प्रस्तावना
नेपालमा हाल आफूलाई एक नास्तिकको रुपमा चिनाउनेहरुलाई केही नैतिक प्रश्नहरुको सामना गर्नु परेको छ । नास्तिकहरुका विरुद्ध यस्तो व्यवहार गरिन्छ कि मानौं नास्तिकहरुले कुनै ईश्वरीय सत्ताको अस्विकृतिसँगै सम्पूर्ण मानवीय नैतिक मूल्य र मान्यताहरुको हत्या गरिदिएका छन् र अब कथित आस्तिक तथा नैतिकवान व्यक्तिहरुको काँधमा नास्तिकहरुसँग सामाजिक सञ्जालहरुमा, सडकका गल्लीहरुमा र खुला चौरमा “नैतिक युद्ध” लडि नैतिकताको रक्षा गर्नुपर्ने महान जिम्मेवारी आइपरेको छ । अब आस्तिकहरुले आफ्नो आस्तिक नैतिकताको प्रतिरक्षा गर्ने नै हुन् भने म नास्तिकले पनि नास्तिक नैतिकताको प्रतिरक्षा गर्नुपर्ने नै देखियो । म यस लेखमा नास्तिकता र विज्ञान, नास्तिकता र दर्शन र नास्तिकता र नैतिकताका विषयमा चर्चा गर्नेछु ।
१. नास्तिकता र विज्ञान
हुन त नास्तिकता र विज्ञानको कुनै प्रत्यक्ष सम्बन्ध हुँदैन र वैज्ञानिक रुपमा विज्ञता भएको व्यक्ति अनिवार्य रुपमा नास्तिक नै हुन्छ भन्ने पनि हुँदैन । एक वैज्ञानिक विशेषज्ञता सहितको व्यक्ति कट्टर आस्तिक हुन पनि सम्भव छ र एक नास्तिक व्यक्ति वैज्ञानिक रुपमा विशेषज्ञ नहुन पनि सक्छ । यद्यपि, कुनै वैज्ञानिक विशेषज्ञता भएको व्यक्ति आस्तिक हुन्छ भने उसका अगाडि दुई वटा चुनौती खडा हुन्छन्, प्रथमतः उसले आफ्नो वैज्ञानिक विशेषज्ञतामा भर परेर आफूलाई नक्कली आस्तिक भन्नुपर्ने हुन्छ र उसले मान्दै आएको धार्मिक कथालाई आफ्नो वैज्ञानिक विशेषज्ञतामा रहेर केवल एक मिथ्या हो भन्नुपर्ने हुन्छ । यदि उसले यो भन्छ भने ऊ एक धार्मिक नास्तिक हुन्छ । यो धार्मिक नास्तिक शब्दको अर्थ के हो त ? जो परम्परा, संस्कृति र मानिसका खातिर कुनै धर्म मानिदिन्छन्, जस्तो कि हामीले देखिरहेका हुन्छौँ केहिले आफूलाई हिन्दु नास्तिक, इसाई नास्तिक वा अन्य नास्तिकको कित्तामा राखेका हुन्छन् । दोश्रोः या त उसले आफ्नो आस्तिकता प्रति बफादार रहँदै उसले पाएको वैज्ञानिक चेतना गलत हो भनेर आम घोषणा गर्नुपर्ने हुन्छ । यदि उसले यि दुई मध्ये एउटा पनि कित्तामा राख्दैन भने उसले बहाना बनाउनु पर्छ कि धर्म र विज्ञान सह अस्तित्वमा रहन सक्छन् र धार्मिक कथाहरुलाई आलङ्कारिक रुपमा व्याख्या गर्नुपर्दछ । यो बहाना बनाउँदा पनि उनीहरुलाई यो अप्ठेरो हुन्छ कि ब्रह्माण्ड वा जीवनको उत्पत्तिको विषयलाई उनीहरुको धर्मको दावी अनुसार कसरी विज्ञानसँग मिलापमा ल्याउने ? कसरी कुनै धर्मको मानिसको सृष्टिको कथालाई डार्विनको विकासवादको वैज्ञानिक सिद्धान्तसँग मिल्ने गरी आलङ्कारिक व्याख्या गर्ने ? तर नास्तिकहरुको लागि यो द्विविधा रहँदैन, कुनै पनि नास्तिक प्रमाणको अभावका आधारमा नास्तिक हुने हो, न कि उसले ईश्वर छैन भनी प्रमाणित गरेर । यस विषयमा म अर्को बुँदा नास्तिकता र दर्शनमा व्याख्या गर्नेछु ।
