November 15, 2026, Sunday
२०८३ कार्तिक ३०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

छठ पर्व: के हो ? के होइन ?

२०८३ कार्तिक २९

34

  • सलिता औरा शिंघा

छठ पर्वलाई हामीले कसरी बुझिरहेका छौं ? के यो देवी–देवताको पूजा गर्ने धार्मिक पर्व हो ? के सूर्यलाई भगवान मानेर पूजा गर्नु नै यसको सम्पूर्ण अर्थ हो ? अथवा छठ पर्वको आफ्नै ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक आधार छ ?

मेरो बुझाइमा छठ पर्वलाई धार्मिक आस्थाको पर्वको रूपमा बुझ्नु भनेको यसको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई साँघुरो बनाउनु र नजरअन्दाज गर्नु हो । छठ पर्वको मूल सम्बन्ध प्रकृति, कृषि सभ्यता, जल, जमिन, सूर्य, अन्न उत्पादन र किसानको श्रमसँग जोडिएको छ । यो प्रकृतिबाट प्राप्त जीवन र उत्पादनप्रति आभार व्यक्त गर्ने एउटा पुरानो सांस्कृतिक परम्परा हो । यसलाई धार्मिक पर्वको रूपमा होइन बरु उत्पादनको लागि चाहिने सूर्यको प्रकाश र ताप, जमिन तथा पानी जस्ता प्राकृतिक तत्वहरुप्रती आभार व्यक्त गर्ने अनी कृषि सभ्यता र किसानको श्रमप्रति कृतज्ञता व्यक्त गर्ने सांस्कृतिक उत्सवकाे रूपमा बुझ्नु पर्दछ ।

छठ पर्वलाई यही कृषि सभ्यता र प्रकृतिप्रतिको कृतज्ञताको सांस्कृतिक अभिव्यक्तिका रूपमा हेर्न सकिन्छ ।

१. छठ पर्व र कृषि सभ्यताको सम्बन्ध

मानव सभ्यताको विकाससँगै मानिसले प्रकृतिसँग आफ्नो जीवनको सम्बन्ध स्थापित गर्‍यो । मानिसको जीवन जल, जमिन, हावा, प्रकाश र प्रकृतिमा निर्भर रह्यो । विशेषगरी कृषि सभ्यताको विकास भएपछि मानिसको जीवन अन्न उत्पादनसँग प्रत्यक्ष रूपमा जोडियो । किसानले खेतमा धान, गहुँ, जौ, मकै र अन्य बाली लगाउँथे । बाली लगाउन माटो चाहिन्थ्यो, सिँचाइका लागि पानी चाहिन्थ्यो, बिरुवा हुर्किन सूर्यको प्रकाश र ताप चाहिन्थ्यो । किसानले श्रम गर्थे, प्रकृतिले उत्पादनका लागि आधार तयार गर्थ्यो र अन्ततः अन्न घरभित्र भित्रिन्थ्यो ।

त्यसैले उत्पादन घरमा भित्रिएपछिको समयमा प्रकृति, जल, जमिन, सूर्य र आफ्नो श्रमप्रति धन्यवाद व्यक्त गर्ने परम्पराको विकास भएको बुझ्न सकिन्छ । छठ पर्वलाई यही कृषि सभ्यता र प्रकृतिप्रतिको कृतज्ञताको सांस्कृतिक अभिव्यक्तिका रूपमा हेर्न सकिन्छ ।

२. जल, जमिन र सूर्यको महत्त्व

छठ पर्वमा नदी, पोखरी, तलाउ तथा जलाशयको विशेष महत्त्व हुन्छ । व्रतालुहरू पानीमा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसको एउटा गहिरो प्राकृतिक अर्थ छ । जल जीवनको आधार हो । जमिन उत्पादनको आधार हो । सूर्य प्रकाश र ऊर्जाको स्रोत हो । यी तीनवटै तत्त्वबिना कृषि उत्पादन र मानव जीवनको कल्पना गर्न सकिँदैन । त्यसैले छठ पर्वमा जल, जमिन र सूर्यको उपस्थितिलाई धार्मिक कर्मकाण्डका रूपमा होइन  मानव जीवन र कृषि उत्पादनसँग जोडिएको प्राकृतिक सम्बन्धका रूपमा नै बुझ्नुपर्छ ।

उपभोक्तावादी संस्कृतिले पर्वको मौलिकता र सामूहिकताको भावनालाई कमजोर बनाउने खतरा बढाएको छ।

३. अन्न, फलफूल र किसानको श्रमको सम्मान

छठ पर्वमा गहुँको ठेकुवा, चामलको भुसुवा, कसार, फलफूल, उखु, नरिवल, अदुवा, बेसारलगायत कृषि उत्पादन तथा प्राकृतिक वस्तुहरूको प्रयोग गरिन्छ । यी सामग्री पूजाका सामग्री होइनन् बरु यी किसानको श्रम, जमिनको उत्पादन र प्रकृतिको योगदानका प्रतीक पनि हुन् ।

