भुमिका
विज्ञान शिक्षा आधुनिक समाजको मेरुदण्ड हो । नेपालको परिप्रेक्ष्यमा भन्ने हो भने कक्षा १० सम्म विज्ञान शिक्षालाई अनिवार्य विषयको रुपमा लागु गरिएको छ । तर विडम्बना, कक्षा १० सम्म अनिवार्य गरिएको विज्ञान विषय नै विद्यार्थीहरुका लागि सबैभन्दा गाह्रो विषय बनेको छ । प्रत्येक वर्ष नेपालको राष्ट्रिय परिक्षा बोर्डले लिने कुनै पनि परिक्षामा अधिकतम विद्यार्थी विज्ञान विषयमा असफल भइरहेका छन् । विद्यार्थीहरु विज्ञान विषयमा असफल हुने मात्रै होइन, अभिभावक र शिक्षकले पनि विज्ञान विषयलाई एक भूतको रुपमा हेर्ने गरेको पाइन्छ । विज्ञान विषय वास्तवमा किन यस्तो दुर्गतिपूर्ण अवस्थामा आइपुग्यो भन्ने विषयमा म निम्न बुँदाहरुमा संक्षेपमा चर्चा गर्ने प्रयत्न गर्नेछु ।
१. विज्ञान शिक्षालाई घोक्ने विषयको रुपमा लिनु
हामी प्रायः विद्यार्थीहरुलाई विज्ञानका नियमहरु घोक्न वा रट्न लगाउछौँ । यसले विज्ञानलाई एक भावविहीन नीरस विषयका रुपमा देखाउँछ । जसप्रति विद्यार्थीहरुको अभिरुचि कहिल्यै जाग्दैन । एक विद्यार्थी वर्षभरी न्युटनका चालसम्बन्धी नियम घोक्छ तर ती नियमहरुले वास्तविक संसारमा कसरी काम गर्छन्, कहिल्यै बुझ्दैनन् । जसले गर्दा उक्त विषयप्रति विद्यार्थीहरु उदासीन हुँदै जान्छन् । यसो हुनुमा हामी शिक्षकहरुको पनि दोष छ, हामी जहिले पनि विद्यार्थीहरुलाई घोकेर पास हुन लगाउँछौ । म आफैले पनि के अनुभव गरेको छु भने हामी शिक्षकहरुको मानसिकता यही हुन्छ कि बुझेर सर्टिफिकेट आउँदैन घोकेर आउँछ । जबकि यसले विज्ञानलाई रुचिहीन विषय बनाइ अन्ततः घोकेर पनि उत्तीर्ण हुन नसक्ने विषयका रुपमा स्थापित गर्छ ।
यदि बच्चा प्रश्न नै गर्दैन भने ऊ विज्ञानमा कहिले पनि सफल हुन सक्दैन किनभने प्रश्न उठाउनु नै विज्ञानको मुटु हो ।
वास्तवमा विज्ञान हामीले सोचेजस्तो भावविहीन विषय छैन । यो एकदमै रुचिपूर्ण विषय हो । विज्ञान त हाम्रो प्रत्येक दिनको जीवनलाई व्यवस्थित रुपले बुझ्ने कला हो । उदाहरणका लागि म एक जीव विज्ञानको शिक्षकको हैसियतले आनुवांशिक उत्परिवर्तन (Genetic Mutation) अध्यापन गराइरहँदा प्रायः आफ्नो बायाँ कानको उदाहरण दिने गर्दछु । (मेरो बायाँ कान उत्परिवर्तनका कारण सामान्य मानिसको भन्दा फरक छ ।) प्राकृतिक छनौटबाट विकास (Evolution through Natural Selection) अध्यापन गराइरहँदा नेपालमा पाइने भैँसी (Asian Buffalo- Bubalus Bubalis) र अफ्रिकी भैँसी (African Buffalo- Syncerus caffer), जो हेर्दा एकै देखिन्छन् तर फरक प्रजाति हुन् अथवा चाइनीज क्रेस्टेड कुकुर र भोटे कुकुरको उदाहरण दिन सक्छु, जो हेर्दा फरक फरक प्रजाति जस्तै देखिन्छन्, तर एकै प्रजाति (Canis lupus familiaris) हुन् । यसरी प्रत्येक दिन उदाहरण दिएर अध्यापन गराउँदा नीरस लाग्ने विषय पनि रोचक हुन सक्छ । तर, हामी त्यस तरिकाले अध्यापन गर्दैनौँ, हामी घोक्न लगाउछौँ र यसको नतिजा हामीले प्रष्टै देखिरहेका छौँ ।
