September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदै

२०७९ माघ १३

384

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा परेको थियो।

यसअघि बुधबार भने रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता रमण कर्ण र सुरेन्द्र भण्डारी तथा अधिवक्ताहरु अमृत खरेल, निकिता ढंगानाले बहस गरेका थिए। यस्तै, रविका पक्षबाट सरकारी वकिल (सहन्यायाधीवक्ता) सञ्जिवराज रेग्मीले बहस गरेका थिए।

रिट निवेदक पक्षका तर्फबाट बहस गरेका कानुन व्यवसायीले लामिछानेले अमेरिकी नागरिकता तथा राहदानी त्यागेको स्वघोषणा गरे पनि पुन: नेपाली नागरिकता प्राप्तीका लागि प्रकिया पूरा नगरेको जिकिर गरेका थिए। निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने आजका मितिसम्म नेपाली नागरिक नरहेको दाबी गर्दै उनको सांसद पद खारेज हुनुपर्ने दलिल पेस गरेका थिए।

लामिछानेको पक्षबाट बहसमा उत्रिएका सरकारी वकिल र कानुन व्यवसायीले हकदैयालाई मुख्य विषय बनाइ उनीविरुद्धको रिट खारेज हुनुपर्ने जिकिर गरेका थिए। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा बुधबार लामिछानेको पक्षबाट ३ जनाले बहस गरेका थिए।

लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी (त्याग गरेको निस्सा नदिइ) राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत तथा युबराज पौडेलले सर्वोच्चमा छुट्टा–छुट्टै २ थान रिट दायर गरेका थिए।