नेपालको संविधान २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ । यो घोषणाले सबै नागरिकलाई धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति दिँदै सबै धर्मप्रति समान व्यवहार गरिने सुनिश्चित गरेको छ । सैद्धान्तिक रूपमा, धर्मनिरपेक्षता भनेको राज्य धर्मबाट तटस्थ रहनु र कुनै पनि धार्मिक आस्थालाई पक्षपोषण वा विभेद नगर्नु हो । राज्यको आधारस्तम्भ र भविष्यका कर्णधार तयार पार्ने केन्द्रको रूपमा खडा भएका विद्यालय जस्ता संस्थाहरु धर्मनिरपेक्षताको यस मर्मलाई व्यवहारमा उतार्ने सबैभन्दा संवेदनशील स्थल हुन् । विद्यालयहरूले धर्मको महिमा र पूजा–आराधनालाई प्रोत्साहन नगरिकन, सबै धार्मिक-सांस्कृतिक विविधतालाई समान सम्मान र सहिष्णुता सिकाउनुपर्ने हुन्छ ।
तर कहिलेकाहीँ लाग्छ यो केवल कालो मसीले सेतो कागजमा लेखिएको एउटा वाक्य मात्र हो, जसको व्यवहारिक जीवनमा कुनै औचित्य छैन । नेपालमा धर्मनिरपेक्षता भनेको वास्तवमा कस्तो हो ? के यो फ्रान्सको Laïcité जस्तो छ ? जहाँ सार्वजनिक संस्थामा निजी विश्वासलाई बाहिरै छोडेर छिर्नुपर्छ । नेपालले धर्मनिरपेक्षताको व्याख्या अझै पनि ‘सनातनदेखि चलिआएको धर्मको रक्षा’ भन्ने धार्मिक मठाधीशी शब्दजालमा घिसारेर राखेको छ । यी यथार्थहरूले जब टाउकोमा घण्टी बजाउँछन्, त्यतिबेला विद्यालयमा गीता, बाइबल, कुरानजस्ता ग्रन्थहरू वितरण गर्ने अभ्यास देख्दा झन् ठूलो तरङ्ग उठ्छ, —के यो धर्मनिरपेक्ष राज्यको चरित्र हो ?, वा पुजारी र पादरीहरूको ट्यूशन सेन्टर ?
नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षता घोषणा गर्यो, तर त्यसको व्याख्या गर्यो: “धर्म, संस्कृति र परम्पराहरूको संरक्षणसहितको धर्मनिरपेक्षता” । यो पढ्दा लाग्छ, धर्मनिरपेक्षता पनि कुनै मन्दिरको प्रसाद जस्तै —सबैलाई बाँड्नुपर्ने । तर फ्रान्सको Laïcité भन्नाले Public Sphere अर्थात सार्वजनिक जीवनमा धर्मको पहिचानलाई पूर्ण रूपमा बाहिर राख्नु हो । शिक्षक कस्तो धर्म मान्छ, त्यसको कुनै मतलब छैन, उसले विद्यालयमा बाइबल पढाएर बिहानको प्रार्थना गर्न दिँदैन । उसको व्यक्तिगत विश्वास घरको आलमारीमा बन्द हुन्छ ।
नेपालमा भने Laïcité लाई ‘धर्मको समावेशी मेनु’ बनाइदिने अभ्यास छ । विद्यालयमा गीता बाँडियो भने अर्को हप्ता बाइबल ल्याइयो, अनि फेरि कुरान, अनि कतै बौद्ध स्तोत्र पनि छापियो । यो दृश्य त्यस्तै हो, जस्तो सात दिनमा आइतबारदेखि शुक्रबारसम्म विद्यार्थीलाई धार्मिक ग्रन्थ ‘चखाउने मेनु’ खुवाउने र शनिबार ‘आराम गर्नुहोस्’ भनेर धर्मको हाजिरी किताब बन्द गर्ने ।
विद्यालय भनेको विज्ञान सिकाउने ठाउँ हो —जसले बच्चालाई भन्नुपर्छ, “आकाशमा बिजुली गडगडाउँदा राक्षस रुष्ट भएको होइन, यो त इलेक्ट्रिकल डिस्चार्ज हो ।” तर जब विद्यालयमा शिक्षकले गीता बाँड्छन् र भन्छन्, “यो पढ्दा तिमीलाई पाप लाग्दैन” त्यो क्षण विद्यालय ज्ञानको मन्दिर होइन, आस्थाको पसल बन्छ । यही त विडम्बना हो —हामी विज्ञानको प्रयोगशाला र भगवानको प्रयोगशाला एउटै कोठामा मिसाउँदैछौं ।
हप्ताको कार्यतालिका हेरौँ —आइतबारदेखि शुक्रबारसम्म पढाइ हुन्छ । कुनै दिन गणित, अर्को दिन विज्ञान, अनि कहिले अंग्रेजी । तर बीचमा अचानक ‘पवित्र ग्रन्थ वितरण दिवस’ भनेर एउटा अतिरिक्त च्याप्टर घुसाइयो भने, के होला ? “बच्चाहरू, आज हामी न्यूटनको गुरुत्वाकर्षण होइन, गीता अध्ययन गर्नेछौँ ।” अर्को हप्ता बाइबलको ‘जनेसिस’ पढाइयो, अनि फेरि अर्को हप्ता कुरानको ‘सूरा अल–फातिहा’ । यी सबै पढेपछि बच्चाले सोध्छ, “सर, यहाँ विज्ञान कहाँ छ ?” शिक्षक भन्छ, “विज्ञान त शनिबार बिदामा पठायौं, अहिले धर्मको पालो हो ।”
कहिलेकाहीँ लाग्छ, विद्यालयलाई सरकारले पब्लिक स्कुल होइन पब्लिक मठ बनाउन खोजेको हो कि ? धर्मको प्रचार गर्न चाहनेहरूका लागि विद्यालय ‘मुफ्तको प्लेटफर्म’ बनेको छ । उनीहरूले भन्छन्, “हामीले कुनै धर्मलाई बाध्यतामूलक बनाएका छैनौं, केवल वितरण गरेका हौँ ।” तर सोच्नुस् —यदि तपाईंको छोरालाई हप्तामा पाँचवटा अलग धर्मका किताब दिएर भनियो, “तिमीले रोज्न सक्छौ,” त्यो स्वतन्त्रता हो कि दबाब हो ?
