केही बुर्जुवा मार्काका पश्चगामी विश्वकर्माहरूले दलित भित्रका विश्वकर्मा समुदायलाई गौरवीकरण गर्दै दलित भित्र पनि “विश्वकर्मा श्रेष्ठ हो” भन्ने भाष्य संस्थागत गर्न मिस्टर एण्ड मिस विश्वकर्मा आयोजना गरे । यी पश्चगामी विश्वकर्माहरू यत्तिमै रोकिएनन् । विश्वकर्माको सांस्कृतिक पहिरन (भेष) भनेर लाखे नाचमा प्रयोग हुने जस्तो कपोलकल्पित पहिरन पहिर्याएर दुई निर्दोष पात्रहरू मार्फत मञ्चमा प्रदर्शन गरे । केही बुर्जुवा विश्वकर्माहरूले आश्चर्य चकित हुँदै ताली पड्काए । मञ्चमा उभिएका तिनै बुर्जुवा विश्वकर्माहरूका पश्चगामी अगुवाहरू हर्षविभोर भावमा गौरवान्वित बने । फोटोशेसन मार्फत उक्त दुर्गन्धित सोच र प्रहसनलाई सामाजिक सञ्जाल मार्फत फैलाए ।
पश्चगामी बुर्जुवा विश्वकर्माहरूले यस्ता विखण्डनकारी कार्यक्रम गरेर समग्र दलित समुदायमा भ्रमको खेती गर्नु स्वभाविकै हो, किनकि हरेक समुदायमा केही न केही त लेण्डुप प्रवृत्तिका निकृष्ट मानव जन्मिएकै हुन्छन् । जस्तो कि चामलमा घुन हुनु । यी पश्चगामी स्वनाम/स्वजातधन्य बुर्जुवा विश्वकर्माहरूलाई सिङ्गो दलितले जसरी चामलबाट घुन टिपेर हुत्याइन्छ त्यसरी नै नहुत्याएसम्म यिनीहरूको हैसियत ठेगानमा आउँदैन ।
कसैले निर्माण गरेको गलत भाष्यलाई मानक बनाएर त्यसैको पछि दौडनु त कुहिरोको काग हुनु हो । पिँजडामा बन्दी बनेर अरुकै नक्कल गरिरहने पट्टु हुनु हो ।
कुनै पनि समुदायले आफ्नो जातमा गर्व गर्नु भनेको अर्को जातमाथि विभेद गर्नु हो । जात खासमा गर्व गर्ने विषय नै होइन । न प्रदर्शन गर्ने विषय नै हो । जातमा गर्व गर्नु त जातीय विभेदको निरन्तरता हो । जातमाथि गर्व गर्नु वा जातलाई गौरवीकरण गर्ने कुनै पनि कार्य वा कार्यक्रम गर्नु आजभन्दा पैँतीस सय वर्ष अघिदेखि लादिएको वर्ण व्यवस्थाले विकसित गर्दै ल्याएको जात व्यवस्थालाई थप संस्थागत गर्नु हो । जात व्यवस्थाले खडा गरेको तहगत संरचनामा दलित भित्रको विश्वकर्मा समुदाय खासमा अन्य दलित समुदायको हकमा पीडक समुदाय हो । भगत सर्वजित विश्वकर्माले शास्त्रार्थ गर्दै “हामी विश्वकर्मा ईश्वरका सन्तान हौँ, हामीले तीन डोरो जनै लगाउन पाउनु पर्छ”, भनेर राणा समक्ष राखेको बिन्तीपत्र यसको एउटा ज्वलन्त उदाहरण हो । मनुस्मृतिको जगमा बनेको मुलुकी ऐन–१९१० ले कानुनै बनाएर परिभाषित गरेको यथार्थ पनि यही हो । विश्वकर्मा समुदायले आज पनि मनुस्मृति र मुलुकी ऐन–१९१० मार्फत आफ्नै दलित समुदायमाथि विभेद गर्न बाध्य बनाएका कारण विगतमा आफ्नै समुदायमाथि जानअन्जानमा गरिएको विभेदप्रति आत्मालोचित हुँदै माफी माग्नुपर्ने ऐतिहासिक आवश्यकतालाई लत्याउँदै दलित भित्रकै अन्य समुदायलाई अपमान र थप खण्डीकरण हुन