हामीले खाने प्रत्येक अन्नको पछाडि किसानको पसिना हुन्छ । खेत जोत्ने किसान, बीउ रोप्ने किसान, सिँचाइ गर्ने किसान, बाली काट्ने किसान र उत्पादन घरसम्म पुर्‍याउने श्रमिकहरूको योगदान हुन्छ । तर विडम्बना के छ भने, छठमा अन्न र कृषि उत्पादनको महत्त्व त देखाइन्छ, तर ती अन्न उत्पादन गर्ने किसानको वास्तविक अवस्था र श्रमको उचित मूल्यबारे हाम्रो समाजले पर्याप्त बहस गर्दैन । यदि छठ पर्वलाई साँच्चिकै किसान र प्रकृतिप्रतिको सम्मानको पर्व मान्ने हो भने किसानको अधिकार, उत्पादनको उचित मूल्य, भूमिहीन किसानको समस्या र कृषि श्रमिकको सम्मानबारे पनि आवाज उठाउनुपर्छ ।

 

४. छठ पर्व र वर्तमान उपभोक्तावादी संस्कृति

आजको समयमा हाम्रो समाज उपभोक्तावादी संस्कृतिबाट प्रभावित हुँदै गएको छ। हरेक चाडपर्वमा बजारको प्रभाव बढिरहेको छ । धार्मिक आस्था, सामाजिक प्रतिष्ठा र आर्थिक प्रतिस्पर्धालाई जोडेर चाडपर्व मनाउने प्रवृत्ति बढ्दै गएको छ । छठ पर्व पनि यसबाट अछुतो छैन । पहिले प्रकृतिमा उपलब्ध वस्तु, स्थानीय कृषि उत्पादन र सामूहिक सहभागितामा आधारित पर्व मनाउने परम्परा थियो । अहिले महँगा सामग्री, सजावट, प्रदर्शन, प्रतिस्पर्धा र अनावश्यक खर्चले प्राथमिकता पाउन थालेका छन् । यो दलाल पुँजीवादले सिर्जना गरेको उपभोक्तावादी संस्कृतिको प्रभाव हो ।

पर्वको नाममा पुँजीवादले बजार विस्तार गरिरहेको छ । मानिसको आर्थिक क्षमताभन्दा सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धा ठूलो बन्न थालेको छ , देखासिखी गर्ने प्रवृति मौलाउँदै गइरहेको छ । यसरी हेर्दा उपभोक्तावादी संस्कृतिले पर्वको मौलिकता र सामूहिकताको भावनालाई कमजोर बनाउने खतरा बढाएको छ।

 

५.प्रकृतिको उत्सवलाई धार्मिक पर्व नबनाऔं 

म यहाँ कसैको धार्मिक आस्था र व्यक्तिगत विश्वासमाथि प्रश्न उठाउन खोजिरहेको छैन । प्रत्येक व्यक्तिलाई आफ्नो आस्था राख्ने स्वतन्त्रता छ । तर छठ जस्तो प्राकृतिक पर्वलाई त्यसको ऐतिहासिक, सामाजिक र प्राकृतिक पक्षहरुलाई कमजोर बनाई त्यसमा धार्मिक भावना, ईश्वरीय चिन्तन, अदृश्य शक्तिको भक्तिगान जस्ता कुराहरू थपेर यसलाई धार्मिक पर्वको रूप दिन तछाडमछाड भइरहेको छ । सूर्य प्रकृतिको एउटा महत्त्वपूर्ण खगोलीय पिण्ड हो ।

सूर्यको प्रकाश र ऊर्जाबिना पृथ्वीमा जीवन सम्भव हुँदैन । जल, जमिन र प्रकृति मानव जीवनका आधार हुन् । त्यसैले सूर्यलाई देवी–देवताको धार्मिक अवधारणाभित्र बाट बाहिर निकालेर मानव जीवनमा पारिरहेको महत्त्वपूर्ण वैज्ञानिक र जैविक भूमिकासँग जोडेर बुझ्नुपर्छ । जसले मात्र छठ पर्वको मूल भावनालाई आत्मसाथ गर्न सक्छ ।

छठ पर्वको मूल सन्देश प्रकृतिप्रति कृतज्ञता, किसानको श्रमप्रति सम्मान, कृषि उत्पादनको महत्त्व र मानव समाजबीचको सामूहिकता हो ।

