September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

लाखौँ फ्रान्सेली विरोध प्रदर्शन गर्दै सडकमा,सार्वजनिक सेवा ठप्प

२०७९ माघ ६

412

एजेन्सी: निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ । आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँग झडपमा समेत उत्रिए । देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भयो ।

गृह मन्त्रालयले १२ लाख जनता सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोधमा खडा भएका बताए पनि कट्टर वामपन्थी युनियन सिजिटीले देशभर २० लाखभन्दा बढी सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका दाबी गरेको छ । पेरिसमा मात्र चार लाख प्रदर्शनकारी राष्ट्रपति म्याक्रोँको योजनाको विपक्षमा सडक आन्दोलनमा आएको बताएको छ ।

पेरिसको बास्टिल क्षेत्र वरपर केही प्रदर्शनकारीले प्रहरीमाथि बोतल, खानेकुरा ‘प्याक’ गर्ने टिनका डिब्बाले प्रहार गरेका थिए भने प्रहरीले पनि ग्रिनेड र अश्रु ग्याँस हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । बिहीबार प्रदर्शनकारीले रेल सेवा ठप्प पार्नका साथै विद्युत् आपूर्तिमा पनि अवरोध खडा गरेका थिए ।

युवा प्रदर्शनकारीको एक समूहले पूर्वी पेरिसको विशाल नेसन प्लाजामा सुरक्षा बलका जवानमाथि आक्रमण गरेका थिए भने धेरै साइकलमा आगो लगाउनका साथै बस स्टपमा तोडफोड गरेका थिए । हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ । लियोनबाछमा १७ जनालाई गिरफ्तार गरिएको थियो ।

कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् । नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ ।