February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

‘वैज्ञानिक समाजवाद किन र कसरी ?’ विषयक गोष्ठी कार्यक्रम वीरगञ्जमा सम्पन्न

२०८१ कार्तिक १०

978

वीरगञ्जः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल मिथिला–भोजपुरा ब्युरोको आयोजनामा ‘वैज्ञानिक समाजवाद किन र कसरी ?’ शीर्षकको गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शनिबार पर्साको वीरगंजमा पार्टीका मिथिला–भोजपुरा ब्युरो संयोजक मदन प्रभातको संयोजकत्वमा उक्त गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठीमा ‘वैज्ञानिक समाजवाद किन र कसरी ?’ शीर्षकको कार्यपत्र प्रस्तुत भएको थियो । कार्यक्रमका मुख्य वक्ताका रुपमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुति रहेका थिए । त्यसैगरी कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथिको टिप्पणीकारका रुपमा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति तथा महासमिति सदस्य प्रकाश उपाध्याय, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक तथा समाजशास्त्री वीरेन्द्र शाह र नेकपा माओवादी केन्द्रका नेता राजु बैठा रहेका थिए ।

टिप्पणीकारहरुले वर्तमान अवस्थामा मुलुक गम्भीर संकटमा रहेको र नयाँ विकल्पको खोजी आवश्यक रहेको बताएका थिए । पार्टीले सुरु गरेको मञ्च नबनाउने तथा अतिथि आसन ग्रहण नगराउने लगायत कार्यक्रम संचालनको नयाँ विधिलाई टिप्पणीकार प्रकाश उपाध्यायले प्रशंसा गरेका थिए । साथै, वर्तमानमा सबै दल आफ्ना उद्देश्य अनुरुप नचलेको र नेपाली काग्रेस पनि समाजवादी आन्दोलनमा नै रहेको उनको जिकिर थियो । अर्का टिप्पणीकार प्राध्यापक वीरेन्द्र शाहले राजनीतिक पार्टीहरुको नयाँ संगठनात्मक सिद्धान्त विकास गर्नुपर्ने, नीजि सम्पत्ति उन्मूलनको विषय असान्दर्भिक रहेको र सामुदायिकीकरणको सान्दर्भिकताबारे प्रश्न उठाएका थिए । त्यस्तै अन्तिम टिप्पणीकारका रुपमा रहेका राजु बैठाले कार्यपत्रसँगै ठोस कार्ययोजनाको पनि आवश्यक रहेको बताएका थिए ।

अन्त्यमा मुख्य वक्ता आहुतिले टिप्पणी र उठेका प्रश्नहरुमाथि बोल्दै कार्यपत्रलाई थप प्रष्ट पारेका थिए । उनले विज्ञान प्रविधि नै मुख्य उत्पादक शक्ति भएको युगमा प्रचुर उत्पादन सम्भव भएकाले प्रारम्भदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण सम्भव भएको र अबको कम्युनिस्ट आन्दोलनले उत्पादनका सबै आयामहरुमा हस्तक्षेप गर्न आवश्यक रहेको बताएका थिए । विगतको कम्युनिस्ट आन्दोलनले झण्डा र किताबमात्र बोक्न सिकाएकाले अबको कम्युनिस्टहरुले उत्पादनको विषयलाई पनि आफ्नो जीवनको अभिन्न अंग बनाउनुपर्ने उनको भनाइ थियो । वर्तमान संसदीय व्यवस्थाका संसदवादी पार्टीहरुलाई दलाल पुँजीवादले सम्पूर्ण रुपले नियन्त्रण गरिसकेको अवस्थामा नयाँ कम्युनिस्ट आन्दोलन निर्माण नै एक मात्र विकल्प रहेको उनको ठहर थियो । आज मुलुकमा केही पनि उत्पादन नभइरहेको र नेपालीहरु विदेशी उत्पादनको उपभोक्ता मात्र बनिरहेको अवस्थाबाट देशलाई मुक्त गर्दै उत्पादनमा आधारित भई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा पार्टी अघि बढिरहेको उनले बताएका थिए ।

त्यसपश्चात समापन भएको कार्यक्रमको संचालन पार्टीका पर्सा जिल्ला सचिव धनबहादुर श्रेष्ठले गरेका थिए भने पार्टीका पर्सा जिल्ला समिति सदस्य रिंकु रायले स्वागत मन्तव्य राखेका थिए । पार्टीको केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकका निर्णय बमोजिम मिथिला भोजपुरा ब्युरोमा आयोजना भएको गोष्ठी कार्यक्रम देशभरका पाँचैवटा ब्युरोहरुमा आयोजना गर्ने पार्टीले जनाएको छ ।