October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

ज्याला-श्रम र पुँजी

२०८१ चैत्र २८

934

  • कार्ल माक्र्स

१. ज्याला भनेको के हो ? ज्यालाको निर्धारण कसरी हुन्छ ?

धेरै कामदारहरूलाई सोधिएको थियो, “तपाईंले कति ज्याला पाउनुहुन्छ ?” कसैले जवाफ दिनेछन्, “म एक दिनमा दुई सिलिङ पाउँछु”  यस्तै । उद्योगका विभिन्न शाखाहरू जसमा उनीहरू कार्यरत छन्, उनीहरूले एक निश्चित कार्य पूरा गर्नका लागि आआफ्ना रोजगारदाताहरूबाट प्राप्त हुने रकमहरू उल्लेख गर्नेछन् । उदाहरणका लागि, लिननको एक यार्ड बुनाईका लागि, वा टाइपराइटरको पृष्ठ सेट गर्नका लागि तिनीहरूको जवाफको विविधताका बावजुद, तिनीहरू सबै एउटा कुरामा सहमत हुनेछन्, कि ज्याला भनेको पुँजीपतिहरूले कामको निश्चित अवधिका लागि वा कामको निश्चित मात्राका लागि तिर्ने रकम हो ।

फलस्वरूप, पुँजीपतिहरूले उनीहरूको श्रम पैसाले किन्छन् र पैसाका लागि उनीहरूले आफ्नो श्रम बेच्छन् भन्ने देखिन्छ । तर यो केवल भ्रम हो । उनीहरूले वास्तवमा पुँजीपतिहरूलाई पैसाका लागि आफ्नो श्रमशक्ति बेच्दछन् । यो श्रमशक्तिलाई पुँजीपतिहरूले एक दिन, एक हप्ता, एक महिना आदिका लागि खरिद गर्छन् । र यसलाई किनेपछि, उसले निर्धारित समयमा कामदारलाई श्रम गराएर यसको प्रयोग गर्दछ । पुँजीपतिले तिनीहरुको श्रमशक्ति (उदाहरणका लागि दुई सिलिङमा) जति पैसाले किनेको छ, त्यति नै पैसाले उसले निश्चित मात्रामा चिनी वा अन्य कुनै पनि वस्तु किन्न सक्थ्यो । पुँजीपतिले २ सिलिङमा किनेको २० पाउण्ड चिनी, २० पाउण्ड चिनीको मूल्य हो । उसले २ सिलिङमा किनेको १२ घण्टाको श्रमशक्तिको प्रयोग, १२ घण्टाको श्रमको मूल्य हो । श्रमशक्ति, त्यसो भए, एक वस्तु हो, जो चिनी भन्दा न ज्यादा हो, न कम नै हो । श्रमशक्ति घडीद्वारा मापन गरिन्छ, चिनी तराजुद्वारा ।

तिनीहरूको वस्तु, श्रमशक्ति, मजदुरहरूले पुँजीपतिको वस्तुका लागि, पैसाका लागि आदानप्रदान गर्छन् र यसबाहेक यो आदानप्रदान एक निश्चित अनुपातमा हुन्छ । श्रमशक्तिको प्रयोग यति लामो समयका लागि यति पैसा । बाह्र घण्टाका लागि बुनाईको लागि दुई सिलिङ । अनि के यो दुई सिलिङले अन्य सबै वस्तुहरूको प्रतिनिधित्व गर्दैनन् जुन मैले दुई सिलिङमा किन्न सक्छु ? तसर्थ, वास्तवमा, मजदुरले आफ्नो वस्तु, श्रमशक्ति, सबै प्रकारका वस्तुहरूका लागि, र यसबाहेक, एक निश्चित अनुपातमा साटासाट गरेको छ । उसलाई दुई सिलिङ दिएर पुँजीपतिले उसको दिनभरीको कामको बदलामा यति मासु, यति लुगा, यति काठ, उज्यालो आदि दिएको छ । त्यसैले यी दुई सिलिङले अन्य वस्तुहरूका लागि श्रमशक्तिको आदानप्रदान, श्रमशक्तिको विनिमय मूल्यको सम्बन्धलाई व्यक्त गर्दछ ।

पैसामा अनुमानित वस्तुको विनिमय मूल्यलाई यसको मूल्य भनिन्छ । त्यसैले ज्याला श्रमशक्तिको मूल्यको एउटा विशेष नाम मात्र हो, र यसलाई सामान्यतया श्रमको मूल्य भनिन्छ; ज्याला यस अनौठो वस्तुको मूल्यको विशेष नाम हो, जसको भण्डार मानव रगत र पसिना बाहेक अरू कुनैमा छैन ।

