October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

मुक्कुम्लुङ केवलकार विवादः हामीले बुझ्नुपर्ने के हो ?

२०८१ माघ २७

538

  • प्रा.डा.युवराज संग्रौला

मन्दिर र मठलाई केन्द्र बनाएर केवलकार हाल्ने कुरालाई लिएर हिंसात्मक आन्दोलन हुँदैछ र रोटी सेक्नेको ताँती छ । कोही नेताको पत्तासाफ र कसैको उल्का उदय हुँदैछ । पाथीभरा मन्दिरमा बन्न लागेको केवलकार विवादमा छ । यसबारेमा दुइतर्फी तर्क छन् । यो विकासको कुरा हो गर्नुपर्छ र ज्येष्ठ नागरिकलाई ढाडमा बोकेर लानुपर्ने दासता समाप्त हुन्छ, भन्ने तर्क एकातिर छन् । यो मन्दिरको पर्यावरण बिगार्ने र राज्यको सम्पत्ति दोहन गर्ने उपाय हो भन्ने अर्कातिर छन् । हामीले बुझ्नुपर्ने के हो ?

१.पहिलो कुरा त राष्ट्रको कृषि र उद्योग नष्ट भइसकेको अवस्था छ । १५ खर्बको आयात र ९४ प्रतिशत खपतको अवस्था छ भनी राष्ट्र बैंक तथ्यांक निकाल्छ । तर सरकारले कृषिमा ठुल्ठुला फार्म बनाइ खाद्यान्नमा स्वनिर्भर हुने र औद्योगिक उत्पादनमा लगानी विस्तार गर्ने योजना ल्याउँदैन । हिजो कृषि औजार, कपडा, जुत्ता, धागो, चिनी, कागज, टायर, साना मेसिन उत्पादनमा स्वनिर्भर बनाउने उद्योग समुल मासेर नवविकसित देश दक्षिण कोरिया, मलेसिया, इन्डोनेसियाले समेत बहिष्कार गरेको नवउदारवाद, अनैतिक खुलाबजार र उपभोक्तावाद लादेर चरम वित्त पुँजीवाद राजनीतिक दलहरुले लागु गरे । उनीहरुले उद्योगको सट्टामा क्यासिनो, पाँचतारे होटल, केवलकार, अग्ला अपार्टमेन्ट, जग्गा प्लटिङ्ग, टावर, गाउँमा रिसोर्ट खोल्ने र बकस आइपिओ बेचेर नाफै नभएका कम्पनीलाई नक्कली सेयर बेच्ने सेयरमार्केट विकास गरे ।

राज्य वा जनताको सार्वजनिक जग्गा मासेर कुनै एक व्यक्तिलाई अकुत कमाउन दिने, उसैलाई करमा छुट दिने, उसैलाइ संसदमा लैजाने र ९५ प्रतिशत जनताको आयवृद्धि समाप्त गर्ने नीति समाजवाद हो ?

यो पैसाले पैसा कमाउने बबल इकोनोमी हो, जसले थोरैलाई धनी र आम नागरिकलाई उपभोक्तामा परिणत गरी आयातलाई अधिक प्रबद्र्धन गर्दछ । यो राजनीतिक नेता र कर्मचारी धनी बनाउने नियोजित योजना थियो, जसलाई विश्वमा आफ्नो सामरिक स्वार्थ भएका देशहरूले सहयोग गरे । यही नीति युरोप र रसियाको बिचमा भएको युक्रेनमा लागु गरिएको थियो । यही सामरिक नियतको प्रयोग नेपालमा गरिदैछ । यसको प्रमाणः उद्योग जिरो, कृषिको पतन, आयात १५ खर्ब र निर्यात १ खर्ब ५८ अर्ब, ७०० मिलियन डलरको ऋण र विदेशी सहायताको दुव्र्यसन, निजी सवारी साधनको खुला आयात र सार्वजनिक यातायातको उन्मूलन आदि हुन् । यदि त्यसो हो भने सरकारको नीति उत्पादनमूलक उद्योग खोल्ने हुनुपर्ने हो कि पैसाले पैसा कमाउने केवलकार जस्ता संस्कृति, सांस्कृतिक पर्यावरण मास्ने केवलकार ? यसले कति नाफा र रोजगारी निर्माण गर्छ । अतः राज्य वा जनताको सार्वजनिक जग्गा मासेर कुनै एक व्यक्तिलाई अकुत कमाउन दिने, उसैलाई करमा छुट दिने, उसैलाइ संसदमा लैजाने र ९५ प्रतिशत जनताको आयवृद्धि समाप्त गर्ने नीति समाजवाद हो ?

२.५० लाख युवा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारीका लागि विदेशीएका छन् । अब ३० वर्षमा नेपालको युवा जनशक्तिको मानव श्रोत समाप्त हुन्छ । अनि ती युवालाई देशमा रोजगार सिर्जना गर्ने उद्यमको विकासलाई प्राथमिकता दिनुपर्ने हो वा विदेशी सामान, मेसिन र प्रविधि प्रवद्र्धन गर्ने र एकाध व्यक्तिलाई मात्र रोजगारी र एक व्यक्तिलाई खर्बपती बनाउने उद्यम प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकता दिने ?