विज्ञानले प्रष्ट रुपमा ईश्वर छैन भन्ने प्रमाणित नगरे पनि हालसम्म भएका वैज्ञानिक उपलब्धीहरुले ईश्वर छ, भन्ने तर्कलाई शून्य बल दिन्छ ।
धेरै जसो नास्तिकहरुको तर्क यो रहेको हुन्छ कि विज्ञान र धर्म दुई फरक धार भएका कारण विज्ञानले धर्मको वा धर्मले विज्ञानको आलोचना गर्नु उचित हुँदैन । यो कथित “धार्मिक नास्तिकहरु” का लागि ठिकै तर्क पनि होला । तर मेरा लागि यहाँ अलिक समस्या छ । म एक विज्ञानलाई सञ्चार गर्ने व्यक्ति (Science Communicator) हुँ, जब धर्मका कहानीहरु विज्ञानका आधारभूत नियमहरुसँग बाझिन्छन्, त्यहाँ मलाई समस्या पैदा हुन्छ । जब कोही आफ्नो धर्मको धार्मिक उन्मादमा डार्विनवादको गलत व्याख्या गर्दै मानिसलाई व्यङ्ग्यात्मक रुपमा “बाँदरको सन्तान” भन्छन्, तब मैले वास्तविक डार्विनवादको पक्षमा बोल्दै त्यो धार्मिक उन्मादको आलोचना गर्नैपर्ने बाध्यता महसुस गर्छु र यो महसुस किमार्थ पनि अतिरञ्जित वा भावनामा बगेर आएको अनुभूति मात्र होइन । यो एक विज्ञान सञ्चार गर्ने व्यक्तिको रुपमा मेरो प्राथमिक कर्तव्य पनि हुन जान्छ ।
अब हाल सम्मका वैज्ञानिक अनुसन्धानले आस्तिकताका पक्षमा के कति प्रमाणहरु वा आधारहरु प्रस्तुत गर्छन्, त्यो सम्बन्धमा हेरौँ । आस्तिकताको पहिलो आधार नै यो ब्रह्माण्ड र पृथ्वीमा जीवनको रचना गर्ने एक सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी सृष्टिकर्ता हुनुहुन्छ भन्ने हो । यस दावीलाई हामी सृष्टिवाद भन्ने गर्छौं, तर सन् १९३१ मा बेल्जियमका वैज्ञानिक जोर्जेस लेमाइत्रेले बिग ब्याङको अवधारण दिएपछि र पछि यसका पक्षमा विविध प्रमाणहरुको खोजी भएपछि सृष्टिवादलाई भौतिक विज्ञानको क्षेत्रबाट एउटा चुनौती थपियो । त्यसैगरी जीव विज्ञानका क्षेत्रबाट २४ नोबेम्भर १८५९ का दिन सर चाल्र्स डार्विनले जातिहरुको उत्पत्ति पुस्तकको प्रकाशन गरेर सृष्टिवादलाई ठुलो चोट दिएका थिए । उक्त चोटबाट सृष्टिवाद आजसम्म छटपटाइरहेको छ । सन् १९५२ मा ह्यारोल्ड युरे र स्टनली मिलरले बहुचर्चित मिलर–युरे प्रयोग गरे पश्चात पृथ्वीको प्राचीन वातावरणमा जीवन स्वतः बन्न सक्थ्यो भन्ने तथ्यलाई बल पुर्याएपछि हामीलाई सिर्जने सृष्टिकर्ता असान्दर्भिक हुन पुग्यो ।
यदि सबै थोकको अस्तित्वमा एक कारण अनिवार्य हुनुपर्छ र ईश्वर स्वयम् पनि अस्तित्वमा छ भने ईश्वरको अस्तित्वको कारण के हो ?
