वर्षहरूमा दक्षिण लेबनानमा ६२०० पटक इजरायली आक्रमणका गतिविधिहरु भएको तथ्य दर्ज छ ।
लोकप्रिय मोर्चाले १९७८ सेप्टेम्बरको क्याम्प डेविड सम्झौताको विरोध गर्न बनेको व्यापक राष्ट्रिय सहमतिमा सहभागी भयो । क्याम्प डेविड सम्झौताको बारेमा लोकप्रिय मोर्चाले त्यसबेला यसप्रकारको संश्लेषण गरेको थियो । “क्याम्प डेविड भन्ने भाष्य प्राय इजिप्ट र इजरायल बीच अमेरिकाले प्रायोजित गरेको शान्ति सम्झौता मात्र जनाउन प्रयोग हुन्छ । तर लोकप्रिय मोर्चाको स्थायी धारणा यो हो कि क्याम्प डेविडलाई सँधै एक व्यापक क्षेत्रीय समाधानको ढाँचाको रुपमा परिकल्पना गरिएको थियो । जसले अन्ततः साम्राज्यवाद, सियोनवाद र अरब प्रतिक्रियावादी शक्तिहरुलाई अरबी जनताहरु र स्रोत साधनमाथि निर्विवाद आधिपत्य कायम गर्न सुनिश्चित गर्ने थियो । साम्राज्यवादसँग सदातको आत्मसमर्पण यो योजनाको पहिलो महत्वपूर्ण चरण थियो । यो चरणले यस क्षेत्रका अन्य शक्तिहरूलाई पनि त्यही बाटोमा लैजाने उद्देश्य बोकेको थियो । त्यसैले क्याम्प डेविड केवल इजरायल र इजिप्ट बीचको पृथक शान्ति सम्झौता मात्र थिएन बरु विस्तारको नयाँ आधार थियो ।” अहिले पछाडि फर्केर हेर्दा यो संश्लेषण सही साबित भयो ।
सन् १९८१ अप्रिलमा बसेको चौथो सम्मेलनले मजदुर वर्ग, किसान, साना बुर्जुवा र राष्ट्रिय मध्यम बुर्जुवाका केही तहहरूको व्यापक गठबन्धन बनाएर साम्राज्यवाद र इजरायल विरुद्ध सङ्घर्ष गर्न आह्वान गर्यो । लोकप्रिय मोर्चाले नासेरको समयमा अरब राष्ट्रिय मुक्ति आन्दोलन राष्ट्रिय बुर्जुवाको नेतृत्वमा रहेको र त्यसकै परिणाम क्याम्प डेविड भएको भन्दै त्यसपछि मजदुर वर्गको नेतृत्व आवश्यक भएको निष्कर्ष निकाल्यो ।
इजरायलले १९८२ जुन ५ मा लेबनानमा पूर्ण –स्तरीय आक्रमण सुरु गर्यो । पी.एल.ओ र लेबनानी राष्ट्रिय आन्दोलनका लडाकुहरुले इजरायली सेनालाई अगस्टको मध्यसम्म पश्चिम बेरुतमा रोके । बिस्तारै बेरुतलाई घेराबन्दी गरियो र इजरायलले पि.एल.ओलाई लेबनान पूर्ण रुपमा खाली गर्ने वा पूर्ण आत्मसमर्पण गर्ने विकल्प दियो । ६ सातासम्मको असफल वार्तापछि १४००० पी.एल.ओ लडाकुहरु अरब विश्वभरि छरपष्ट भए । जोर्डनमा जस्तै लेबनानमा पनि प्यालेस्टिनी लडाकुहरूको प्राथमिक सङ्घर्ष आतिथ्य प्रदान गर्ने राज्यसँगै भयो । पि.एल.ओ र अराफत ट्युनिस भागे र लोकप्रिय मोर्चा भने दमास्कस सरे ।