३. अतः यस्ता केवलकार सरकारको जनतालाइ मन्दिर जान सहज बनाउने सामाजिक कल्याणको नीति अन्तर्गत बन्न लागेको हो वा यो कुनै धनाढ्यले धन कमाउनका लागि हो ? यो विकास हो भन्नेले यत्ति त बुझे हुने हो । त्यसो भए विरोध गर्ने चाहिँ संस्कृति जोगाउने पहिचानवादी वा पर्यावरणका हिमायती हुन् त ? यथार्थ के पनि हुन सक्छ भने लगानी गर्ने व्यापारीको लगानी भुस पार्न अर्को यस्तै व्यापारी पछाडि छैन र युवाहरुलाइ भड्काउने काम भएको छैन भन्न पनि सकिन्न । के आन्दोलनकारीहरुलाई कसैले प्रयोग गरेको त छैन, यो आन्दोलनकारीले विश्लेषण गर्नुपर्ला । मेयरले त गोली ठोक्ने कुरा गर्दैछन् । उनी पनि लिम्बु आन्दोलन गर्ने पनि लिम्बु । बिचमा गाली खाइरहेका छन् बाहुन र क्षेत्री । अब सोच्नुहोस त विभाजनकारी तत्त्व कसरी खेलिरहेको छ !

४.कहिलेसम्म देश तोड्फोड र वितन्डाको शिकार बन्ने ? राजनीति र शासनका नाममा एकातिर देश अनैतिक बजारतन्त्रको बन्दी बनाइएको छ, अर्कातिर घृणाको राजनीति मौलाएको छ । आज देशमा त्यस्तो नेताको भाउ छ जो राजनीतिका नाममा नीतिगत र लेनदेनको भ्रष्टाचार गर्न रत्तिभर डराउँदैन । अर्कोतिर विरोधी भनिएकाहरु समाजलाइ गालीगलौज, घृणा र दुष्ट प्रतिक्रियावादी सोचको प्रतीक बनेका छन् । राजनीति एकातिर व्यापार बनेको छ भने अर्कोतिर चटक, सनक र सेलिब्रेटीको रंङ्गमन्च ।

५.पहिलो राजनीतिक विचारको हत्या गरिएको छ । त्यहाँ पद र सामन्ती हैसियतको ट्युमर वा गलगाँड मौलाएको छ । यो धारले पहिला बोकेको विचार गलत होइन त्यो विचार बोक्ने विचारहीन भएको छ । यो पहिलो धारले अब देशलाई समृद्ध बनाउन सक्दैन । १२, १४ वर्षदेखि वैकल्पिकका नाममा दोस्रो धार मौलाएको छ । यसले त राजनीतिमा विचार होइन, अंग्रेजी बोल्ने, विदेश पढेको, विदेशबाट फर्केको, हिरो देखिने, सामाजिक संजालमा प्रोपोगाण्डा र झुठ व्यापार गर्न माहिर हुने कलालाई राजनीतिको खास गुण मान्छ । त्यो त अन्तमा रजनिकान्त र जेलेन्स्की नै हुने हो । यो दोस्रो धार पनि निकम्मा नै हो ।

देशले अहिले खोजेको तेस्रो धार नेपालको शिक्षालाई अनुसन्धानमूलक र उत्पादनमुलक बनाउने योजना, मानिसलाई मृत्यु र पीडाबाट जोगाउने स्वास्थ्यमा राज्यको उतरदायित्व, सहज र सुरक्षित यातायात, बाँदरले जंगलमै फलफुल खान पाउने हरियो जंगल, कञ्चन खोला, मानिसले घरमै बसेर काम पाउने उद्यम भएको विकास, जातपातको भेदभाव सकिएको सामाजिक संरचना, विदेशीको हस्तक्षेप स्वीकार नगर्ने सरकार र नागरिकको प्रत्यक्ष सहभागिता भएको आफ्नै सभ्यतामा हुर्कीएको सामाजिक नागरिक तन्त्रनै देशले खोजेको तेस्रो धार हो । जसले विचारमा आधारित राजनीतिक प्रणाली हुर्काउँछ । अतः युवाहरुले घृणा, अफवाह र हिंसाको प्रवृत्तिबाट हटेर जागरणको सद्भावयुक्त विमर्श खोज्नु आवश्यक छ । तब मात्र केवलकार पनि बन्छ र मन्दिरको अस्मिता र नागरिकको सांस्कृतिक पहिचान पनि कायम रहन्छ । अब देशले इतिहाससँग क्रमभंगता खोजेर दिशान्तर गर्नुपर्छ । भनिन्छ जब चुनौती खतरनाक हुन्छ, त्यसपछि आउने व्यवस्था पनि पाको र विवेकशील बन्छ ।
नोटः यस्ता परियोजनामा वस्तु आयात गर्दा मूल्य बढाई विदेशी मुद्रा बाहिर लाने अर्को धन्दा छ भने पर्यटन सेवाका नाममा भन्सार छुट गराउने अर्को धन्दा यी व्यापारीको छ ।