मद्दत पुग्ने गरी तथाकथित मिस्टर एण्ड मिस विश्वकर्मा र विश्वकर्माको सांस्कृतिक पहिरन भनेर कपोलकल्पित पहिरन प्रचार–प्रसार गर्दै दलित भित्रै पनि विश्वकर्मा श्रेष्ठ भनेर देखाउनु जातीय अहंकार र पाखण्डताको पराकाष्ठा हो । पश्चगामी बुर्जुवा विश्वकर्माहरूका यी निन्दनीय कुचेष्टाहरू एकत्रित दलित समुदायको समतामूलक अन्तरघुलन, अपनत्व, आत्मीयता र प्रेमिल भाइचारामाथिको निकृष्ट हमला हो । दलित भित्रै फुट पार्ने निन्दनीय षड्यन्त्र हो ।
महेन्द्रीय निरङ्कुश राजतन्त्र कालमा भाषा तथा साहित्य मार्फत हिन्दु उच्चजातीय पहाडिया आर्यखस अहंकारवादमा आधारित सौन्दर्य मूल्य निर्माण गरियो । यसको उपयोग गर्दै समाजले समुदाय विशेष सुन्दरता र कुरुपताको काल्पनिक सौन्दर्य मूल्य निर्माण गर्न थाल्यो । यसको ज्वलन्त उदाहरण यो हो कि कुनै दलितको घरमा राम्री छोरी जन्मी भने “कस्तो बाहुनी जस्ती राम्री” भनिनु । कुनै ब्राह्मणले रक्सी पिएर मात्तिदै हिँड्यो भने “कस्तो कामी दमैको जस्तो व्यहोरा गरेको” भनिनु । दलित समुदाय भित्र सुन्दरता भन्ने नै हुँदैन भन्ने भाष्य स्थापित गर्न निरङ्कुश पञ्चायती व्यवस्थाले ठूलै कसरत गरेकोले पढेलेखेकै व्यक्तिमा समेत आज सम्म पनि त्यो भाष्यले उस्तै काम गरेको देखिन्छ । विश्वकर्मा समुदायका केही बुर्जुवाहरू मिस्टर एण्ड मिस विश्वकर्मा प्रदर्शन गर्न लालायित हुनुको पछाडि विगतको त्यो दृष्टिकोणले पिरोलिएकाले पो हुन् कि ! त्यसो हो भने पनि जातीय सुन्दरताको होडबाजी गर्नु बुद्धिमता होइन ।
संसारका हरेक मानव सुन्दर छन् । कुरुप वा असुन्दर कोही छैनन् । हरेक मानवका फरक फरक गुण र विशेषता हुन्छन् । कसैको आँखा बल्ड्याङ्ग्रे होला । कसैको चिम्सा । कसैको ओठ बाक्लो होला कसैको पातलो । कसैको नाक चुच्चो होला । कसैको थेप्चो । महेन्द्रले गाजलु ती ठुला ठुला आँखा… पातली त्यो मधुर ओठ.. भनेकैले चिम्सा आँखा हुनेहरू कुरुप हुने हुन् त ? ठुला ओठ हुनेहरू कुरुप देखिन्छन् त ? यसो हुँदो हो त अफ्रिकी युवा/युवतीहरू पातलो ओठ भएकी युवा/युवती खोज्दै अन्य देश भौतारिनु पर्ने हो । चिम्सा आँखा हुने आदिवासी जनजाति युवा/युवतीहरू ठुला ठुला बल्ड्याङ्ग्रे आँखा हुने युवा/युवती खोज्दै हिँड्नु पर्ने हो ? त्यस्तो त कतै देखिदैँन । त्यसैले कसैले निर्माण गरेको गलत भाष्यलाई मानक बनाएर त्यसैको पछि दौडनु त कुहिरोको काग हुनु हो । पिँजडामा बन्दी बनेर अरुकै नक्कल गरिरहने पट्टु हुनु हो । मानव हुनु होइन । मानव त आलोचनात्मक चेत सहितको हुन्छ । सही र गलतलाई पर्गेल्दछ ।
