June 6, 2026, Saturday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रिय सम्मेलन गर्ने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको निर्णय

२०८० माघ २

3.3K

पर्साः वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय समितिको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । पौष २७, २८ र २९ गते पर्सा जिल्लाको पर्सागढी नगरपालिका ५ स्थित जिगनामा महासचिव आहुतिको संयोजकत्वमा सम्पन्न भएको हो ।

  

केन्द्रीय सदस्यहरुका साथै पूर्णकालीन कार्यकर्ताहरुसहित भएको बैठकमा महासचिव आहुतिद्वारा समसामयिक राजनीतिक प्रस्ताव, आर्थिक निर्देशिका, कार्यविभाजन र विविध शिर्षकका प्रस्तावहरु पेश भएका थिए । प्रस्तावमाथिको छलफल पछिका निर्णयहरुमा २०८१ सालको जेठ २६, २७, २८ र २९ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीको राष्ट्रिय भेलाले पारित गरेको विधान बमोजिम आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको पार्टीका मिथिला भोजपुरा संयोजक मदन अर्यालले बताएका छन् ।

त्यस्तै पर्सा बैठकले देशलाई कुल पाँच ब्युरोमा विभाजन गर्ने र अन्तर्राष्ट्रिय ब्युरोहरुमा भारत ब्युरो र प्रवास ब्युरो बनाउने निर्णय गरेको छ । जसअनुसार किरात लिम्बुवान, मिथिला भोजपुरा, नेवा ताम्सालिङ, तमुवान मगरात र खसान थारुवान ब्युरो गठन गरिएको छ र जिम्मेवारी पनि तोकिएको छ । जसमा किरात लिम्बुवान ब्युरोमा गोकुल चाम्लिङ, मिथिला भोजपुरामा मदन अर्याल, नेवा ताम्सालिङमा बुद्धलक्ष्मी महर्जन, तमुवान मगरातमा राजकुमार हिङमाङ र खसान थारुवानमा पुष्प भण्डारीलाई संयोजक चयन गरिएको छ । भारत ब्युरोमा मोहन लकान्द्री र प्रवास ब्युरोमा राजेश नेपालीलाई जिम्मेवारी दिएको छ।

त्यस्तै बैठकले विभिन्न विभागहरुको पनि जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सुवास पाण्डे संयोजक रहेको अर्थ विभागमा धनकुमारी सुनार र राजेश्वरी सुवेदीलाई थप गरिएको छ । पार्टी महासचिव आहुति संयोजक रहेको स्कुल तथा प्रकाशन विभागमा मदन अर्याललाई थप गरिएको छ । त्यस्तै मदन अर्याल संयोजक रहेको उत्पादन तथा विज्ञान प्रविधि विभागमा गोकुल चाम्लिङ र अविनाश पौडेललाई थप गरिएको छ ।

विस्तारित बैठकको निर्णय बमोजिम प्रथम राष्ट्रिय सम्मेलनका लागि मूल व्यवस्थापन समितिको गठन गरिएको छ। जसअनुसार, जागृत रायमाझीको संयोजकत्वमा सुरेन्द्र लुइटेल, विक्रम सचेत, विजय विश्वकर्मा, करण वि.सी., सुवाष पाण्डे, अनिल बन्जारा, यसोदा बराल, रुविना झा, राजेश्वरी सुवेदी, हिंमाशु, रकमराज तामाङ, लिजा तामाङ, छेसाङ लामा, फूलमती, सन्दिप थापा र प्रकाश विसी सदस्य रहने छन् ।