काठमाडौंः सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त मनाङ एयरको ९ एन–एमभी हेलिकप्टर दुर्घटनास्थलमा थप अर्को हेलिकप्टर पठाइएको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । हेलिकप्टर सम्पर्कविहीन भएलगत्तै खोजीका लागि अल्टिच्युट एयरको एउटा हेलिकप्टर पठाइएकोमा थप अर्को पनि सोही कम्पनीको हेलिकप्टर पठाइएको प्राधिकरणका ज्ञानेन्द्र भुलले जानकारी दिए ।
मनाङ एयर लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव भेटिएको छ भने एक जनाको अवस्था अझै अज्ञात रहेको छ । खराब मौसमका कारण उद्धार कार्यमा समस्या आएको भुलले जानकारी दिए । शवलाई आजै काठमाडौँ ल्याउने तयारी भएपनि प्रतिकुल मौसमका कारण अनिश्चित भएको उनले बताए ।