निष्कर्षमा हामी यो भन्न सक्छौँ कि विज्ञानले प्रष्ट रुपमा ईश्वर छैन भन्ने प्रमाणित नगरे पनि हालसम्म भएका वैज्ञानिक उपलब्धीहरुले ईश्वर छ, भन्ने तर्कलाई शून्य बल दिन्छ । हामी धार्मिक सँगसँगै तार्किक हुन सक्दैनौं । विशेष गरी विज्ञानका क्षेत्रमा काम गर्ने व्यक्ति धार्मिक हुनपुग्यो भने उसले द्विविधाको सामना गर्नैपर्ने हुन्छ । धर्मको सबैभन्दा नकारात्मक पक्ष यो पनि हुन जान्छ कि धार्मिक सोचले अनुसन्धानबाट प्राप्त तथ्यहरु प्रति पूर्वाग्राही बन्न लगाउँछ ।
२. नास्तिकता र दर्शन
वैज्ञानिक आधारमा सृष्टिकर्ता मान्नुपर्ने आधार देखिएन अब हामी दर्शनको आधारमा ईश्वरको अस्तित्वलाई जाचौँ ।
क. कारण र परिणामको तर्क (Cosmological Argument)
यस तर्कले सबै घटनाहरु कुनै कारणको परिणाम हो भनेर दावी गर्दछ । अर्थात कुनै पनि थोक अस्तित्वमा छ, भने त्यो थोक अस्तित्वमा हुनुको कारण हुनुपर्छ । उदाहरणका लागि एउटा कुखुराको कारण एउटा अण्डा हो, र त्यो अण्डाको कारण फेरी एउटा कुखुरा नै हो । यसले एउटा शृङ्खला (अण्डा — कुखुरा— अण्डा — कुखुरा) तयार गर्छ । तर प्रश्न कहाँ उठ्छ भने संसारको पहिलो कुखुराको कारण के हो ? यदि ब्रह्माण्डमा सबै थोकको अस्तित्व छ भने ब्रह्माण्ड स्वयम्को अस्तित्वका कारण के हो ? यसलाई उत्तर दिन सृष्टिवादीहरुले तर्क गर्छन कि त्यहाँ एउटा यस्तो कारण हुनु आवश्यक छ जसद्वारा सबै थोक अस्तित्वमा आए, अर्थात पहिलो कारण ।
तर यहाँ एउटा समस्या छ, यदि सबै थोकको अस्तित्वमा एक कारण अनिवार्य हुनुपर्छ र ईश्वर स्वयम् पनि अस्तित्वमा छ भने ईश्वरको अस्तित्वको कारण के हो ? यदि ईश्वर यस्तो कारण हो जसको अस्तित्वको कुनै कारण छैन भने पूर्ववत् दार्शनिक तर्क “सबै अस्तित्वमा भएका थोकको अनिवार्य कारण हुनुपर्दछ” नै गलत ठहर्छ । यदि केही थोक जो अस्तित्वमा छन् तिनीहरु कारण र परिणामको नियम बाहिर रहेर पनि अस्तित्वमा रहन सक्छन भन्ने हाम्रो मत हो भने सम्भवतः ब्रह्माण्ड स्वयम् त्यस्तो थोक हुन सक्छ जसको अस्तित्वको कारण छैन, यदि यो विशेषाधिकार (कारण नहुनुपर्ने) ईश्वरमा मात्र लागु हुन्छ र हुनुपर्छ हो भने किन ईश्वरलाई मात्र यो विशेषाधिकार दिने ? सम्भवतः केही आस्तिकहरुको तर्क रहन्छ कि ईश्वर भन्ने कुरा समय र अन्तरिक्ष (Time and Space) भन्दा बाहिर रहेको कारण यो विशेषाधिकार ईश्वरलाई हुन्छ । समय र अन्तरिक्षभन्दा बाहिर भनेको कता हो त ? फेरी अर्को प्रश्न आस्तिकहरु