२. विद्यार्थीको जिज्ञासापूर्ण प्रश्नको गैरजिम्मेवारीपुर्ण उत्तर दिनु
बालबालिका स्वभावले नै जिज्ञासु हुन्छन् । उनीहरु सिक्न खोज्छन् । उनीहरुको बचपनजन्य जिज्ञासाको हामीले सही समाधान दियौँ भने उनीहरुको भविष्यको सिकाइ प्रकृयालाई धेरै ठूलो टेवा पुग्छ । तर, हामीले त्यसो गरिरहेका हुँदैनौँ, बरु हामीले उनीहरुको वास्तविक जिज्ञासापूर्ण प्रश्नको गैर जिम्मेवारीपूर्ण उत्तर दिने गछौँ वा उनीहरुको प्रश्नलाई बेवास्ता गछौँ । यदि हामी बच्चाको कुनै प्रश्न उदाहरणका लागिः राति चन्द्रमामा उज्यालो कहाँबाट आउँछ ? को वास्तविक उत्तर नदिएर “भगवानले बनाएको हो” भन्ने गैरजिम्मेवारीपूर्ण उत्तर दिन्छौँ भने बच्चाले आफ्नो सिकाइको प्रारम्भिक चरणमै गलत ज्ञान ग्रहण गर्छ । जसले भोलिको दिन वास्तविक विज्ञानसँग जम्काभेट हुँदा एउटा विरोधाभास पैदा हुन्छ । यो विरोधाभासले उनीहरुको सिकाइमा गलत प्रभाव पर्छ ।
यदि हामी बच्चाको प्रश्नलाई नसुनेर बेवास्ता गछौँ भने, भोलि बच्चामा प्रश्न सोध्ने बानीको विकास हुन पाउँदैन । यदि बच्चा प्रश्न नै गर्दैन भने ऊ विज्ञानमा कहिले पनि सफल हुन सक्दैन किनभने प्रश्न उठाउनु नै विज्ञानको मुटु हो । मैले बालबालिकाको वास्तविक प्रश्नको वास्तविक उत्तर दिनुपर्छ भनिरहँदा यस कुराको पनि हेक्का राख्नुपर्छ कि सबै अभिभावकहरुलाई बच्चाले सोध्ने वास्तविक प्रश्नको वास्तविक उत्तर थाहा नहुन सक्छ । यस्तो अवस्थामा हामीले इमानदार भएर “मलाई थाहा छैन, आउ दुवै मिलेर खोजौँ” भन्न सक्नुपर्छ । विडम्बनापूर्ण रुपमा हामी अभिभावकहरुले हाम्रो बालबालिकाहरुलाई यस प्रकारको वातारणमा हुर्काइरहेका छैनौँ ।
यदि हामी विज्ञान शिक्षाको मुटु बचाउन चाहन्छौँ भने, पहिलो शल्यक्रिया Laïcité लागू गर्नु नै हो ।
३. अङ्ग्रेजी भाषामा कमजोर पकड
विज्ञान विषय प्राविधिक शब्दहरुले भरिएको विषय हो । यसमा पनि जीव विज्ञानमा एकदमै प्राविधिक शब्दहरुको भण्डार हुन्छ र ती सबै प्राविधिक शब्दहरु अङ्ग्रेजी भाषामा हुन्छन् वा अझ भनौं अङ्ग्रेजी भित्र पनि तिनीहरु आगन्तुक अङ्ग्रेजी हुन्छन् । उदाहरणका लागि जब हामी युक्यारियोट भन्ने शब्द पढ्छौँ यो सामान्य अङ्ग्रेजी नभएर यो ग्रीक भाषाको यु (नयाँ) र क्यारियोन (भित्री भाग) बाट आएको हो । धेरै जसो विद्यार्थीहरु सामान्य अङ्ग्रेजीमै संघर्ष गरिरहेको अवस्थामा यस्ता प्राविधिक शब्द उच्चारण गर्नु एकदमै संघर्ष हुने गर्दछ । अब कुनै विद्यार्थी शब्द उच्चारणमै संघर्ष भने उसलाई त्यो शब्दको अर्थ थाहा नहुने भयो । यस्तो अवस्थामा हामी उक्त विद्यार्थीबाट सफलताको आशा राख्न सक्दैनौँ ।
४. विद्यालय वा विश्वविद्यालय क्षेत्रमा लाइसिते (Laïcité) लागु नगरिनु