२०१७ सालपछिको निरङ्कुश राजनीतिक परिपाटी र दमनपूर्ण स्थितिमा नेपाली युवा समुदाय पश्चिमा विकृत पुँजीवादी साम्राज्यवादी संस्कृतितर्फ आकर्षित हुन पुग्यो । नेपालमा भित्रिएको ब्युटी कन्टेस्ट यसको एउटा उदाहरण हो । मान्छेलाई आफूमा मात्र सीमित गरी समूहबाट पृथक राख्न, सामूहिकताबाट वितृष्णा जगाउन, इतिहास, समाज र यथार्थबाट विमुख गराउन, मै राम्रो, मै सुन्दर, मै उत्कृष्ट, मै अब्बल भन्ने जस्ता नाँजीवादी चिन्तनबाट लैस गराउन अनि आन्तरिक संसार र स्वैरकल्पनामा मात्रै रमाउने स्थिति सिर्जना गर्न आज विकृत पुँजीवादी साम्राज्यवादी संस्कृति भूमण्डलीकृत रुपमै हाबी छ । यसैको ज्वलन्त उदाहरण हो मिस्टर एण्ड मिस विश्वकर्मा प्रतियोगिता । यस विकृत पुँजीवादी साम्राज्यवादी संस्कृतिको मुख्य गुदी भनेको उपभोक्तावाद हो । मानिस र मानवतालाई मालकरण गर्नु, मालको उपभोगको लालसा जन्माएर अनन्त अन्ध सुरुङमा फसाउनु यसको मूल उद्देश्य हो ।
दलित भित्र अझै अनन्त फुट पारिराख्न चाहने जात व्यवस्थाका ठेकेदार र हिमायतीहरूलाई त यस्ता प्रतियोगिताले जात व्यवस्थालाई झन बलियो बनाउन सहयोग नै गर्ने हुनाले यस्ता प्रतियोगितामा अथाह लगानी गर्ने नै भए । गरेका लगानीमा तर मार्न उद्धत हुने पश्चगामी बुर्जुवा विश्वकर्माहरूलाई पनि यो त आम्दानीको राम्रै श्रोत हुने नै भयो । यिनै बुर्जुवाहरू भोलिका दिनमा अब मिस्टर एण्ड मिस परियार, मिस्टर एण्ड मिस सार्की, मिस्टर एण्ड मिस बादी, मिस्टर एण्ड मिस गन्धर्व आदि आदि प्रतियोगिता गराउन लगाएर दलित दलित भित्रै थप अन्तरद्वन्द्व र अन्तर्विरोध सिर्जना गर्न पछि पर्ने छैनन् । यसप्रति सम्पूर्ण दलित सचेत हुनु जरुरी छ । यस्ता विखण्डनकारी तत्वहरूलाई बेलैमा पर्गेलेर जरैदेखि पत्तासाफ गर्न सिङ्गो दलित समुदाय तत्पर हुनै पर्छ, नत्र यसले विकराल रुप लिन्छ ।
अब थोरै कुरा विश्वकर्माको सांस्कृतिक पहिरनबारे फैलाइएको भ्रामक अफवाह बारे केही लेख्न चाहन्छु ।
विश्वकर्मा समुदायको आफ्नै भेष (ड्रेस) खोज अनुसन्धान गरी सार्वजनिक गर्ने महान अनुसन्धानकर्ता भनेर सामाजिक संजालमा डि.बि. दम्मु उर्फ डि.बि. नेपालीको बडो प्रशंसा पढियो । कयौं विश्वकर्माहरूले गर्वानुभूति गर्दै भेष लगाउने एक जोडीको तस्बीर उधुम शेयर गरे । कयौं सचेत दलित युवाहरूले यसको निर्मम आलोचना गर्दै दलितलाई टुक्राउन रचिएको एउटा षड्यन्त्र भने । यसको आधिकारिकता खोजे । यसको ऐतिहासिकता बारे जिज्ञासा राखे । यो विषयमा हरेक सचेत दलितले बोल्नैपर्ने देखिएकाले एउटा सानो आलेख मार्फत आफ्नो धारणा राख्न मैले पनि लेखे ।
