सुरेश छन्त्याल
बागलुङको गलकोट नगरपालिका ११ रिघाको ठुलो चौर देखी साउनेखोला सम्मको मोटर बाटो मर्मत अलपत्र परेको छ । मल्म, रिघा, सिसाखानी, जलजला, रण्सिङकिटेनी हँुदै ढोरपाटन जोड्ने मध्य वैकल्पिक लोकमार्ग बाटो नेपाल सरकार र सडक विभागको संयुक्त आयोजनामा सुरुवात गरेको रिघाको ठुलो चौर देखी साउनेखोला सम्मको मोटर बाटो स्तरोन्नति ढोरपाटन निर्माण सेवाले आ.व. ०७१÷९÷७२ मा निर्माणको जिम्मा लिएको थियो ।
रिघाको ठुलो चौर देखी साउनेखोला सम्मको मोटर बाटो स्तरोन्नति गर्ने भनेर सुरूवात गरेको ८ वर्ष भन्दा बढी भईसकेको छ । तर, हालसम्म पनि अलपत्र नै रहेको स्थानीय सोम श्रीसले जानकारी बताए । गलकोट नगरपालिका ११ रिघाका वडा अध्यक्ष डम्मर श्रीसले सडक कार्यालयमा पुगेर पटक पटक पहल गर्दा पनि सुनुवाई नभएको भन्दै पुनः ध्यानार्कषण गराउने बताए ।
त्यस्तै सोही सडक मर्मतको जिम्मा लिएका ढोरपाटन निर्माण सेवाका ठेकेदार सुरेन्द्र बुढाले बजेटको कारणले अलपत्र परेको र कार्यालयमा धेरैपटक हारगुहार गर्दा समेत बजेट व्यवस्थापन नभएको बताए । सडक विभाग बागलुङमा सम्पर्क गर्दा सडक विभागमा विगत दुई वर्ष यता कुनै सम्झौता नै नभएको जनाएका छन् ।
