August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेको जिल्ला भेला सम्पन्न

२०७९ फाल्गुन १९

2.5K

काभ्रेः नेपाल आदिवासी जनजाति पत्रकार महाससंघ (फोनिज) काभ्रेको जिल्ला भेला सम्पन्न भएको छ । शुक्रवार काभ्रेको बनेपामा आगामी फागुन २७ र २८ गते मधेस प्रदेशमा हुने नीति तथा विधान सम्मेलनका लागि सुझाव पठाउन उक्त भेला भएको हो ।

भेलालाइ सम्बोधन गर्दै फोनिजका केन्द्रीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज पेमा लामाले फोनिजको नीति तथा विधान सम्मेलनमा जिल्लाहरुको सुझावलाइ उचित सम्बोधन गर्दै महत्वपूर्ण सुझावहरुलाइ नीति तथा विधानमा समेट्ने बताए । फोनिजको विधान जस्तो बिषयलाइ केन्द्रीकृत मात्र नगराई समावेशिता र जिल्लाका समस्याहरुलाइ पनि समेट्ने उद्धेश्यले जिल्ला जिल्ला र प्रदेश प्रदेशमा भेला गरेर सुझाव पठाउन सर्कुलर गरेको लामाको भनाइ छ । उत्कृष्ट नीति तथा विधान निर्माणका लागि फोनिजको संस्थागत तथा फोनिजका महिला पत्रकार, सिमान्तकृत पत्रकार, अल्पसंख्यक पत्रकार लगायतहरुसङ्ग छुट्टाछुट्टै समिक्षाका लागि अनलाइन छलफल गरिरहेको उनले बताए ।

आदिवासी जनजाति पत्रकारहरुको हितको नीति तथा विधान निर्माणका लागि बागमती प्रदेशले पनि भेला राखेको बागमती प्रदेश सचिव शिशिर लामाले बताए ।त्यस्तै आफू के हो ? र आफ्नो धरातल के हो भन्ने बुझेर फोनिजले नीति तथा विधान बनाउनु पर्ने प्रेस सङ्गठन नेपालका सचिव ग्याम्जो थोकरले बताए । फोनिजको विधान आफैमा उत्कृष्ट रहेको र अझ राम्रो बनाउन अग्रसर हुनुपर्ने बताउँदै प्रस्तावनामा नै देशका लागि बलिदानी दिएका सहिदहरुको सम्मानलाई पनि समेट्नु पर्ने थोकरले धारणा राखे ।

कार्यक्रममा फोनिजकर्मी उजाड रक्तिम, तामाङ पत्रकार संघ बागमती प्रदेश सचिव जगतमान बल, प्रेस संगठन काभ्रेका अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ, नेवा पत्रकार राष्ट्रिय दवुका सचिव बिपस्ना शाक्य, पत्रकार जित बहादुर लामा लगायतले फोनिजले आफ्नो नीति तथा विधान समय अनुसार परिमार्जन गर्दै जानू राम्रो कुरा भएको बताए भने सबै विधाका मिडिया र समुदायलाइ समेटेर उत्कृष्ट नीति र विधान बनाउन शुभकामना समेत व्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज काभ्रेका सचिव सुरज श्रेष्ठले सन्चालन गरेको सो कार्यक्रममा सदस्यहरुले नीति तथा विधान सम्मेलनका लागि विभिन्न सुझावहरु राखेका छन् । फोनिजले आगामी फागुन २७ र २८ गते मधेस प्रदेशमा नीति तथा विधान सम्मेलन गर्दै छ ।