नेपालका अधिकांश विद्यालयहरूमा Laïcité अर्थात धर्म निरपेक्षता वा धार्मिक हस्तक्षेपबाट पूर्ण स्वतन्त्र शैक्षिक वातावरणको कठोर कार्यान्वयन नहुनु विज्ञान शिक्षाको गहिरो अवमूल्यनको मूल कारण मध्ये एक हो । विद्यालय शिक्षामा धार्मिक र सांस्कृतिक आग्रहहरूले वैज्ञानिक सोच र तर्कशक्तिलाई दबाउने कार्य गरिरहेका छन् । सन्देहको अधिकार, प्रमाणको मूल्य र आलोचनात्मक चिन्तनका आधारमा विज्ञान शिक्षालाई उभ्याउनुको सट्टा अन्धविश्वास, देवीदेवताका कथा र पौराणिक विश्वासहरूलाई अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा प्राथमिकता दिइएको छ ।
धेरै विद्यालयहरूमा “गणेश पूजा” गरेर विज्ञान प्रयोगशालाको उद्घाटन गर्ने चलन छ । जहाँ मस्तिष्क र तर्कको प्रयोग गर्नेभन्दा पहिले आस्थाको बललाई मुख्य मानिन्छ । यस्तो अभ्यासले विज्ञान पढाउने विद्यार्थीलाई यस्तो सङ्केत दिन्छ, कि “सबै कुरा प्रमाणमा होइन, परम्परागत विश्वासमा भरोसा गर ।” यसरी विद्यालयहरू आफैले वैज्ञानिक चिन्तनको जगमा घात गरिरहेका छन् । Laïcité लागू नहुँदा शिक्षण संस्थाहरू तटस्थ नबसी धर्म विशेषको पक्षधर बन्दै जान्छन् । फलस्वरूप, विज्ञान शिक्षकहरू आफूले चाहेजस्तो खुला, निडर र आलोचनात्मक शैलीमा विज्ञान पढाउन सक्दैनन् । विद्यार्थीहरूले पनि अनेकौँ विज्ञान विरोधी भनाइहरू सुन्दै हुर्कन्छन् । “विकासवाद भ्रम हो”, “ब्रह्माण्ड ईश्वरले बनाएको हो”, “क्लोनिङ पाप हो” जस्ता भनाइहरू विद्यालयमा चुनौती नगरिएकै कारण सत्यझैँ लाग्न थाल्छन् ।
नेपाल सरकारले प्रारम्भिक तहमा विषयगत शिक्षकहरू नल्याउने निर्णय फेरबदल नगर्ने हो भने विज्ञान शिक्षा केवल “रटान” को शिक्षा बन्नेछ ।
हामीले विज्ञान शिक्षालाई गहिरो र अर्थपूर्ण बनाउन चाहन्छौँ भने, विद्यालयहरूलाई धार्मिक प्रभावबाट पूर्ण रूपमा स्वतन्त्र बनाउनु अत्यावश्यक छ । Laïcité बिना विज्ञानको शिक्षा निःशुल्कनै भए पनि, त्यो केवल अन्धकारमा एउटा बल्ब बोकेको हातजस्तो हुन्छ, देखिने तर प्रकाश नफैलाउने । यस्तो शिक्षा प्रमाणको होइन, केवल भ्रमको संस्थागत उत्पादन हो । त्यसैले, यदि हामी विज्ञान शिक्षाको मुटु बचाउन चाहन्छौँ भने, पहिलो शल्यक्रिया Laïcité लागू गर्नु नै हो ।
५. प्रारम्भिक तहमा विषयगत शिक्षक नराख्नु
नेपाल सरकारको नीति अनुसार कक्षा एकदेखि पाँचसम्मका सबै विषयहरू एकै जना कक्षा शिक्षक मार्फत शिक्षण गर्ने प्रचलन छ । सतही रूपमा हेर्दा उचित जस्तो देखिएतापनि विज्ञान जस्तो विषयमा यसको असर गम्भीर, दीर्घकालीन र विनाशकारी छ । विज्ञान एउटा विशिष्ट ज्ञान र विधिको विषय हो । यसमा प्रयोग, अवलोकन, निष्कर्ष र प्रमाणको आधारमा पढाउने शैली अनिवार्य हुन्छ । तर, प्रारम्भिक तहमा विषयगत विशेषज्ञ नभएका शिक्षकहरूले विज्ञानलाई सामान्य पाठ्यपुस्तकको रूपमा पढाउँदा न त प्रयोगात्मक पाटो उजागर हुन्छ, न त सैद्धान्तिक तर्कको आधार नै स्थापित हुन्छ ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाको मस्तिष्क, विचार निर्माणको पहिलो चरणमा हुन्छ । यही समयमा बालबालिकालाई वैज्ञानिक सोच, जिज्ञासा र अवलोकनको बानी बसाल्न सकिन्छ । तर, विज्ञान पढाउने शिक्षक स्वयम्ले विज्ञानलाई केवल पाठ्यपुस्तकको एक अध्यायको रूपमा बुझ्ने हो भने विद्यार्थीहरूले वैज्ञानिक चिन्तन होइन, केवल “उत्तर याद गर्ने” बानी मात्र सिक्छन् । उदाहरणका लागि एउटा सामान्य शिक्षकले पानी बाफ बन्छ र फेरि पानीमा परिणत हुन्छ भन्न सक्छ, तर विज्ञान शिक्षकले त्यो प्रक्रियालाई उष्मा विनिमय, वाष्पीकरण, संघनन आदिको भाषामा प्रयोगात्मक ढंगले सिकाउँछ । पहिलोले तथ्य सिकाउँछ, दोस्रोले सोच बनाउँछ ।
आज विज्ञान पढेका विद्यार्थीहरूलाई “पृथ्वी सूर्य वरिपरि घुम्छ” भनेर उत्तर भनेको याद छ, तर “किन घुम्छ?” भन्ने प्रश्नमा मौनता देखिन्छ । यो मौनता कुनै धार्मिक दबाबले होइन, शैक्षिक नीतिको अकर्मण्यताले सिर्जिएको मौनता हो । नेपाल सरकारले प्रारम्भिक तहमा विषयगत शिक्षकहरू नल्याउने निर्णय फेरबदल नगर्ने हो भने विज्ञान शिक्षा केवल “रटान” को शिक्षा बन्नेछ । त्यो पनि वैज्ञानिक चेतना शून्य, प्रयोगविहीन र भावी पुस्ताको मस्तिष्कलाई अवैज्ञानिक अन्धकारतर्फ धकेल्ने ढंगले ।
निष्कर्ष
माथि उल्लेख गरिएका पाँच कारणहरु नै नेपालमा विज्ञान शिक्षा असफल हुनुका प्रमुख कारकहरु हुन् । यीनै कारकहरुको अन्त्यले मात्रै विज्ञान शिक्षामा सुधार ल्याउन सकिन्छ । निष्कर्षमा विज्ञान शिक्षामा सुधार ल्याउन निम्न उपायहरुको चर्चा गरेको छु ।
१.घोकन्ते पद्धति अन्त्य गरी प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्दछ । विज्ञान सिकाउने तरिका स्मरणमुखी नभई अन्वेषणमुखी बनाउन आवश्यक छ । जसमा प्रयोग, परियोजना र अवलोकन केन्द्रमा हुन्छन् ।
२.पाठ्यपुस्तक भन्दा बाहिरको जिज्ञासालाई सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । विद्यार्थीको स्वभाविक प्रश्नलाई “अझै नपढेको”, “यो पाठ्यक्रमबाहिर हो” भनेर दबाउनुको साटो शिक्षकले सही तरिकाले सम्बोधन गर्न जान्नुपर्छ ।
३.प्रारम्भिक कक्षामा समेत विषयगत (विशेषज्ञ) विज्ञान शिक्षकको व्यवस्था गर्नुपर्दछ । कक्षा १ देखि ५ सम्म पनि विज्ञानको आधार बुझ्ने, बालमैत्री शैलीमा पढाउन सक्ने प्रशिक्षित शिक्षक राख्न आवश्यक छ ।
४.शिक्षक तालिममा ‘लाइसिते’ (Laïcité) को अवधारणालाई अनिवार्य समावेश गरिनुपर्दछ । शिक्षणका क्रममा धर्म, परम्परा वा व्यक्तिगत आस्थाको हस्तक्षेप रोक्न स्पष्ट नीति र तालिम आवश्यक छ ।
५.विज्ञान शिक्षालाई बालमैत्री बनाउने स्थानीय भाषिक आधारसहित अङ्ग्रेजी प्रयोग गर्नुपर्दछ । विद्यार्थीले सहजै बुझ्न सक्ने मिश्रित भाषा (मातृभाषा, नेपाली, अङ्ग्रेजी ) को प्रयोग गर्न सक्ने शिक्षण सामाग्री विकास गर्नुपर्छ । साथै विज्ञान शिक्षकको भाषिक सिप अभिवृद्धि गर्न नियमित तालिमहरू सञ्चालन गरिनुपर्दछ । जसले शिक्षणमा हुने भाषिक बाधालाई हल गर्न सहज होस् ।
६.विद्यालयमा प्रयोगशाला र गतिविधि किट अनिवार्य बनाउनु पर्दछ । शिक्षणका लागि आवश्यक आधारभूत उपकरण र सामाग्री समेटिएको विज्ञान गतिविधि किट हरेक विद्यालयमा उपलब्ध गराइनु जरुरी छ।
७.पाठ्यपुस्तक तथा पाठ्यक्रमहरू पुनर्लेखन गरी वैज्ञानिक जिज्ञासा र सोच बढाउने खालका बनाउनुपर्छ । पाठ्यपुस्तक, सन्दर्भ सामाग्री तथा अन्य स्रोतसाधनहरुको समय सापेक्षित परिमार्जन आवश्यक छ ।
८.शिक्षकलाई वैज्ञानिक दृष्टिकोण र तर्कशक्तिमा आधारित उत्तर दिन सक्ने क्षमताको विकासका लागि समयसमयमा तालिम तथा प्रशिक्षण प्रदान गर्नुपर्दछ । खासगरी धार्मिक र पौराणिक प्रश्नसँग जुध्न सक्ने वैज्ञानिक सोच विकास गर्न सक्ने तालिम आवश्यक छ।
९.पाठ्यक्रममा स्थानीय वैज्ञानिक सन्दर्भहरूलाई समावेश गर्नुपर्दछ । नेपालको भूगोल, मौसम, वनस्पति तथा दैनिक जीवनका मौलिक विज्ञानसँग सम्बन्धित उदाहरणहरु समेटिनुपर्दछ।
१०.विज्ञान र प्रविधिमा भएका नयाँ खोजहरूलाई कक्षामा समेट्ने लचिलो पाठ्यक्रम प्रणाली विकास गर्नुपर्दछ । वैज्ञानिक नवीनता जस्तैः ब्क्ष्, जलवायु परिवर्तन, जैविक विविधता जस्ता विषयलाई कक्षा अनुसार अनुकूलित गरेर समेटिनु पर्छ ।
११.विज्ञान शिक्षकहरूलाई अन्तरविद्यालय प्रतियोगिता, कार्यशाला, अनुसन्धान कार्यमा सहभागी गराउनुपर्दछ । यसले शिक्षकहरूको आत्मविश्वास र व्यावसायिक ज्ञानमा वृद्धि गर्दछ।
१२.विद्यार्थीका लागि विज्ञान मेलाहरू, मिनी अनुसन्धान प्रोजेक्ट र क्लबहरू अनिवार्य सञ्चालन गर्नुपर्दछ । जसले कक्षा बाहिरको सिकाइलाई प्रवद्र्धन गर्छ र वैज्ञानिक सोचलाई व्यवहारिक बनाउँछ.।
१३.विज्ञान शिक्षामा क्ष्ऋत् प्रयोगलाई प्रोत्साहन गर्नुपर्दछ । भर्चुअल प्रयोगशाला, एनिमेसन र भिडियोमा आधारित सिकाइलाई विस्तार गर्न आवश्यक छ ।
यदि यी उपायहरू योजनाबद्ध रूपमा लागु गरिए भने नेपालको विज्ञान शिक्षा केवल सर्टिफिकेट उत्पादन गर्ने प्रणाली नबनी, सोच्ने, प्रयोग गर्ने र बदल्ने नागरिक उत्पादन गर्ने प्रणाली बन्नेछ । अन्त्यमा, नेपालको विज्ञान शिक्षा प्रणाली अर्धचेत अवस्थामा छ, तर मरिहालेकै अवस्थामा पनि छैन । हामी सचेत विज्ञान सञ्चारकर्मीले आफ्नो नैतिक जिम्मेवारीलाई सम्झिएर हामीले घोकाउन वा पास गराउन नभएर सोच बदल्न विज्ञान अध्यापन गराउने हो भने नेपालको विज्ञान शिक्षा प्रणालीलाई पुर्नजीवन दिन सक्छौँ । जसका लागि राज्यले विज्ञान शिक्षा मात्र नभई समग्र शिक्षा प्रणालीको वैज्ञानिक खाका निर्माण गरी कार्यान्वयन गराउन जरुरी छ ।
