काठमाडौंः महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आज नेपाल प्रेस युनियनले आयोजना गरेको ’कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय’ विषयक अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो बताएकी हुन्। बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन् ।
उनले महिला हिंसा गाउँघरमा मात्रै नभइ शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन् । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने भएकाले राजनीतिक दलहरुले पनि महिला हिंसाको बिरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिन् । राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाई छ ।
मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेकाले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।