August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar
कवि : राजु स्याङ्तान

छुटेको प्रचण्ड (कविता)

२०७८ पुष १४

1.4K

एउटा प्रचण्ड
ओत लाग्ने झुपडी बनाउन
आराले बुढो रुख काट्दाकाट्दै
उतै जंगलको खोँचहरुमा छुट्यो

अर्को प्रचण्ड

रगत र आँसुको वर्षा भइरहेको झरीमा

रुझ्दै–रुझ्दै सहर पसेपछि

त्यही सहरको भिडमा कतै छुट्यो

 

मेरी प्रिय छापामार संगी

गिट्टी फोरेको हातको निसानी र

पाठेघर छेउमा बल्झिँदै गरेको

बमको घाउ बोकेर

खुमलटार वरपर

अब कुनै प्रचण्ड नखोज

 

एउटा प्रचण्ड

चे ग्वेभारा, हो चि मिन्ह र लेनिनको जीवनी

झोलाभरि बोकेर

बिहारी रेलका डिब्बाहरुमा

यात्रा गर्दागर्दै उतै छुट्यो

 

अर्को प्रचण्ड

दस्तावेजका पानामाथि

काँसको थालमा मार्सी चामल राखेर

खाँदाखाँदै उतै छुट्यो

मेरो प्रिय दलित साथी

कम्युनिस्ट घोषणापत्र बोकेर

पेरिस डाँडा वरपर

अब कुनै प्रचण्ड नखोज

एउटा प्रचण्ड

काखीमा भरुवा बन्दुक च्यापेर

नारायणी तिरैतिर हिँड्दा–हिँड्दै

चेपाङ बस्तीहरुमा कतै छुट्यो

अर्को प्रचण्ड

पाँचतारे होटलको एउटा तारामा

बोकिरहेको हँसिया सिउरिएर

त्यही होटलमा नाच्दानाच्दै उतै छुट्यो

मेरो प्रिय चेपाङ दाइ

एउटा हातमा

गिठ्ठा भ्याकुर कोसेली बोकेर

अर्को हातमा

घरको निसानी एक मुठी खरानी बोकेर

सहरका चोक र गल्लीहरुमा

अब कुनै प्रचण्ड नखोज

एउटा प्रचण्ड

मधेसका मुसहर बस्तीहरुमा

मधेसी भेष धारण गरी

माई बाप भन्दै हात जोड्दै

झोला बोकेर घुम्दाघुम्दै उतै छुट्यो

अर्को प्रचण्ड

अघाएका मान्छेहरुको भिडमा

पुष्पगुच्छाले पुरिएर

त्यही भीडहरुमा कतै छुट्यो

मेरो प्रिय मधेसी काका

ज्ञापनपत्र च्यापेर नाइटबस चढी

रत्नपार्क, खुल्लामञ्च वरपर

अब कुनै प्रचण्ड नखोज

 

एउटा प्रचण्ड

झोलामा माओका रेडबुक बोकेर

रुकुमका मगरबस्तीहरुमा

बास माग्दामाग्दै उतै छुट्यो

 

अर्को प्रचण्ड

आफूले खनेको गोरेटो भुलेर

अरुले बनाएको राजमार्गमा

विजय जुलुस निकाल्दानिकाल्दै

अघाएकाहरुको हुलमा कतै छुट्यो

मेरो प्रिय मगर दाजै

रुकुमका जंगली पातहरुमा

प्रचण्डको नाममा चिठी लेखेर

अब कुनै ठेगानामा नपठाऊ

गोधुलीसँगै जीवन डुब्नुअघि

राप्तीको घोंगी टिपेर

प्रचण्डको भाग राखिदिने

ए थरुनी आमा

अब नपर्ख कुनै प्रचण्ड

राज्यले आधा लुछेको

तिम्रो झुपडिमा बास माग्न

अब आउँदैन कहिल्यै कुनै प्रचण्ड

 

अब नखोज कुनै नायक

अब नपर्ख कुनै महानायक

 

हाम्रो त इतिहास

उसै पनि अलिखित छ

हाम्रो त वर्तमान

उसै पनि कष्टकर छ

हाम्रो दुःखको महाख्यानमा

थपिएको न हो अर्को पाना

 

भोकाहरुको अलिखित इतिहासमा

एउटा अध्याय थपियो

छुटेको प्रचण्ड

 

अघाएकाहरुको लिखित इतिहासमा

अर्को अध्याय थपियो

पुष्पकमल दाहाल ।।