काठमाडौंः पाटन संयुक्त क्याम्पसमा स्नातक तहको बी.एस.सी सी.एस.आईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । क्याम्प्सका स्ववियु सभापति, बि.एस.सी सि.एस.आइ.टी कार्यक्रम संयोजक, क्याम्पस प्रशासन लगायतको संलग्नतामा योग्यता मिचेर आफू निकटका विद्यार्थीलाई भर्ना गरिएको थियो ।
नियमविपरीत भर्ना भएको उजुरी परेपछि त्रि.विले छानबिन समिति बनाएको थियो । त्रि.विको विज्ञान तथा प्रविधि संकायका सहायक डीन खगेश्वर मण्डलका अनुसार छानबिन समितिले योग्यता मिचेर भर्ना भएको प्रतिवेदन बुझाएपछि योग्यताको आधारमा भर्ना गर्न पाटन क्याम्पसलाई गत मंसिर १७ मा नै निर्देशनसहितको पत्र पठाइएको थियो ।
उक्त निर्देशनसहितको पत्रलाई कार्यान्वयनमा गर्दै क्याम्पसले पनि मंसिर २३ गते भर्ना रद्ध गरिएको सूचना जारी गरेको थियो । त्यस्तै क्याम्पसले भर्ना रद्ध गरेपछि पुनः मेरिटका आधारमा पाँचौ सूचीमा परेका विद्यार्थीको नयाँ भर्नाका लागि मंसिर २६ सम्मको समयावधि तोक्दै अर्को सूचना जारी गरेको छ ।
यसअघि बी.एस.सी सी.एस.आईटी कोर्सको नयाँ विद्यार्थी भर्ना प्रक्रियामा क्याम्पस प्रशासन, स्ववियु, डीन लगायतको संलग्नतामा भएको अनियमितताविरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, पाटन संयुक्त क्याम्पस समितिले निमित्त क्याम्पस प्रमुख समक्ष भर्ना प्रक्रियामा भएको अनियमिततालाई तत्काल रोक लगाई मेरिटका आधारमा पुनः भर्ना गर्न मागपत्र बुझाएको थियो ।