मेरो अध्ययनमा विश्वकर्मा समुदायको आफ्नै कुनै सांस्कृतिक भेष आज सम्म भेटिएको छैन । हिन्दूहरूले मान्ने विश्वकर्मा बाबाले लगाउने पहिरनलाई मानक मान्ने हो भने पनि त्यो पहिरन त ब्राह्मणवादी चिन्तनद्वारा विकसित कपोलकल्पित पहिरन (भेष) हो । यसको आधिकारिकता कतै भेटिन्न । मनुस्मृति कालमा दलितहरू निर्वस्त्र हुन्थे । वस्त्र पहिरिनु अपराध थियो । यसको ज्वलन्त उदाहरण हो नाङ्गेलीले आफ्नो नग्न स्तन ढाक्न एक सरो कपडा बेर्दा ब्राह्मणवादी राज्यसत्ताले दण्ड तिर्न लगाएको सत्य घटना । उनले एक सरो कपडा बेरेकै निहुँमा ब्राह्मण राज्यसत्ताले कर तिराएको, दण्ड दिएकैले यस्तो अत्याचार सहन नसकेर आफ्नै स्तन काटेर ब्राह्मण राज्यसत्तालाई जरिवानाको रुपमा चढाएकी थिइन् । समाजमा बस्न सम्म योग्य नठानिएको दलित (विश्वकर्मा सहित) ले मुर्दाघाट वरपर बस्नुपर्ने स्थिति थियो । मुर्दाघाटकै कात्रो पहिरिन पनि डर मान्नुपर्ने भयावह स्थिति थियो । जमिनमा थुक्न पाइदैन थियो । थुक्नकै लागि घाँटीमा एउटा भड्डु झुण्ड्याउनु पथ्र्यो । जमिनमा हिँड्दा बस्ने पैतालाको छापले माटो अपवित्र हुन्छ भन्ने मान्यता ब्राह्मणवादीहरूले लादेका थिए । त्यसैले जमिनमा हिँड्दा समेत आफ्नो हिँडाइमा पैतालाहरूले छोडेको छाप मेट्न कम्मरमा डण्डा सहितको झाडु पहिरिनु अनिवार्य थियो । नत्र कठोर सजायको भागीदार हुनुपथ्र्यो । समाजबाट बाइकट भएर चरम अभाव, शोषण, दमन, दलन र बहिष्करणमा परेको विश्वकर्मा लगायत सिङ्गै दलित समुदायले आफ्नो छुट्टै सांस्कृतिक भेष निर्माण गर्ने कुनै भाव भूमि नै थिएन । देखिदैन । पत्रकार टेक बहादुर विश्वकर्माले बडो कठिन खोज अनुसन्धान गरेर लामो समयको अन्तराल पछि २०७८ मा ३५० पृष्ठ लामो एउटा “विश्वकर्मा जातिको गौरवशाली इतिहास” नामक पुस्तक प्रकाशन गरे । यस पुस्तकको कुनै पनि पानामा विश्वकर्मा समुदायको सांस्कृतिक भेषबारे कुनै चर्चा छैन । हुँदो हो त यसबारे एक दुई पाना उनले पनि लेख्ने थिए ।
समग्र दलित समुदायको सांस्कृतिक पहिचान खुल्ने गरि साझा भेष बनाउने बहस बरू सान्दर्भिक हुन सक्छ ।
दलित साहित्य, दलित आन्दोलन र दलित सौन्दर्य शास्त्रमा लामो समय काम गरेका चितवन निवासी लेखक रणेन्द्र बरालीले दलित सम्बन्धि दुई पुस्तक प्रकाशन गरिसकेका छन् । एउटा १५९ पेजको “ हाम्रो संस्कृति र संस्कार” ( २०७२) नामक र अर्को १३५ पेजको “दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा” (२०७४) नामक पुस्तक । यी दुवै पुस्तकका पाना पाना अध्ययन गर्दा पनि विश्वकर्मा समुदायको आफ्नै सांस्कृतिक पहिरन भएको कतै उल्लेख छैन । दलित आन्दोलन, सौन्दर्य शास्त्र एवम् समाजशास्त्रमा निकै गहिरो अध्ययन गरेका माक्र्सवादी चिन्तक एवं राजनीतिज्ञ आहुतिद्वारा २०६७ मा लेखिएको २७७ पेजको बहुचर्चित पुस्तक “नेपालमा वर्णव्यवस्था र वर्ग–संघर्ष” नामक पुस्तक र आहुतिद्वारा नै २०७७ मा लेखिएको २१२ पेजको बहुचर्चित पुस्तक “जात वार्ता” पुस्तकका पाना पाना पल्टाएर हेर्दासमेत विश्वकर्माको कुनै सांस्कृतिक पहिरन भएको एक शब्द भेटिदैन । भएको भए कुनै न कुनै लेखकले दस्तावेजीकृत गरेकै हुन्थे । नभएकैले यसको जिकिर आज सम्म कुनै पुस्तक वा ऐतिहासिक दस्तावेजमा भेटिएको छैन ।
