काठमाडौंः कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलमा शुक्रबार कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो । सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौंलगायत पहिचानवादी संस्थाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीमध्ये एक राजन मिकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडोभन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने तर्क राखेका छन् । उनले नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने जनाए । राज्यपक्ष शुरुवाती चरणमा गम्भीर नबने पनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने उनको भनाइ छ ।
प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर्, पहिचानका आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमांकन गर्, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई सहिद घोषणा गरलगायतका नाराहरु लगाएका लिए ।