तर्फ सोझिन्छ, फेरी आस्तिकहरुसँग उही बासी बाहाना रहन्छ कि हामी सीमित बुद्धि भएकाले असीमित ईश्वरको विषयमा बुझ्न नै सक्दैनौँ । यदि तपाईंको ईश्वर आफूलाई मैले (एक नास्तिकले) बुझ्ने गरि व्यक्त गर्न सक्दैन भने किन मैले ईश्वर छ भनिदिनुपर्ने ? किनकी तपाईंको ईवर नै चाहन्छ कि ऊ प्रतिका मेरा प्रश्नहरुको सिधा सिधा जवाफ म नपाउँ ।
मैले माथि ब्रह्माण्ड स्वयम् त्यस्तो थोक हुन सक्छ जसको अस्तित्वको कारण छैन, भनेको थिए । यस भनाइमा मैले ब्रह्माण्डलाई ईश्वरको प्रतिद्वन्द्वी बनाउन खोजेको होइन, यदि म ब्रह्माण्डलाई ईश्वरको प्रतिद्वन्द्वी बनाउँछु भने म आफै गलत हुन्छु, किनकी ब्रह्माण्डलाई मैले ईश्वरको प्रतिद्वन्द्वी बनाउनुको तात्पर्य हुन्छ ब्रह्माण्डलाई नै म ईश्वर बनाउदैछुँ । उक्त भनाइमा मैले एक भौतिक विज्ञानको सत्यता मात्रै व्यक्त गरेको हुँ । वैज्ञानिकहरु भन्छन कि ब्रह्माण्ड पदार्थको सकारात्मक उर्जा र गुरुत्वाकर्षणको नकारात्मक उर्जाले बनेको छ, र ब्रह्माण्डको कुल ऊर्जा शुन्य छ । यस अनुसार हेर्ने हो भने त ब्रह्माण्डलाई कसैले बनाएन । केही बन्न सृष्टिकर्ता चाहिने हो शुन्य बन्न चाहिदैन ।
ख. प्रमाणको भार (Burden of Proof)
यो आस्तिकहरुको लागि ठुलो चुनौति हो कि प्रमाणको भार जहिले पनि उनीहरु माथि रहन्छ । म एक नास्तिकका हैसियतले ईश्वरको अस्तित्व छैन भनेर प्रमाणित गर्न बाध्य छैन । तर, आस्तिकहरु एक आस्तिकका हैसियतले जहिले पनि ईश्वरको अस्तित्व छ भनेर प्रमाणित गर्न बाध्य हुन्छन् । के मैले यसो भन्दै गर्दा के म एक नास्तिक भएर नास्तिकहरुलाई प्रमाण खोज्नुपर्ने बाध्यताबाट मुक्त गर्दैछुँ ? होइन, म त्यसो गरिरहेको छैन, म विज्ञानको विद्यार्थीको रुपमा जहिले पनि प्रमाण खोजीलाई महत्व दिन्छु, तर यहाँ म के भन्न खोज्दैछु भने जसले सकारात्मक दावी गर्छ, प्रमाणको भार त्यही व्यक्तिमा रहन्छ । यसलाई म एक उदाहरणबाट प्रष्ट पार्न चाहन्छु, मानौ मैले एउटा दावी गरे कि मेरो घरमा सुनको अण्डा पार्ने कुखुरा छ, र कसैले मेरो उक्त दावीमा विश्वास गर्दैन । अब यो प्रमाणित गर्नुपर्ने मेरो जिम्मेवारी हो कि मेरो घरमा सुनको अण्डा पार्ने कुखुरा छ । यो प्रमाणको भार मेरो घरमा सुनको अण्डा पार्ने कुखुरा छैन भन्ने व्यक्तिमा पर्दैन ।
