काठमाडौंः राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला मन्त्रालयबाट आयोगलाई सहयोग नभएको गुनासो गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित आयोगका क्रियाकलापका सम्बन्धमा पत्रकारसंग चौमासिक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले आयोगका गतिविधीलाई सहज बनाउन मन्त्रालयले सहयोग नगरेको र नटेरेको गुनासो गरेकी हुन् । मन्त्रालयको असहयोग कै कारण आयोगको बजेट फ्रिज हुने अवस्थामा पुग्दा पनि महिला हिंसा पिडितलाई आयोगले सहयोग गर्न नसकेको उनको भनाइ छ ।
उनले आयोगले बिभिन्न नीतिगत काम, सिफरिस, अनुगमनका साथै हिंसा पीडितलाई न्याय दिन पनि काम गरिरेहेको जिकिर गरिन् । देशैभरका पालिकामा पहुँच पुर्याउन सातै प्रदेशमा कार्यालय राख्नुपर्ने भएपनि त्यसो हुन नसकेकाले केन्द्रमा पहुँच हुनेले मात्रै आयोगमा उजुरी गर्ने देखिएको उनले बताइन् । आयोगले साउनदेखि अहिलेसम्म घरेलु तथा महिला हिंसाका ३ सय ४७ वटा उजुरी दर्ता भएको जानकारी दिएको छ । जसमा घरेलु हिंसाका ३ सय १६ र महिला हिंसाका ३१ घटना रहेका छन् ।