काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालले समाजवादी देशभक्त मोर्चाको औचित्य नै समाप्त भएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त पार्टीले समाजवादी देशभक्त मोर्चाको औचित्य समाप्त भएको जनाएको हो ।
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आएको वैचारिक विचलन, गम्भीर रणनीतिक र कार्यनीतिक अन्यौलता लगायतका कारण मोर्चाको औचित्य नै समाप्त भएको उक्त पार्टीले ठहर गरेको छ । ‘पछिल्लो समय क.विप्लव नेतृत्वको नेकपामा आएका तपसिलका गम्भीर वैचारिक विचलन , गम्भीर रणनीतिक र कार्यनीतिक अन्यौलता र दलाल पुँजीवादी संसदवादको पुच्छर बन्ने प्रस्ताव पछि हाम्रो पार्टी समाजवादी देशभक्त मोर्चाको औचित्य समाप्त भएको ठहर गर्दछ’ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो समय विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायतका संसदवादी पार्टीहरुसंग समाजवादी मोर्चा बनाउन खोजिएकाले समाजवादी देशभतm मोर्चाको औचित्य नरहेको र नेकपाले भनेको समाजवादी मोर्चाको नाममा संसदवादी पार्टीहरूसँग संयुक्त मोर्चा निर्माण गर्नु भनेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई नै भरथेग गरेर प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाउनु भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘नेकपाले भनेको कथित समाजवादी मोर्चाको नाममा संसदवादी पार्टीहरूसँग संयुक्त मोर्चा निर्माण गर्नु भनेको अन्ततः दलाल पुँजीवादी संसदीय व्यवस्थालाई नै भरथेग गर्नु हो र प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाउनु हो’ । विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै उक्त पार्टीले नेपाल कम्युनिस्ट पार्टीलाई त्यस दिशामा जाने निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको छ भने नयाँ सन्दर्भमा क्रान्तिकारीहरुको बिचमा रणनीतिक संयुक्त मोर्चा, संयुक्त मोर्चा वा कार्यगत एकताको निर्माणको निम्ति सदैव तत्पर रहेको समेत जनाएको छ ।
