September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

थातथलो बचाउन बोझनीबासी तामाङहरु आन्दोलित,२ जना पक्राउ

२०७९ पुष १८

1.3K

काठमाडौंः सूचना नै नदिइ राज्यले जबर्जस्ती विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउन लागेको भन्दै काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझनीका स्थानीयहरुले विरोध गरेका छन् । ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउँदा राज्यले औपनिवेशिक लादेको र करिब २ सय रोपनी जग्गा अधिग्रहण गरेर त्यहाँका रैथाने समुदायलाई विस्थापित पार्न खोजिएको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

६ सय भन्दा बढी घरधुरीमा रहेका आदिवासी तामाङ समुदायहरु २ सय रोपनीभन्दा बढी जमिन अतिक्रमण हुने भएपछि आफ्नो थातथलो बचाउन अहिले फेरि विद्रोहमा उत्रिएका छन् । तैपनि राज्यले भने प्रहरी नै परिचालन गरेर विद्युत सबस्टेसन बनाउन खोजिरहेको उनीहरुको आरोप छ । आइतबार सरकारले सुरक्षाकर्मी नै खटाएर सबस्टेसन बनाउन खोजिएपछि बोझनीमा स्थानीय र प्रहरीबीच विवाद चर्र्किएको थियो विवादमा प्रहरीले त्यहाँका २ जना स्थानियलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयमान वाइबा र राजमान स्याङ्बो रहेका छन् ।

स्थानीयले सरकारले उपयुक्त वातावरण नबनाइ स्थानीयलाई विस्थापित गर्न खोजे अमान्य हुने भन्दै विरोध जारी राखेका छन् । १ सय ७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरुले विरोध गरिरहेका छन् । अहिले बोझनीमा सुरक्षाकर्मीहरुको तैनाथ रहेको छ भने स्थानीयले विरोध प्रदर्शन चर्काइरहेका छन् । सबस्टेसन निर्माणका क्रममा यसअघि जर्सिङपौवामा पनि स्थानीयले विरोध गर्दै आएका थिए ।