प्रसिद्ध अमेरिकी अन्तरिक्ष वैज्ञानिक कार्ल सेगनले आफ्नो पुस्तक The Demon–Haunted World Science as a Candle in the Dark मा भनेका छन, “Extraordinary claims need extraordinary evidence” अर्थात “असाधारण दावीहरुलाई असाधारण प्रमाणको खाँचो रहन्छ ।” यदि कसैले ईश्वरको अस्तित्व छ भन्ने जस्तो असाधारण दावी गर्छ भने उसलाई आफ्नो दावी प्रमाणित गर्न असाधारण प्रमाणको आवश्यकता पनि रहन्छ । हामी नास्तिकहरुको सवालमा, हामीले कुनै त्यस्तो असाधारण दावी गरेका छैनौँ, ता कि हामीले असाधारण प्रमाण जुटाउनु परोस् । हामी नास्तिकहरु केवल प्रमाणको अभावमा अविश्वास गर्ने हो । कुनै आस्तिकले “मेरो घरमा सुनको अण्डा पार्ने कुखुरा छ,” भनेझैँ हावादारी रुपमा बिना कुनै ठोस प्रमाण “मेरो ईश्वर छ,” भनेर दावी गर्छ भने हामी नास्तिकहरु भनेकै भरमा विश्वास गरिहाल्ने अवस्थामा छैनौँ ।
ग. अज्ञानताबाट तर्कको समस्या (Fallacy of Argument from Ignorance)
आस्तिकहरुको सदैव यो दावी रहन्छ कि विज्ञानले आज प्रमाणित गर्न सकेन भन्दैमा त्यो छँदै छैन भन्ने होइन । यहाँ एक सत्यता पनि छ कि प्रमाणको अभाव कहिल्यै पनि अभावको प्रमाण हुँदैन । तर, समस्या कहाँ छ त भन्दा माथि उल्लेखित तथ्यहरुले ईश्वरको अस्तित्वलाई श्रद्धाञ्जली दिँदै गर्दा, विज्ञानले आज प्रमाणित गरेन भोली ईश्वरको अस्तित्व छ भनेर प्रमाणित गर्छ भन्नु केवल हावामा मुक्काबाजी गर्नु हो । हामीले ईश्वर छैन भनेर प्रयोगशालाबाट प्रमाणित गर्न नसक्नुको अर्थ कदापी यो होइन कि ईश्वर को अस्तित्व छ । यदि प्रमाणको अभावको आधारमा पनि ईश्वर छ भनेर भन्ने हो भने विज्ञानले प्रमाणित गरेका सृष्टिवाद विरोधी तथ्यहरुसँग उक्त दावी बाझीन जान्छ ।
धर्म कदापि नैतिकताको ठेकेदार हुन सक्दैन । नैतिकता मानव विकाससँगै विकसित तत्व हो र समाजको संरचना परिवर्तनसँगै नैतिकता आफै परिवर्तन हुन्छ ।
कतिपयको तर्क अनुसार विज्ञानले हालसम्म अलौकिक शक्ति छैन भनेर प्रमाणित गरिनसकेको अवस्थामा भोलिका दिनमा विज्ञानले अलौकिक शक्ति छ भनेर प्रमाणित गर्न सक्छ । यसमा म सहमत छु कि भोलि विज्ञानले उक्त अलौकिक शक्ति प्रमाणित गर्न सक्छ, तर म यस कुरामा पक्का छु कि त्यो अलौकिक शक्ति हाल अस्तित्वमा रहेका संगठित धर्महरुको अलौकिक शक्ति (ईश्वर) हुने छैन । किन कि संगठित धर्महरुको उच्च शक्तिलाई त डार्विन, हकिङ जस्ता वैज्ञानिकहरुले वैज्ञानिक प्रमाणको सामथ्र्यमा दागबत्ती दिइसकेका छन् ।
३. नास्तिकता र नैतिकता