विद्यालयमा बालबालिकालाई कृष्ण जन्माष्टमीमा कृष्ण, राम नवमीमा राम, क्रिसमसमा क्राइष्ट, सरस्वती आदिको नक्कल गराइन्छ । धेरै जसो विद्यालयमा बाध्यकारी समेत बनाइन्छ । जुन धर्मनिरपेक्षताको खुल्ला उल्लङ्घन हो । विद्यालय ज्ञान र वैज्ञानिक सोच रोप्ने ठाउँ हो, आस्था सिकाउने रंगमञ्च होइन । शिक्षक भन्नासाथ ‘गुरु’ भन्ने भाव आउँछ । सार्वजनिक विद्यालयमा शिक्षक भनेको ‘राज्यको प्रतिनिधि’ हो । उसको धर्म व्यक्तिगत हो, तर उसको पाठ सार्वजनिक । Laïcité यही भन्छ —शिक्षकको धर्म निजी हो, सार्वजनिक विद्यालयमा उसको दायित्व तटस्थता हो । तर नेपालमा के भइरहेको छ ? शिक्षक स्वयंलाई भगवानको दूत ठान्छन् र धर्मशास्त्र बाँड्न लाग्छन् । अनि विद्यार्थीलाई भनिन्छ, “विज्ञान पनि पढ, भगवान पनि मान ।” यो त त्यस्तै हो जस्तो डाक्टरले तपाईंलाई ‘एन्टिबायोटिक पनि खा, झारफुक पनि गर’ भन्छ ।
कल्पना गरौँ, आगामी राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको बैठकबाट नयाँ निर्णय आयोः “अब विज्ञानको ५० प्रतिशत अध्याय धर्मशास्त्रसँग मिलाइनेछ ।” त्यसपछि *Periodic Table* को छेउमा “पञ्चतत्व” पढाइनेछ । *Big Bang Theory* को छेउमा “ब्रह्माण्ड भगवानको नाभीबाट फूटेको” पढाइनेछ । अनि Evolution पढ्दा भन्छन्, “डार्विनलाई अलि विश्वास नगर्नुस्, हाम्रो कुलदेवताले नै बाँदरलाई मानिस बनाइदिएको हो ।” यस्तै परिस्थिति निरन्तर जारी रहने हो भने यसखाले अवस्था पनि अवश्य आउन सक्छ ।
शैक्षिक मनोविज्ञान भन्छ —बालमस्तिष्क अत्यन्तै ग्रहणशील हुन्छ । पाँचदेखि पन्ध्र वर्षको उमेरमा जसरी ज्ञान रोपियो, त्यसरी नै आस्था पनि रोपिन्छ । यदि त्यसमा वैज्ञानिक सोच रोप्यौं भने, वैज्ञानिक नागरिक निस्कन्छ; यदि अन्धविश्वास रोप्यौं भने, अन्धभक्त निस्कन्छ । विद्यालयमा गीता बाँड्नु भनेको विद्यार्थीको मस्तिष्कमा ‘धर्मको बीउ’ रोप्नु हो —तर त्यो बीउ कहिल्यै आलोचनात्मक सोचको मलजलले हुर्कदैँन ।
निष्कर्ष
अन्त्यमा यस समस्याको समाधानका लागि विद्यालयमा गीता, बाइबल, कुरान लगायतका धर्मग्रन्थ वितरण गर्ने कार्य रोक्नुपर्छ, साथै विज्ञान र तार्किकता वितरण गर्ने परम्पराको सुरुआत गर्नुपर्छ । नेपालमा शनिबार बिदा हुन्छ । बाँकी ६ दिन विद्यालय चलेको हुन्छ । यदि ती ६ दिनमा विद्यालय धर्मशास्त्र बाँड्ने केन्द्र बन्यो भने शनिबार विद्यार्थीले बिदा होइन, मुक्ति खोज्छ । विद्यालयले विज्ञान सिकायो भने शनिबार बालकले स्वतन्त्रता अनुभव गर्छ । तर विद्यालयले गीता, बाइबल, कुरान बाँड्दै गयो भने शनिबार ऊ सोच्नेछः “यो हप्ता कुन भगवान पास भयो, कुन फेल भयो ?” त्यसैले विद्यालयमा धार्मिक पुस्तक वितरण गर्नु संविधानको मर्म र वैज्ञानिक शिक्षा दुवैको अपमान हो । धर्मलाई घरमा र विज्ञानलाई विद्यालयमा राख्नुपर्छ । यदि कुनै पुस्तक बाँड्नै छ भने, कार्ल सागनको *The Demon–Haunted World* बाँड । यदि कुनै मन्त्र पढाउनै छ भने, “सन्देह सर्वोच्च गुण हो” भन्ने मन्त्र पढाउ । धर्मनिरपेक्षता भनेको केवल सबै धर्मलाई बराबर सम्मान होइन, धर्मको प्रचारलाई राज्यबाट अलग राख्ने दृढता हो ।