६. छठ पर्वको सामाजिक र राजनीतिक अर्थ

छठ पर्व सामूहिक सहभागिताको पर्व पनि हो । यसमा जात, वर्ग, समुदाय र आर्थिक अवस्थाभन्दा माथि उठेर मानिसहरू एक ठाउँमा भेला हुने सुन्दर पक्ष छ । तर हाम्रो समाजमा अझै पनि जात व्यवस्थाले सिर्जना गरेको विभेद, छुवाछुत, आर्थिक असमानता र सामाजिक बहिष्करण कायम छन्  । त्यसैले छठ पर्व साँच्चिकै प्रकृति र मानव जीवनप्रतिको सम्मानको पर्व हो भएकोले यसले मानिसबीचको विभेदलाई पनि अस्वीकार गर्नुपर्छ ।

जसरी प्रकृतिले कसैलाई जात, धर्म, लिङ्ग र वर्गका आधारमा फरक व्यवहार गर्दैन, त्यसरी नै हाम्रो समाज पनि समानता र सम्मानमा आधारित हुनुपर्छ । प्रकृतिको पूजा गर्ने तर प्रकृतिसँगै जीवन बिताउने श्रमिक, दलित, भूमिहीन र विपन्न समुदायलाई अपमान गर्ने समाजको सांस्कृतिक चेतना अधुरो हुन्छ । त्यसैले छठ पर्वको सन्देश सामाजिक न्याय, समानता, सहअस्तित्व र सामूहिकताको पक्षमा पनि उभिनुपर्छ ।

 

७. अब छठलाई नयाँ दृष्टिकोणबाट बुझौँ

मेरो आग्रह छ, छठ पर्वलाई पूजा, व्रत र धार्मिक कर्मकाण्डबाट बाहिर निकाली  प्राकृतिक उत्सवको यसको वास्तविक चरित्रलाई उजागर गरौं । यसलाई कृषि सभ्यताको इतिहाससँग जोडौँ । किसानको श्रमसँग जोडौँ । जलस्रोत संरक्षणसँग जोडौँ । जमिन र माटोको संरक्षणसँग जोडौँ । पर्यावरणको रक्षा अनी वातावरण र प्रकृतिको संरक्षणसँग जोडौँ ।

हामीले छठ मनाउँदा नदी, पोखरी र जलाशयलाई फोहोर बनाउनु हुँदैन । प्लास्टिक र प्रदूषण नियन्त्रण गर्नुपर्छ । स्थानीय किसानले उत्पादन गरेका अन्न र फलफूललाई प्राथमिकता दिनुपर्छ । भूमिहीन तथा कृषि श्रमिकहरूको योगदानलाई स्मरण र सम्मान गर्नुपर्छ । पर्वको वास्तविक सुन्दरता महँगो सजावट र प्रदर्शनमा होइन, यसको सांस्कृतिक चेतना र सामाजिक अर्थमा खोज्नुपर्छ ।

 

निष्कर्ष

छठ पर्वलाई म प्रकृति, कृषि सभ्यता, जल, जमिन, सूर्य र किसानको श्रमप्रति कृतज्ञता व्यक्त गर्ने एउटा ऐतिहासिक सांस्कृतिक परम्पराका रूपमा बुझ्छु । प्रकृतिबाट हामीले अन्न पाएका छौँ। जल पाएका छौँ । प्रकाश र ऊर्जा पाएका छौँ । जीवन पाएका छौँ । त्यसैले प्रकृतिप्रति आभार व्यक्त गर्नु मानव सभ्यताको एउटा सुन्दर पक्ष हो । तर आज उपभोक्तावादी र पुँजीवादी संस्कृतिले हाम्रा चाडपर्वहरूलाई बजार, प्रदर्शन र आर्थिक प्रतिस्पर्धासँग जोड्दै लगिरहेको छ । यस्तो अवस्थामा हामीले आफ्नो सांस्कृतिक परम्पराको मौलिक अर्थ र ऐतिहासिक चेतनालाई जोगाउन आवश्यक छ ।

मेरो विचारमा छठ पर्वको मूल सन्देश प्रकृतिप्रति कृतज्ञता, किसानको श्रमप्रति सम्मान, कृषि उत्पादनको महत्त्व र मानव समाजबीचको सामूहिकता हो । यसलाई धार्मिक आस्थामा मात्र सीमित नगरी प्रकृति, विज्ञान, श्रम र सामाजिक न्यायको दृष्टिकोणबाट पनि बुझ्नुपर्छ । प्रकृति बाँच्यो भने कृषि बाँच्नेछ । कृषि बाँच्यो भने किसान बाँच्नेछन् । किसान बाँचे भने मानव सभ्यता बाँच्नेछ ।

छठलाई आडम्बर होइन, प्रकृतिप्रतिको कृतज्ञता बनाऔँ ।

छठलाई प्रदर्शन होइन, किसानको श्रमको सम्मान बनाऔँ।

छठलाई विभेद होइन, समानता र सहअस्तित्वको संस्कृति बनाऔँ ।