आस्तिकहरुले हामी नास्तिकहरुलाई लगाउने मुख्य आरोप भनेकै नास्तिकहरु अनैतिक हुन्छन् भन्ने हो । उनीहरुका आधारमा उनीहरुको धर्म र उनीहरुको शास्त्रले भनेको कुरा नै नैतिकताको अन्तिम सत्य हो । यो भन्दै गर्दा आस्तिकहरुले यो तथ्यलाई बेवास्ता गर्छन कि नैतिकता निरपेक्ष हुँदैन । नैतिकता जहिले पनि सापेक्ष हुन्छ । उनीहरुको शास्त्रले १००० वर्ष अघि जे कुरा लाई नैतिक मानेको थियो त्यो १००० वर्ष पछि अनैतिक हुन सक्छ । उदाहरणका लागि हिजोको दिनमा बहुविवाह नैतिक थियो, तर आज अनैतिक छ । हिजो हाम्रो भोजन खोजी गर्ने शिकारी पुस्तामा विवाहको अवधारणा थिएन, सन्तानोत्पादनका लागि मात्रै यौन सम्बन्ध राखिन्थ्यो, श्रीमान श्रीमती जस्तो केही अवधारणा थिएन तर आज त्यही अवस्थामा हामी रहन सक्दैनौँ ।
यदि आस्तिकहरुले दावी गरे अनुसार नैतिकता निरपेक्ष हुन्छ र नैतिकता परिवर्तनशील हुँदैन भने उनीहरुको धर्मशास्त्रमा भएको बहुविवाह (एउटै पत्नीका पाँच पाण्डव पति) बेमेल विवाह (५१ वर्षको मोहम्मदको ६ वर्षकी आयसा पत्नी), सजातीय विवाह (अब्राहामको आफ्नै सौतेनी बहिनी सारासँगको विवाह) आदि सबैलाई अहिलेको समाजमा पनि नैतिक मानिदिनुपर्ने हुन्छ । वास्तवमा यदि हामीले स्वर्गको लालच वा नर्कको त्रास देखाएर आफ्ना सन्तानहरुलाई नैतिक बनाउने प्रयास गर्दैछौँ भने हामी उनीहरुकाविरुद्ध मानसिक शोषण र अन्याय थोपर्दैछौंँ । हामीले आफू वा आफ्ना सन्तानलाई नैतिक बनाउन कुनै ईश्वरको आवश्यकता छैन जस्तो कि विकासवादी जीववैज्ञानिक डा. रिचार्ड डावकिन्स भन्नुहुन्छ, “असल बन्न ईश्वरको आवश्यकता छैन ।” यदि हामी नास्तिकहरु वास्तवमै अनैतिक छौँ भने म आस्तिकहरुलाई खुला चुनौती दिन्छु कि जेलमा गएर जनगणना गर्नुहोस् र पत्ता लगाउनुस कि अपराधीहरु मध्ये कति प्रतिशत नास्तिक छन् र कति प्रतिशत आस्तिक छन् ?
मलाई अचम्म लाग्छ, धर्म जसले नैतिकताको ठेक्का लिएको छ, त्यहि धर्म लिङ्गभेद, जातिभेद, धर्मयुद्ध, क्रुसेड र जिहाद जस्ता अनैतिक कार्यको हिमायति बनेको छ । समग्रमा धर्म कदापि नैतिकताको ठेकेदार हुन सक्दैन । नैतिकता मानव विकाससँगै विकसित तत्व हो र समाजको संरचना परिवर्तनसँगै नैतिकता आफै परिवर्तन हुन्छ ।
४. निष्कर्ष
धर्म र ईश्वर वैज्ञानिक, दार्शनिक र नैतिक कुनै पनि रुपमा मानव जीवनका लागि अपरिहार्य छैन । समाज विकासको कुनै चरणमा धर्म विकसित भयो, त्यो समयमा धर्मको खाँचो पनि रहेको हुन सक्छ, तर आजको समयमा मानव समाजलाई न धर्मको न ईश्वरको आवश्यकता छ । हामी बिना ईश्वर एक वैज्ञानिक सोचसहित नैतिक जीवन जिउन सक्छौँ ।