हामी कुनै पनि कामदारलाई लिऔः उदाहरणका लागि, एक सूचीकार । पुँजीपतिले उसलाई तान र धागो आपूर्ति गर्छन् । सूचीकारले आफूलाई काममा लगाउँछ, र धागो कपडामा परिणत हुन्छ । पुँजीपतिले कपडालाई कब्जामा लिन्छ र यसलाई उदाहरणका लागि २० सिलिङमा बेच्छ । अब के सुचीकारको ज्याला कपडाको २० सिलिङको, कामको उत्पादनको अंश हो ? कुनै अर्थमा होइन । कपडा बेच्नुभन्दा धेरै अघि, सायद यो पूर्ण रूपमा बुन्नु धेरै अघिनै, सूचीकारले आफ्नो ज्याला पाइसकेको हुन्छ । त्यसोभए, पुँजीपतिले ज्याला कपडाबाट प्राप्त गर्ने पैसाबाट होइन, तर पहिले नै गोजीमा रहेको पैसाबाट तिर्छ । जसरी तान र धागो ती बुनाइ गर्ने कामदारको उत्पादन होइन, जसलाई रोजगारदाताले आपूर्ति गर्छ, ठीक त्यसैगरी ती वस्तुहरू जुन उसले आफ्नो वस्तु –श्रमशक्तिको बदलामा प्राप्त गर्छ, त्यो उसको उत्पादन होइन । यो सम्भव छ कि रोजगारदाताले कपडाका लागि कुनै पनि क्रेता फेला पार्न सकेनन् । यो सम्भव छ कि उसले यसको बिक्रीबाट कामदारको पारिश्रमिकको रकम पनि प्राप्त गरेन । यो सम्भव छ कि उसले यसलाई सूचीकारको पारिश्रमिकको अनुपातमा धेरै लाभदायक रूपमा बेच्छ । तर यी सबै कुरा सूचीकारसँग सम्बन्धित हुँदैनन् । आफ्नो विद्यमान सम्पत्तिको एक भाग, आफ्नो पुँजीबाट पुँजीपतिले सूचीकारको श्रमशक्तिलाई ठीक त्यहि तरिकाले किन्छ, जसरी आफ्नो सम्पत्तिको अर्को भागबाट उसले कच्चा माल (धागो) र श्रमको साधन (तान) किनेको हुन्छ । यी खरिदहरू गरेपछि र तिनमा श्रमशक्ति पनि समावेश छ जसको आवश्यकता कपडा उत्पादन गर्नका लागि हुन्छ, उसले केवल आफ्ना कच्चा पदार्थ र श्रमका उपकरणहरूको साथ कपडा उत्पादन गर्छ । हाम्रो राम्रो बुनाइ गर्ने सूचीकार पनि श्रमका उपकरणहरू मध्ये एक हो, र यस दृष्टिकोणमा तानसँग समान छ, उसले उत्पादनमा (कपडामा) वा उत्पादनको मूल्यमा त्यत्ति नै हिस्सा राख्दछ जति तानले राख्दछ ।

तसर्थ ज्याला, आफैले उत्पादन गरेका वस्तुहरूमा कामदारको अंश होइन । ज्याला पहिले नै विद्यमान वस्तुहरूको त्यो अंश हो जसबाट पुँजीपतिहरूले निश्चित मात्रामा उत्पादक श्रमशक्ति खरिद गर्छन् । फलस्वरूप, श्रमशक्ति एउटा वस्तु हो जसलाई यसको मालिक, मजदुरले पुँजीपतिहरूलाई बेच्दछ । उसले यसलाइ किन बेच्छ ? यो जीवित रहनको लागि हो ।

तर श्रमशक्तिलाई चलायमान बनाउनु (अर्थात, काम गर्नु) मजदुरको आफ्नै जीवनको सक्रिय अभिव्यक्ति हो । अनि यो जीवन क्रियाकलाप उसले जीवनको आवश्यक साधनहरू सुरक्षित गर्न अर्को व्यक्तिलाई बेच्छ । त्यसकारण, उनको जीवन क्रियाकलाप आफ्नो अस्तित्त्व सुरक्षित गर्ने माध्यम मात्र हो । उसले जिउँदो रहनका लागि काम गर्छ । उसले श्रमलाई आफ्नो जीवनको हिस्साको रूपमा लिँदैन बरु त्यो उसको जीवनको बलिदान हो । यो एउटा वस्तु हो जुन उसले अरुलाइ लिलामी गरेको छ ।त्यसकारण, उसको क्रियाकलापको उत्पादन उसको क्रियाकलापको उद्देश्य होइन । उसले बुनेको रेशम, उसले खानीबाट निकालेको सुन, उसले बनाएको महल आफ्नो लागि उत्पादन गरेको होइन । उसले आफ्नो लागि जे उत्पादन गर्छ त्यो ज्याला होस र रेशम, सुन र महललाई उसको लागि जीवनको आवश्यकताहरूको एक निश्चित मात्रामा रुपान्तरण गरिन्छ, सम्भवतः कपासको ज्याकेट, तामाको सिक्का, र छाप्रोमा । र १२ घन्टा लामो बुन्ने, कात्ने, खन्ने, घुमाउने, निर्माण गर्ने, बेल्चा हान्ने, ढुङ्गा तोड्ने, बोक्ने, र यस्तै अन्य काम गर्ने मजदुर के यो १२ घण्टाको बुनाई, कताई, बोरिंग, घुमाइ, निर्माण, बेल्चा हनाइ, ढुङ्गा तोडाइ, जसलाई उसले जीवनको अभिव्यक्ति, जीवनको रूपमा मान्दछ ? ठीक यसको विपरीत, उसको लागि जीवन त्यहाँ सुरु हुन्छ जहाँ यो क्रियाकलाप बन्द हुन्छ, टेबलमा, भोजनालयमा, ओछ्यानमा । अर्कोतर्फ, १२ घण्टा कामको बुनाई, कताई, बोरिंग, र यस्तै अन्यको कुनै अर्थ छैन तर, केवल कमाईको रूपमा, जसले उसलाई टेबलमा बस्न, भट्टीमा खान, र ओछ्यानमा सुत्न सक्षम बनाउँछ ।

