लाचार
असहाय
निरुपाय
लालबहादुरका आँखाहरू !
न्यायको याचना गरिरहेका
मुक्तिको बाटो हेरिरहेका
खुल्ला आकाश खोजिरहेका
लालबहादुरका आँखाहरू !
विक्षिप्त
आक्रान्त
निर्दोष
लालबहादुरका आँखाहरू !
भयभीत छन्
लालबहादुरका आँखाहरू !
किनभने कानुनका आँखामा झैँ
बाँधिएको छैन
लालबहादुरका आँखामा पट्टि !
देखेका छन् लालबहादुरका आँखाले
कि कसको इसारामा चल्छन्
कानुनका धारा-उपधारा !
कानुनका किताबमा झैँ
बिग्रिएको छैन
लालबहादुरको समयको हिसाब !
प्रत्येक पल
लालबहादुर नापिरहेछ
कानुनका हातको लम्बाई !
कानुनको मगजमा झैँ
लागेको छैन
लालबहादुरको मगजमा खिया !
लालबहादुरले जानिसक्यो
नेपालको कानुन जान्ने दैवको
अस्सली ठेगाना !
एकतमास गिज्याइरहन्छन्
लालबहादुरका आँखाहरू !
एकतमास चिच्याइरहन्छन्
लालबहादुरका आँखाहरू !
– खोल कानुनका आँखामा बाँधिएको पाखण्डको पट्टि र देऊ अदालतलाई नयाँ दृष्टि !
– भर यी मृत इजलासमा प्राण र देऊ यिनलाई नयाँ जीवन !
– च्यात यी थोत्रा कानुनका थोत्रा किताबहरू र लेख नयाँ युगको नयाँ कानुन !
बिलौना गरिरहेका
बिन्ती बिसाइरहेका
विस्फोट भइरहेका
लालबहादुरका आँखाहरू !
तर विडम्बना !
लालबहादुरका आँखाले
लालबहादुर देखिरहेका यी लालबहादुरहरू
लालबहादुर होइनन्
यी त केवल ज्युँदा जाग्दा लासबहादुर हुन् !
लासबहादुरहरूले कहाँ देख्छन् र
लालबहादुरका निश्छल आँखाहरू ?