August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

आज रातिदेखि बिहीबारसम्म देशैभर हिउँदे वर्षा हुने

२०७९ माघ ९

422

काठमाडौंः मौसम विज्ञान विभागले आज (सोमबार) रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्।

यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ। विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो। सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो। तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ।

नेपालमा मङ्सिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिएको र यसवर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकाले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए । उनका अनुसार हिउँदमा पानी कम पर्दा सुख्खा बढेको तथा यसको असर हिउँदे बालीमा प्रत्यक्ष देखिनुका साथै वहुआयामिक असर पर्नेछ।

हिउँदमा पानी कम पर्दा पानीका मुहान सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउनसक्ने जलवायु क्षेत्रका जानकारले बताएका छन्।