यदि रेशम किराको कताईको उद्देश्य झुसिलकिराको रूपमा यसको जीवनचक्र लामो पार्नु हो भने, यो मजदुरको उत्तम उदाहरण हुनेछ । श्रमशक्ति सधैँ एउटा वस्तु (व्यापारिक वस्तु) थिएन । श्रम सधैँ ज्याला श्रम अर्थात स्वतन्त्र श्रम थिएन । दासले आफ्नो श्रमशक्ति दास मालिकलाई बेचेको थिएन, जस्तै गोरुले आफ्नो श्रम किसानलाई बेचेको हुँदैन । दास, आफ्नो श्रमशक्तिसहित, आफ्नो मालिकलाई एकैपटकमा सदाका लागि बेचिएको थियो । ऊ एउटा वस्तु हो जुन एक मालिकको हातबाट अर्कोको हातमा जान सक्छ । ऊ आफैमा एउटा वस्तु हो, तर उसको श्रमशक्ति उसको वस्तु होइन । मोहीले आफ्नो श्रमशक्तिको एउटा अंश मात्र बेच्छ । उसले जमिनको मालिकबाट ज्याला पाउने होइन, बरु जमिनको मालिकले उबाट कुत लिन्छ । मोही माटोको हो, र माटोको मालिकको लागि उसले त्यसको फल सुम्पिन्छ) । अर्कोतर्फ, स्वतन्त्र मजदुरले आफैलाइ र त्यो पनि अंशअंशमा बेच्छ । उसले आफ्नो जीवनको आठ, १०, १२, १५ घण्टा प्रत्येक दिन, उच्चतम बोलीदाता, कच्चा माल, उपकरण, र जीवनका साधनहरूको मालिकलाई अर्थात, पुँजीपतिलाई लिलामी गर्दछ । मजदुर न त मालिकको हो न माटोकै, उसको दैनिक जीवनको आठ, १०, १२, १५ घण्टा जसले किन्छ ऊ उसको हो । कामदारले पुँजीपति, जसलाई उसले आफूलाई बेचेको छ, त्यतिपटक छोड्दछ जति पटक उसले चाहन्छ । र, पुँजीपतिले उसलाई त्यतिपटक निकाला गर्छ जतिपटक उसले चाहन्छ । जतिपटक उसले कुनै उपयोग पाउँदैन वा चाहिएको उपयोग पाउँदैन । तर कामदार, जसको आयको एक मात्र स्रोत आफ्नो श्रमशक्तिको बिक्री भएकोले उसले खरीददारहरु अर्थात पुँजीपति वर्ग सम्पूर्ण रुपमा छोड्न सक्दैन, नत्र उसले आफ्नै अस्तित्वलाई त्याग्नु पर्छ । उ यो वा त्यो पुँजीपतिको लागि होइन, बरु पुँजीपति वर्गकै हो । र, उसले आफ्नो मालिक आफै भेट्टाउनुपर्छ अर्थात, त्यो पुँजीपति वर्गबाट एक खरीददार पाउनुपर्छ ।

पुँजी, ज्याला र श्रमको सम्बन्धमा अझ नजिकबाट जानुअघि, हामी ज्याला निर्धारणमा ध्यानमा आउने सबैभन्दा सामान्य सर्तहरू संक्षिप्त रूपमा प्रस्तुत गर्नेछौँ । हामीले देख्यौँ, ज्याला भनेको निश्चित वस्तु, श्रमशक्तिको मूल्य हो । त्यसैले, अन्य प्रत्येक वस्तुको मूल्य निर्धारण गर्ने त्यही नियमद्वारानै ज्याला निर्धारण गरिन्छ । त्यसपछि प्रश्न उठ्छ, वस्तुको मूल्य कसरी निर्धारण गरिन्छ ?

Marx/Engels Internet Archive -marxists.org_ 1993, 1999 बाट लिइएको
अनुवादकः असीम राई