सन् १९८७ मा अल –इन्तिफादा (विद्रोह वा शाब्दिक रूपमा फ्याँक्ने) भनिने लोकप्रिय आन्दोलन प्यालेस्टिनी भूभागभित्र विकास भयो । लोकप्रिय मोर्चा यस लोकप्रिय विद्रोहमा सक्रिय रह्यो र एकीकृत राष्ट्रिय नेतृत्वमा सामेल समूहहरूमध्ये एक थियो । इन्तिफादाले सियोनवादी अस्तित्वको जगलाई नै हल्लाइदियो तर अन्ततः इजरायलले यसलाई दमन गरेरै छाड्यो । सेप्टेम्बर १९९३ मा भएको ओस्लो सम्झौता विरुद्ध लोकतान्त्रिक मोर्चा, हमास र इस्लामिक जिहाद सहित १० वटा संगठनमध्ये लोकप्रिय मोर्चा पनि एक थियो । ओस्लो सम्झौताले पश्चिम तट र गाजाको नागरिक प्रशासनलाई प्यालेस्टिनी प्राधिकरणको हातमा सुम्पियो । यसबाट अर्थतन्त्र र राजनीतिक रूपमा इजरायल अधिनस्थ एउटा छद्म राज्य जन्मियो । लोकप्रिय मोर्चाले १९७३ देखि औल्याउँदै आएको अराफात र पि.एल.ओको विसर्जनवाद यहाँ आइपुग्दासम्म पूर्ण भयो ।
सन् २००० मा बसेको छैठौं महाधिवेशनमा अबुअली मुस्ताफा महासचिव पदमा चयन भए । उनलाई २००१ अगस्टमा इजरायलले अल–बिराहस्थित उनको कार्यालयमै हत्या गरे । २००१ अक्टोबर ३ मा केन्द्रीय समितिले अहमद सादातलाई नयाँ महासचिव चयन गर्यो । उनलाई सुरुमा प्यालेस्टिनी प्राधिकरणले र पछि २००६ मा इजरायली विशेष बलले पक्राउ गर्यो। इजरायली सैनिक अदालतले उनलाई ३० वर्ष कैद सजाय सुनायो । २००७ जुन १० देखि १५ सम्म गाजामा फतह र हमास बीच भएको गाजा गृहयुद्धले लोकप्रिय मोर्चालाई पनि प्रभावित बनायो । लोकप्रिय मोर्चा र लोकतान्त्रिक मोर्चाले प्यालेस्टिनी गृहयुद्ध रोक्न खोजे तर असफल रह्यो । गाजा गृहयुद्धको अन्त्यमा गाजा हमासले कब्जा गर्यो । गाजा हमासको नेतृत्वमा आएपछि इजरायलले गाजामा क्रूर नाकाबन्दी सुरु गर्यो।
सन् २०१३ मा भएको सातौं महाधिवेशनले सादातलाई नै महासचिवमा चयन गर्यो। नयाँ नेतृत्वको विकास गर्न नसक्नु, विचारधारात्मक र सांगठनिक नवीकरणले पूर्णता नपाउनु लोकप्रिय मोर्चाको घट्दो लोकप्रियताको प्रमुख कारकहरू हुन् । यसका अलावा विश्व राजनीतिमा खस्कँदो समाजवादी संगठन तथा पार्टीहरूको प्रभाव र प्यालेस्टिनी समाजमा उदाउँदो इस्लाम राष्ट्रिय आन्दोलन लोकप्रिय मोर्चा खुम्चनुको प्रमुख बाह्य कारणहरु हुन् । कुनै बेला पुरै अरब क्षेत्रलाई प्रभावित पारेको र पि.एल.ओको नेतृत्वको दाबी गर्ने लोकप्रिय मोर्चा अहिले निकै कमजोर अवस्थामा छ । यद्यपि लोकप्रिय मोर्चा प्यालेस्टिनी प्रवास भित्रका वामपन्थी संगठनहरुमध्ये अझै पनि सबैभन्दा शक्तिशाली उपस्थितिका रुपमा रहिरहेको छ ।