काठमाडौं: काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउनका लागि प्रहरी परिचालन गरेको हो ।
डोजरसहित प्रहरी परिचालन गरि हटाउन खोजिएपछि सुकुम्बासी र प्रहरीबीच झडप समेत भएको छ ।सुकुम्बासीहरुले नारा जुलुस लगाएर र टायर बालेर समिति र महानगरको कदम विरुद्ध विरोध गरिरहेको छ ।
समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिएका छन् ।
काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो । सो सुचना जारी भएपछी सुकुम्बासीहरु आन्दोलनमा समेत उत्रिएका थिए तर सुकुम्बासीहरुको माग,मुद्दा र आन्दोलनलाई बेवास्ता गर्दै समितिले व्यवस्थापन बिनानै जबर्जस्ती बल प्रयोग गरेर हटाउन खोजिएको हो ।




