काठमाडौंः मानवशास्त्री एवं आदिवासी जनजाती महासंघका पूर्वमहासचिव डा.ओम गुरुङको निधन भएको छ । ६८ वर्षका गुरुङको सोमबार दिउँसो १ः४५ बजे ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । क्यान्सरसंग लडिरहेका गुरुङलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो ।
२०११ माघ २९ मा बाग्लुङको ताराखोलामा जन्मिएका गुरुङले अमेरिकाको कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङले १२ वर्ष सम्म त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र विभागको प्रमुख समेत भएका थिए । विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थ श्रोतले जानकारी दिए।