हुँदै नभएको पहिरनलाई थियो भन्नु र कपोलकल्पित भेष बनाएर विश्वकर्माको सांस्कृतिक भेष भनेर प्रचार–प्रसार गर्नु बौद्धिक बेइमानी हो । भ्रम छरेर सिङ्गै विश्वकर्मा समुदायलाई गुमराहमा राख्नु भावनात्मक शोषण हो भने सिङ्गो दलित समुदायलाई नै एकतामा बाँध्ने दलित पहिचान र आन्दोलनमाथि सन्देह सिर्जना गर्ने यस्ता विखण्डनकारी निकृष्ट कार्य सामाजिक अपराध हो । दलित समुदाय कला, गला र सीपका खानी थिए । अझै पनि हुन् र रहिरहने छन् । सिङ्गो समाजको चालक वर्ग नै दलित हो । यो तथ्य घाम जत्तिकै उज्यालो छ । समुदायगत हिसाबले आ–आफ्नो पहिचान नभएका पनि होइनन् जस्तो कि विश्वकर्मा भन्ने बित्तिकै आरनको आविष्कारक भन्ने जोकोहीले बुझिहाल्छन् । परियार भन्ने बित्तिकै वस्त्रको शिल्पकार भन्ने बुझ्छन् । सार्की भन्ने बित्तिकै जुत्ताको आविष्कारक भन्ने बुझ्छन् ।
यसलाई फेरि पहिरनको नाउँमा, मिस्टर एण्ड मिस विश्वकर्माको नाउँमा खण्डीकरण गर्न उद्धत हुने र आफूलाई दलित भित्रको पनि यो वा त्यो समुदाय विशेष हो, श्रेष्ठ हो भन्ने जस्ता पाखण्डपूर्ण हर्कत कसैबाट हुन्छ भने त्यसको कडा एवम् निर्मम प्रतिवाद, प्रतिकार र आलोचना जरुरी हुन्छ । दलित एकता र भावनामाथि कुनै पनि षड्यन्त्र वा खेलबाड सैह्य हुने कुरै होइन । मैले माथि पनि भनिनै सकेको छु कि जात व्यवस्था भित्र विश्वकर्मा अन्य दलित समुदायको लागि पीडक समुदाय हो । यसप्रति सचेत रहनु र आफू पीडक नभएको आभास अन्यलाई व्यवहारबाटै पुष्टि गर्न यस्ता गैरजिम्मेवारी हर्कत सदाको लागि बन्द गरिनुपर्छ । यस्ता हर्कत दोहोर्याउने पश्चगामी बुर्जुवा विश्वकर्माहरूलाई बेलैमा निरुत्साहित गर्नु हामी सबैको नैतिक उत्तरदायित्व हो । समग्र दलित समुदायको सांस्कृतिक पहिचान खुल्ने गरि साझा भेष बनाउने बहस बरू सान्दर्भिक हुन सक्छ । हामी सबैको कला, गला, सीपलाई प्रतिनिधित्व हुने गरी कस्तो पहिरन बनाउँदा ठिक होला भनेर साझा चिन्तन गरिनु बेठीक हुँदैन । तर, दलित भित्र पनि जात विशेषको यो वा त्यो बहस, कार्यक्रम अबको युगमा असान्दर्भिक मात्रै होइन अमान्य हुने विषय हो । अन्त्यमा बुर्जुवा विश्वकर्माहरूको हास्यास्पद सांस्कृतिक ढर्राको चौतर्फी भत्सर्ना गर्दै हामीलाई सदियौंदेखि बहिष्करण, विभेद र दलनको चरम चपेटामा पार्दै र मौलाउँदै आएको जब्बर जात व्यवस्था भत्काउन सिङ्गो दलित समुदाय एक ढिक्का भएर आन्दोलित हुन आग्रह गर्दछु ।