काठमाडौंः गाई काटेको अभियोगमा रसुवा र सोलुखुम्बुबाट गरी ७ जना पक्राउ परेपछि विभेदकारी कानुन खारेज गर्नुपर्ने भन्दै काठमाडौंँको माइतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ । विभेदकारी कानुन खारेजी संघर्ष समितिले उक्त विरोध प्रदर्शन गरेको हो । आदिवासीहरुले आदिमकालदेखि नै गाईको मासु खाँदै आएको तर एकल जातिय राज्यसत्ताले कानुन नै बनाएर खान नदिएको र आदिवासीहरुको हकअधिकार एवं संस्कृतिमाथि दमन गरेको प्रदर्शनकारीहरुको आरोप छ ।
सविंधानमा धर्मनिरपेक्ष लेखिए पनि व्यवहारमा भने अझै हिन्दु राष्ट्रकै धङधङीबाट ग्रसित रहेको उनीहरुको भनाइ छ । प्रदर्शनकारीहरुले प्रदर्शनस्थलमा नाराबाजी गर्नुका साथै विभिन्न प्लेकार्ड र पोष्टरहरु समेत प्रदर्शन गरेर विरोध गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरुले राज्यले अझै पनि गाई काटेकै अभियोगमा पक्राउ गरिरहने हो भने कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुने समेत जनाएको छ ।